नेकपाको जहाज क्रयास होला कि सुरक्षित अवतरण

Home Feature राजनीति समाचार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जहाज क्रयास होला कि सुरक्षित अवतरण भन्ने प्रश्नको जवाफ खोज्न निकै मुस्किल छ । किनकि यो जहाजमा दुई वटा फरक प्रकृतिका पाइलट रहेका छन् । त्यतिमात्र होइन यो जहाज दुई वटा फरक धारका कम्पनीद्धारा निर्मित छ । सोही कारणले गर्दा पनि पटक पटक सुरक्षित अवतरणको प्रयास भइरहने तर त्यो भन्दा बढी क्रयास हुन्छ कि भन्ने त्रास उत्तिकै छ ।

गत असारमा त धन्यै धन्यै क्रयास नै भएको थियो जहाज । कसरी बच्यो भन्ने कुराको अड्कल दुवै पाइलटलाई छैन । भगवान भरोसे । त्यो भन्दा पनि राम भरोसे । प्रधानमन्त्री एवं केपी शर्मा ओली सत्ताको बागडोरमात्र हैन पार्टीको साँचो पनि सम्हालिरहेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कार्यकारी अध्यक्षको हैसियतमा पुग्न सकेका छैनन् ।

ओलीको सत्ता र पार्टीमा हालीमुहाली भएपछि इतर पक्षलाई खपिनसक्नु भएको छ । फेरि न सत्ता र न पार्टी –दुवैको यात्रालाई डुबाउने खेलमा ओली लागेको पाइन्छ । त्यही क्रयासबाट जोगाउन इतर पक्षले पाइलट फेर्ने योजना बनाएको हो । तर लगानी र म्यानपावरको हिसाबले ओलीको कम्पनी मजबुद भएकाले गर्दा प्रचण्डसहितको इतर पक्षले केही गर्न सकेको छैन ।

फेरि पनि क्रयास नजिक पुगेको पार्टीलाई जोगाउन कार्यदल गठन गरियो । त्यो कार्यदलले भने अप्रत्याशित शैलीमा प्रतिवेदन बुझाएको छ । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल नौ दिनअघि गठन गरिएको थियो ।

कार्यदलले पार्टीभित्रको वर्तमान अवस्था समीक्षा गर्दै पार्टी एकमत बनाएर लैजान चालिनुपर्ने कदमका बारेमा सुझाव दिएको छ । ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका प्रचण्ड–माधव नेपालसहितका नेताले ओलीलाई दुबै पदबाट राजीनामा गर्न दबाब दिए पनि उनले ठाडै अस्वीकार गर्दा नेकपा लामो समयदेखि अनिर्णयको बन्दी बनेको थियो ।

यस्तोमा ओलीले नटेरेपछि प्रचण्ड लगायतका नेता आफ्ना मागबाट पछि हटेर कार्यदल बनाई टालटुले समाधान खोज्न बाध्य भएका हुन् ।

तर त्यो कार्यदलले ओलीले राजीनामा गर्न नपर्ने प्रतिवेदन बुझाएको छ । अब यहाँनेर प्रश्न आएको छ कि कतै सबै सदस्यहरु ओलीको प्रभावमा त परेनन् ? नत्र किन राजीनामा गर्नु नपर्ने ?

संयोजक ओलीका, शंकर ओलीकै । जो प्रदेश ५ का मुख्यमन्त्री पनि । अनि बाँकी रहेका सुरेन्द्र र भीम रावल माधव नेपाल पक्षका तथा पम्फा र जनार्दन प्रचण्ड पक्षका ।

चारै जनालाई मन्त्री पद दिने गरी साँठगाँठ भएको बुझिएको छ । यदि त्यो जहाजमा फेरि चार जना हेल्पर गए भने आश्चर्य नमाने हुन्छ । तर यो क्रयास र सुरक्षित अवतरणको शंकास्पद श्रृंखला अझै जारी छ ।