जसपा फकाउन राज्य व्यवस्थामा अल्झिएको गम्भीर नागरिकता विधेयक अध्यादेशमार्फत जारी

Home Feature राजनीति

काठमाडौं । कुर्सी भन्ने चिज कतिसम्मको निकृष्ट हुँदो रहेछ भन्ने कुराको प्रमाण प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले देखाइदिएका छन् । सत्तामा टिकिरहन दोस्रो पटक संसद विघटन मात्र गरेनन् अहिले आएर जनता समाजवादी पार्टी जसपा नेपाललाई फकाउने नाममा गम्भीर प्रकृतिको नागरिकता सम्बन्धी विधेयक अध्यादेशमार्फत जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धि अध्यादेश आइतबार जारी गरेकी हुन् । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

अध्यादेशअनुसार जन्मसिद्ध नागरिकका आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्नेछ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजको नागरिकता दिने प्रावधान पनि अध्यादेशमा समेटिएको छ  ।

२०७५ साल साउनमा ल्याइएको नागरिकता ऐन संशोधन सम्बन्धि विधेयक राज्य व्यवस्था समितिमा अल्झिरहेको छ । यस्तो गम्भीर प्रकृतिको विधेयकमा ओलीले आफ्नो कुर्सी जोगाउने नाममा जसपालाई फकाउन उसको माग अनुसार यो अध्यादेश ल्याएको हो ।

संविधानको धारा ११ को उपधारा (३) मा बर्तमान संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक रहेको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्ने ब्यवस्था गरिएको छ ।

यो विधेयकले कहाँ र कतिसम्म असर गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।