ओलीको हुर्मत, राष्ट्रपतिको निर्णयमा जति जनाले मुद्दा राखे पनि त्यसको केही अर्थ नरहने

Home Feature राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि आफ्नो दम्भ गर्न छाडेका छैनन् । उनले लोकतन्त्रको धज्जी उडाए पनि उनले आफू जे चाह्यो त्यही गर्न सक्छु भनी हुर्मत लिन छाडिरहेका छैनन् । उनले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् ।

आइतबार बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा उनले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने दाबी गरेका हुन् ।

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्ने प्रयास भइरहेको भन्दै उनले जति जनाले मुद्धा राखे पनि त्यसको अर्थ नरहने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणीसमेत गरेका छन् ।

ओलीले आफूले संसदबाट विश्वासको मत लिन नसक्ने स्पष्ट भएपछि राष्ट्रपतिलाई विवादमा मुछेर आफू नै शक्तिमा रहिरहने गलत बाटो रोजेका हुन् । ओली र राष्ट्रति विद्यादेवी भण्डारीबीच अपवित्र गठबन्धन हुँदै आएको छ ।

संसदीय गणितमा फोहरी खेल भएको र सांसदहर किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद विघटन नहोस् भनेर जसपाको र एमालेको पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको उनको कुतर्क छ ।

तर ओलीले आफूसँग बहुमत थियो भने संसदबाट विश्वासको मत लिन किन सकेनन् त ? उनी निकटका पत्रकारले यस्तो त किन नै सोधुन् र तर जसरी अन्य मिडियामा उनको असंवैधानिक कदमविरुद्ध आइरहेका आवाजलाई भने उनले बालुवाटारभित्र बसेर दबाउने प्रयास गरिरहेका थिए ।

उनले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा लम्किएको बताएका छन् । त्यस्तै माधव नेपाल पक्षलाई पनि बाँकी राखेनन् । तानाशाही प्रवृत्तिका ओलीले माधव नेपाल समूहलाई पार्टीको पदाधिकारीबाट समेत हटाइसकेका छन् । ११ सांसदलाई कारबाही प्रक्रिया नै अगाडि बढाएका छन् ।