यतिखेर चुनाव हुने कुनै छाँट छनक नदेखिए पनि चुनावको खुबै चर्चा छ । एकातिर ओलीले नियुक्ति दिएका प्रमुख निर्वाचन आयुक्त छिटो चुनाव गराएर दुईटा नेता माधव र प्रचण्डलाई हावा खुवाउने दाउमा छन् । तर देउवाको टेको नमिल्ने हो भने आफ्नै भरमा मात्र चुनाव जितिन्न भन्ने कुरामा डराएका दुई नेता संगठन चतुराउने समय खोज्दै चुनाव ढिल्याउने तयारीमा छन् । माधव भन्दछन्–तीनपल्ट लगाएर स्थानीय प्रदेश र प्रतिनिधि सभाको चुनाव गराउने हो भने २५ अर्ब खर्च लाग्छ–एकैपल्ट गरे १० अर्बमा खत्तम । देशको अर्थतन्त्र ओरालो लागेको बेलामा चुनावमा कम खर्च गर्ने कुरा साह्रै राम्रो हो । तर कुराको चुरो खर्च बचाउने भन्दा पनि एकथरि नेताको इज्जत बचाउने कसरी भन्नेमा छ । माधव नेपालले जितेको काठमाडौं २ नम्बर अब त्यति सजिलो छैन–फलामको च्यूरा सावित भएको छ । रौतहटमा लड्न जाने हो भने प्रभु साह लौरो लिएर बाटो ढुकेर बसेका छन् । त्यसैले जहाँ चुनाव लड्ने भए पनि देउवाको सहयोग नभै नहुने । यता प्रचण्ड कम्रेड काठमाडौंको त कुरै छाडौं–चितवनमा समेत दरिलो खुट्टा छैन । पहिलो पल्ट एमालेका एक नेता किनारा लगाएर जितेको हो–अबको पाली एमाले नै उल्टो वृहस्पति बनेर उभिने छ । अझ राप्रपाले अर्को तगारो लगाउने छ । त्यसैले पहिले माओवादीले खुट्टा पसारेका दुर्गम पहाडतिर नै आँखा लगाउनु पर्ने हो कि ?।
विचरा देउवालाई चिन्ता छ–छाडिदिऊँ, पाँचौं पल्टको प्रधानमन्त्री पद प्रचण्ड–नेपालले चाँदीको थालमा राखेर बुझाएका हुन्, त्यो गुन बिर्सन पनि मिल्दैन । अहिलेको सत्ता गठबन्धन सजिलै तोड्न सकिँदैन तर आफ्नै पार्टीका विरोधी पक्ष नेपाली कांग्रेसले एक्लै लड्नु पर्छ भनेर दबाब दिँदैछन् । जेठी माग्ने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जामको अवस्थामा पुगेका छन् देउवा । शेखर कोइराला के निहुँ पाऊँ कनिका बुक्याउँ भनेर छिद्र खोज्दै हिँडेका छन् । महामन्त्री भएका गगन र विश्वप्रकाश प्रधानमन्त्री हाम्रो शरणमा आउनु पर्छ नत्र सजिलै पार्टी र सरकार चलाउन कहाँ दिन्छौं भनेर कुर्लदै छन् । यता एमाले नेता हिङ् सिद्धिदै गए पनि हिङ् बाँधेको टालो छ भनेर सक्दो चाँडो चुनाव होस् भन्नेमा छन् । निर्वाचन आयोग गोरुको पुच्छर निमोठे झैं सरकारलाई छिटोछिटो मिति तोक्न तारन्तार पत्राचारको मेलो बनाएका छन् । हुन पनि जसको गीता खाई उसको मिता गाधिन गरे पनि भएन । यतिखेर निरीह देखिएका छन् प्रचण्ड र माधव–जति सक्यो चुनाव टार्दै लगेर ढिल्याउन सके आफ्नो हितमा भैहाल्थ्यो कि ? नत्र भने आउँदो प्रतिनिधिसभा प्रचण्ड माधवरहित हुन बेर छैन ।
दुःखका आँशु
पुराना धमिराले नयाँ धमिरालाई खेद्छन् भनेझैं यतिखेर माओवादीबाट एमालेमा रुपान्तरण भएका कम्रेडहरू थाल खाउ न भात खाउँको अवस्थामा पुगेका छन् । कतै पद दिए पनि काम दिइएको छैन, कतै जुनियरभन्दा आपूmलाई जुनियर बनाएर हेंला गरिएको छ । अनि कति दिन दुःखका आँशु पिएर एमालेमा बस्ने होला भनेर आपसमा गुमस्त ागर्न थालेका छन् । बादलको राजनीतिक जीवनमा बादल बाक्लिदै गएको छ–न उनको कतै सुनाई हुन्छ न उनलाई गन्तीमा ल्याउँछन् । जेठो मामाको यो गति कान्छो मामाको भाङ्ग्राको धोती भनेझैं तोमबहादुरदेखि लेखराज भट्ट बादलका पछि लागेर आएका–उनको गन्ती कसले गरोस् । भन्न थालेका छन्–अरु पार्टीमा जाँदैमा कसले इज्जत गरिहाल्छ र ?। त्यसैले पार्टीबाट विदा लिने अन्त कतै न जाने धन तयार गरेका छन् । ओल्लोघाट न पल्लोतिर बनेका यी नयाँ पाहुनालाई एमालेका पुरनो साँढेहरूले किन गन्थे र ?
आफ्नै पार्टीमा वर्षौंदेखि काम गरेका १० भाइको बेइज्जत भएको एमालेमा माअोवादी केन्द्र छाडेर आएकालाई उपल्लो पदमा कसले जान देओस् । कम्रेड ओलीले सबैको नाडी राम्ररी छामेका छन् र को कति पानीमा छ भन्ने हिसाब किताब राखेर बसेका छन् । भीम रावल बिना पिँधको लोटाझैं यता र उता हल्लिएका छन्, उनको आफ्नै बलियो निर्वाचन क्षेत्र छ र त ओली कम्रेड उनका कुरा एक कानले सुनेर अर्को कानले उडाइरहेका छन् भने कुनै दरिलो निर्वाचन क्षेत्र नभएका बादललाई किन गनिरहनु । माओवादीबाट आएकाहरूले एमालेका भाग खोस्लान् भन्ने डर भइरहेकोमा छाडेर जान्छन् भने झन् जाति । अब उनका गनगन सुन्ने सुर्फद कहाँ छ र ?। आफ्नालाई भेट्ने फुर्सद नभएको बेलामा किन दिन खेर फाल्नु भन्नेमा छन् कम्रेड । त्यसैले बादल र उहाँका छाउरा–यतिखेर ओल्लोघाट न पल्लोतिर भएका छन् र एमालेमा प्रवेश नखाऊँ दिनभरको शिकार खाऊँ कान्छा बाबुको अनुहार भएको छ । अब बगाइरहुँ दुःखका आँशु ।
सूर्यमा ग्रहण
छोरी कुटेर बुहारी तर्साउने नेपाली कहावतलाई चरितार्थ गर्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई चिन्हमा प्रश्न उठाएर एमालेको चुनाव चिन्ह सूर्यप्रति संकेत गरेको भन्ने चर्चा चलेको छ । हुन पनि राष्ट्रिय झण्डामा भएको चिन्ह राखेर एमालेले चुनाव लड्दै र जित्दै आएको थियो । निर्वाचन आयोगले कहीं पे निगाहे कहीं पे निशाना जस्तो आँखा गाडी चिन्हप्रति लगाएर निशाना अर्कैतिर साँध्न लागे जस्तो छ । राष्ट्रिय ध्वजाको दुई महत्वपूर्ण अंग भनेकै सूर्य र चन्द्र हो । यही छेउ कुरा उठाउन सकिन्छ राष्ट्रिय झण्डामा राखिएको सूर्यलाई के कसरी पार्टीको चुनाव चिन्ह बनाउन मिल्छ । यतिखेर सूर्यको कुरा कसैले उठाएको छ गाडी चिन्हप्रति लगाएर निशाना अर्कैतिर साँध्न लागे जस्तो छ । राष्ट्रिय ध्वजाको दुई महत्वपूर्ण अंग भनेकै सूर्य र चन्द्र हो । यही छेउ कुरा उठाउन सकिन्छ राष्ट्रिय झण्डामा राखिएको सूर्यलाई के कसरी पार्टीको चुनाव चिन्ह बनाउन मिल्छ । यतिखेर सूर्यको कुरा कसैले उठाएको छैन, तर राष्ट्रिय जनावर मानिएको गाईलाई चुनाव चिन्ह बनाउन पाइँदैन भने राष्ट्रिय ध्वजामा सुशोभित सूर्यलाई कसरी पार्टी चुनाव चिन्ह बनाउन पाइन्छ । ठूलो पार्टी एकैपल्ट कुरा उठाउँदा राप्रपाको चिन्ह माथि प्रहार गरे पछि कसै न कसैले किन गाईमाथि प्रहार–किन सूर्य बाहेक भनेर कुरा उठाउँछन्, त्यसपछि प्रश्न गरौंला भनेर आयोगले मौन साँधेको हुन सक्छ ।
गाई आउट भएपछि निर्वाचन आयोगले सोझै नगरी कसैले अदालतमा गरेको उजुरीको आधार बनाउन सक्छ । त्यसो हुँदा सर्प मर्ने लठ्ठी भाँचिने हुनसक्छ । न्यायको आगे ठूलो पार्टी ठान्ने एमालेले जुन चिन्ह लिए पनि चुनाव जितिहालिन्छ भन्नेतिर नलागी मेरो गोरुको बाह्रै टक्का अर्थात हामी सूर्य छाड्दैनौं भनेर निहु खोज्न सक्छ । अपराधी सावित प्रदेशसभा सदस्यलाई भागेको ठाउँबाट उतारेर भोट हाल्न लगाउने प्रयास गरिन्छ भने सूर्य चिन्हको निहुँमा वक्तव्यबाजीबाट शुरु गरेर ढुंगामुढा–आगजनीसम् मगर्न पार्टीका नेताले कार्यकर्ता उकास्न बेर लाग्दैन । न्यायका नौसिङ्–राप्रपाको गाई चिन्ह प्रयोग गर्नु गैरकानुनी भने पनि एमालेको सूर्य चिन्ह पूरै झण्डा ढाकेको नभै एक कुना छोपिने गरी राखेकोले छुट्टै फैसला पनि गर्न सकिन्छ । बलियाको लौरो हतियार बनाएर कमजोर राप्रपाको चुनाव चिन्हलाई विदाईमा पारेर पनि ठूलो ठानिएको एमालेको चिन्ह जोगाउने खेल न होला भन्न सकिँदैन । सूर्यको पक्षमा नारा जुलुस गर्ने बेलासम्म कोरोनाले मा¥यो भने कार्यकर्ता तताउन निकै सजिलो हुन्छ । कार्यकर्ता अल्छी बनाएर राख्न हुन्न–ठीक होस् कि बेठीक होस्–निहुँ निकालेर सक्रिय बनाइराख्नु पर्छ सूर्यमा ग्रहण लाग्ने कुरा अहिले नै ठोकुवा गर्न नसके पनि कुरा उठेको पक्कै हो ।
भाले जुधाई
एकताका भन्ने गरिन्थ्यो–दुईजना कम्युनिष्ट भए तीनवटा पार्टी बनाउँछन् रे । तर यतिखेर मधेशवादी दलहरू एकपछि अर्को मुसेताँती झैं पार्टी खोलेको खोल्यै छन् । सीके राउत एक पार्टी, हृदयेश त्रिपाठी अर्को पार्टी अनि रेशम चौधरी अर्को पार्टी । केही दिनभित्रै राजेन्द्र महतोले अर्को पार्टी खोले भने अनौठो मान्नु पर्ने छैन । सबैलाई पार्टी अध्यक्ष हुने रहर–आपूmले भनेजस्तो नहुँदासाथ नेतालाई गाली गर्दै अर्को पार्टी खोलिहाल्छन् । कुनै बेला वेदान्द झा, महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह जस्ता नेता थिए, कार्यकर्तालाई पक्षपात गर्दैनथे अनि पार्टी फोर्ने, नयाँ बनाउने कुरा नै थिएन । अहिलेका अध्यक्षहरू फाइदा हुने पदमा आफ्ना मान्छेलाई लुसुक्क भर्ती गर्छन्, दोस्रो तेस्रो नेतालाई गन्धै थाहा हुँदैन । त्यसपछि शुरु हुन्छ पार्टीभित्र गाँड कोराकोर । अन्त्यमा नयाँ पार्टीको जन्म । पार्टी कसरी चलाउने पत्तै नभएकाहरू नाच्न नजान्ने आँगन टेढी गाउँदै आफ्नो नाउमा भाउ खोज्छन् । यतिखेर केही मधेशवादी पार्टी भरखरै उम्रेर तीनपाते हुन खोज्दैछन् । केही पुराना नेताहरू अर्कालाई किनारा लगाएर म खाऊँ मै लाऊँ भनेर गजधम्म बसेका छन् । अब त्यस्ता नेताहरूको नामै लिएर बदख्वाइँ गरिहालौं न–
उपेन्द्र यादव, डा. भट्टराईलाई टेढो आँखाले हेर्न चाहँदैनन् । कुन दिन म पूर्व तँ पश्चिम भनेर टुक्रिन बेर छैन । बहुमतकै कुरा गर्दा अशोक राईको भर । नत्र भट्टराई पूरै अल्पमत । मधेशवादी पार्टीमा टाँसिन पुगेका बाबुराम, राजेन्द्र श्रेष्ठ, अशोक राईहरूको हविगत घरज्वाइँको जस्तो छ । एकले अर्कालाई पछार्न कसरी छिर्के हान्ने भन्नेमा सबै लागेका छन् । अर्कोतिर महन्थ ठाकुर र राजेन्द्र महतो एक अर्कासँग बोल्न पनि मोल तिर्नुपर्ने ठान्दछन् । महतोले कार्यालय नटेकेको लामै समय भइसकेछ । त्यस्तो अफिसमा को जाओस् भनेर अर्को घर खोज्न बेर लाग्दैन । तर एउटै विशेषता के हो भने चुनाव आउन पाउँदैन–मधेशको अधिकारको नाममा सबै एकै ठाउँमा जम्मा हुन्छन् । चुनावमा नजिते आफ्नो दाउ लाग्दैन र कसैले भाउ गर्दैन भनेर एकगठ भइहाल्छन् । मधेशी नेताहरूबीच निरन्तर भाले भिडन्त भन्ने कि भाले लडाइँ भन्ने निरन्तर हुँदै आएको छ–अहिले पनि त्यही परम्परा छन्–किन चित्त दुखाउने ।
अन्त्यमा–
गठबन्धन सरकारले चुनाव गराउनेमा शंकै देखिन्छ ।