छेपाराले जस्तै रूप फेर्दै नेपालका ठूला नेताहरु…

यताउताका कुरा

माछा देखे दुलाभित्र हात सर्पदेखे दुला बाहिर हात–हाम्रा राजनीतिकर्मीहरू यस्तै छन् । हाम्रो भाग्यले यस्तै नेता जुराइदियो–अनि नभएको नेता खोज्न कहाँ जानु । अहिले हो भनेको कुरा भरे नै होइन भन्ने र कार्यकर्तालाई विरोधमा नारा लगाउन पठाएर आपूm मौन समर्थनतिर लाग्ने लापले बानीले अब नेतालाई पत्याउन पनि गाह्रो भैसक्यो । कम्रेड ओलीले एमसीसी सदनमा प्रवेश गराएको जगजाहेर छ–यतिखेर मेरो तोक छैन भनेर एउटा कुनामा गजधम्म बसिदिन्छन् । एमालेले सदन अवरोध गर्दै आएको छ, तर त्यसैका नेता भीम रावल सभामुखको अनुमति लिएर एमसीसीको धुवाँधार विरोध गर्छन्, अब एमालेले भाग लिएको हो भन्ने कि होइन भन्ने । आफैं प्रधानमन्त्री भएको बेला सदनमा छिराएको कुरालाई अहिले हाम्रो निर्णय हैन भनेर कुन रंगमा बोलेको होला । एमालेको यो गति अनि अरुको के गति ?–जेठो मामाको यो गति कान्छो मामाको भाङ्ग्राको धोती सम्झना अरु झिनामसिना नेताको के कुरा ?
कम्रेड प्रचण्ड र माधव नेपाल बालुवाटार पुगेर एमसीसी सम्झौताको सहमतिमा घोक्रो सुकुञ्जेल चिच्याउने अनि बानेश्वर पुगेपछि तै चूप मै चूप कार्यकर्तालाई सडकमा ढुंगा जम्मा गराएर आपूm फुत्त भित्र सदनमा । खाऊँ कान्छा बाबुको अनुहार नखाऊँ दिनभरिको शिकार–एमसीसी पक्षमा समर्थन नजनाउँ देउवाले अब न बस्नोस् गठबन्धनमा भनेर गलहत्याइदिने–अनि यता पनि नास उता पनि नास–गठबन्धन छाडेर चुनाव जित्ने भन्ने कुरा लङ्गडाले पहाड चढ्नु जत्तिकै कठिन छ, समर्थन गरौं–यिनीहरूले राष्ट्रघाती काम गरे भनेर मतदाताले टाढैबाट वाईवाई गर्ने डर । बल्लबल्ल फेला परेको देउवा टेको एमाले समाजवादी र माओवादी केन्द्र दुवैथरि छोड्न तयार छैनन् । त्यसैले यतिखेर वामपन्थी नेताहरू बेलाबेलामा बोली फेर्छन्–रातो रंगबाट हरियोतिर तानिन्छन् । यसो हेर्दा रंग नफेर्नेमा देउवाकाजी मात्र हुन् कि भनेझैं भएको छ । यतिखेर रातोमा अडान राख्ने बिजुक्छे, विप्लव र वैद्य मात्र हुन् जस्तो छ, तर मौका पर्दा उनीहरूले पनि रंग फेर्न बेर छैन । ठूलादाइले जे गरे अरुले त्यसै गर्नु पर्दैन र ?


ओलीको छटपटी


यो छोरा बढ्ला कमाइ गरला दूधभात देला भनेझैं एमसीसीको विरोध गर्ने प्रचण्ड र माधव गठबन्धनबाट बाहिरिएलान्, त्यसपछि देउवालाई नचाउला भन्ने थियो एमसीसी पास गर्न समर्थन गरेर । तर सधैं आपूmले भनेजस्तो नहुने रहेछ । भारतले नाकाबन्दी गरेको निहुँ पारेर राष्ट्रियताको खोल ओढेर चुनावमा राम्रै दाउ पारिएको थियो । जग्गा अर्काले कमाए पनि लालपूर्जा आफ्नो हातमा लिएझैं भारतले चर्चेको भूभागमा चुच्चे नक्सा बनाएर पनि राष्ट्रवादी बन्ने राम्रो मौका थियो । प्रचण्ड र माधवजस्ता झिना मसिनाले राष्ट्रवादी कुरा गरेर के नाप्छन् र भनेर उनीहरूलाई एमसीसीको विरोधमा धकेल्ने अनि सत्तामाथि कब्जा जमाउने रहर थियो । तर बानेश्वरमा उर्लिएको एमसीसी विरोधी भिडले एकपल्ट राम्रै सोच्नुपर्ने बनाइदियो । मान्छेको मन उल्टिन धेरै दिन लाग्दैन–नेपालीहरूले ओली कम्रेडले भारतीय नाकाबन्दी विरुद्ध अभियान थाल्दा समर्थन गर्ने नेपाली अमेरिकाले थोपर्न खोजेको एमसीसीको समर्थन गर्दा पक्कै त्यसको पक्ष नलिने भए । अमेरिकाको उद्देश्य के हो–त्यो बेग्लै कुरा तर नेपालीले बुझेको चाहिँ अमेरिकी सेना प्रवेश गर्छ ।
यही नारा बढ्दै गएर चुनाव आउने बेलासम्म कतै देशभर फैलने त होइन ? यसो हुँदा झिँजाले मुडा पोल्छ भनेझैं साना पार्टीले राष्ट्रवादी नारा लगाउने–ठूलो पार्टी अराष्ट्रिय ठहरिने त होइन । दिनदिनै बानेश्वरमा बढ्दै गएको एमसीसी विरोधी प्रदर्शनले ओली कम्रेडको मनमा झस्को पसेको छ । आफ्नै सांसदहरूले नेपालीको नाडी छामेर अमेरिकी योजनाको पछि लाग्दा जनताले नपत्याउने हुन् कि भनेर चिन्ता प्रकट गर्न थालेका छन् । कांग्रेसलाई के छ र ? आफ्ना कार्यकर्ता आफैंसँग, हद घटे तटस्थ बस्नेहरू घट्लान् । तर राष्ट्रवादको चर्को नारा लगाउने कम्युनिष्टहरूलाई एमसीसी पास गर्दा राष्ट्रियता कता गयो भनेर प्रश्न गर्दा जवाफ दिने बाटो खोई ?


फोस्रो रहर


हर्रो नपाउदो जाइफल धाउँदो नेपाली उखान नेपालका सडक बनाउनेमा लागू भएको छ । प्रधानमन्त्री आदेश दिने तत्कालै सडकका खाल्डाखुल्डी पुर्नु तर बिजुली अड्डा र पानी अड्डा कसले धेरै सडक खन्न र खाल्डो पार्न सक्छ भनेर प्रतियोगिता नै गर्छन् । सडक विभागले पिच गरेर सकेको हुँदैन, पानी अड्डा यो त मेलम्चीको पाइप, जसरी भए पनि ओछ्याउनै पर्छ भनेर अड्डी कस्छन् । अनि बिजुली अड्डा पनि के कम–तार सुरक्षित गर्न जमिनमुनि तान्नुपर्छ भनेर सडकका पेटी विरुप बनाउँदै हिँड्छ । सहरको यो गति–गाउँपहाडतिर हेर्न जाने हो भने हेर्नै नसकिने । यो वर्ष पिच गरिसकायो अर्को वर्ष नलाग्दै पिच उप्किएर बनेको खाल्टा खुल्टीमा फसेका गाडीहरू टुक्रेनको सहारामा निकाल्नुपर्ने । अनि डोजरले जथाभावी भत्काइएका पाखाबाट पहिरो खसेर–नराम्रोसँग पैदल हिँड्न पाइने न त गाडी गुडाउने फराकिलो बाटो नै सुरक्षित रहने । भेल आएर भत्काएका बाटो र कलभर्टमा केटाकेटी डुबे भन्ने खबर बेलाबेलामा आइरहन्छ ।
काठमाडौंमा साइकललेन बनाउने भन्ने हल्ला मच्चिएको धेरै दिन भैसक्यो । तर काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं साइकललेन बनाउन सकेको छैन–रेल कुदाउने रहर । काठमाडौंबाट रक्सौल र त्रिशूलीबाट केरुङसम्म रेल कुदाउने सपना नेताहरूले बाँड्दै आएका छन्, तर नेताहरूको ढाँचा भने कुतीदेखि नून नबिसाइल्याएँ भन्ने छोरालाई आमाले भनिथी रे–बाबु तेरो खुट्टी देख्दै चाल पाएँ । नेताले भनेका कुरा पत्याउनेको संख्या खहरेको पानी सुकेझैं सुक्दै गएको छ । पद, पैसा र पावर बाहेक अरु केही नदेखेका हाम्रा नेताहरू मीठा बोलीले जनता झुक्याउन माहिर छन् । साइकल लेन बनाउन नसक्नेले रेलमार्गको परिकल्पना कति पत्यारलाग्दो होला । तर ढाँटको निम्तेर खाइ पत्याउनु भनेझैं कुनै दिन काठमाडौंबाट रक्सौल र केरुङसम्म सररर रेल चढ्न पाइन्छ भनेर मुख मिठ्याउनु बाहेक के नै गर्न सकिन्छ र ?


दक्षिणबाट दाइ आए


नेपालमा अलिकति मात्र राजनीतिक चलखेल हुनुपर्छ, दक्षिणको टाउको दुखिहाल्छ । अमेरिकाको एमसीसी पास भैहाल्छ कि भनेर उत्तरको टाउको दुखाइ अलिकति पनि देखापर्नासाथ तँभन्दा म के कम भनेर दौडिहाल्छन् । आए–ठूलै पदका मान्छे आए । सामन्त गोयल आएर कुनै बेला तत्कालीन प्रधानमन्त्रीलाई लटपट्याएका थिए–यसपल्ट आफ्ना दोस्रो मान्छे पठाए । ती शर्मा हुन् कि के हुन्–आउन नपाउँदै तरङ्ग फैलियो । कम्रेड ओलीलाई एकपल्ट अमेरिकी राजदूतलाई भेटेर चित्त बुझाउनोस् भने–नाइँ कसरी भन्नु । आपूmलाई बेलाबेलामा सगाइरहेकाले उनले भन्नासाथ अमेरिकी राजदूतलाई बालकोटमा रातो कार्पेट ओछ्याएर स्वागत गरे । आखिर एमसीसी पासै गर्नु छ भने देउवासँग किन मुन्टो बटार्ने भनेपछि ओली कम्रेड दौडेर बालुवाटार पुगे । लहरो तान्दा पहरो गर्जन्छन् भन्थे–भारतीय मित्रको नेपाल प्रवेशसँगै यहाँको राजनीति तरङ्गित भयो ।
एमालेको एउटै अडान–माधव लगायतका १४ जनालाई संसदबाट सोझै गलहत्याउने हो भने देउवाकाजीलाई पूरै समर्थन हुन्छ । महाकाली सन्धि पास गर्न पनि ओली कम्रेडको ठूलै भूमिका रहेको थियो–विरोध गर्ने वामदेवहरू ढुकुर खुइल्याए सरह खुइल्याइए । अबको पाली प्रचण्ड र माधवलाई खुइल्याउने ओली कम्रेडको इच्छा पूरा गर्न एमसीसीमा भोटिङ गर्नुपर्छ, दक्षिणका दाइले सुझाए अनुसार एमालेले यसमा भोट हाल्नु पर्छ । विपक्षमा भोट हाल्ने आँट गरे प्रचण्ड–माधवको अवस्था महाकाली सन्धि पछिको वामदेव कम्रेडको अवस्था दोहोरिने छ । बडाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत–छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित–अहिलेसम्म नम्बर १ पार्टी भनेर बसेको एमालेले जे गरे पनि सुहाउँछ । एमसीसीको पक्षमा भोट हाले विकासको लागि, विपक्षमा भोट हाले राष्ट्रवादी धार ।
अन्त्यमा–
युक्रेनमा रुसले हमला गरेपछि एमसीसीको पक्षमा लाग्न खोजेका वामपन्थीहरुको सातो गएको छ ।