केही वर्षयताको सामाजिक, आर्थिक, राजनीतिक गतिविधिहरुलाई सूक्ष्म ढंगले नियाल्दा हाम्रै पिँढीकाहरु पनि कहींकतै नेपालमै मर्न पनि नपाउने हो कि ! बढ्दो राजनीतिक विकृति आर्थिक दयनीय अवस्था र सामाजिक उच्छृङ्खलता आदि आदिले नेपाली नेपालीबीच आपसी भाइचाराको अवस्था नरहनेजस्तो देखिन्छ । नेपालमा विदेशी धर्म, विदेशी विसंगति र विदेशीकै इशारामा नाच्ने नेताहरु सर्वेसर्वा भएपछि आम नेपालीहरुबीच निराशा छाउनु सामान्य नै कुरा भयो ।
२००७ साल, ०१७ साल, ०४६ सालमा नेपालमा राम्रै परिवर्तन आएको हो । २००७ सालमा एकसय चार वर्षे राणा शासनको अन्त्य गर्न राजा र जनता एकै ठाउँमा उभिएर विदेशीले पनि बाध्य भएर राजा र जनतालाई साथ दिएर राणा शासन अन्त्य भएर प्रजातन्त्रको उदय भयो । त्यो प्रजातन्त्र पनि राम्ररी एकदशक टिक्न सकेन, पार्टी पार्टीबीचको सधैं झगडा, बढ्दो भ्रष्टाचार आदि इत्यादिले नेपाली जनता आजित भएको देखेर राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरिबक्स्यो, ०१७ साल अगाडिको ज्यादतीकै कारण नेपालीहरुले पञ्चायती व्यवस्था स्वीकारे, त्यो पञ्चायती व्यवस्था नेपालमा तीन दशकसम्म रह्यो र पछि बढ्दो अन्तर्राष्ट्रिय परिवर्तनकै कारण राजा वीरेन्द्रले बहुदलीय व्यवस्था लागू गरिबक्स्यो, अनगिन्ती पार्टीहरु खुले, जसमा कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिहरु बीचमै प्रतिस्पर्धा भयो, जुन यद्यपि छँदैछ तर कुशल राजनेताहरुलाई पन्छाएर जालझेल गर्न सक्ने विकृत मानसिकता भएकाहरुले सत्तामा बसे, कांग्रेसमा गिरिजाप्रसाद, शेरबहादुर जस्ता अधिकांश गणेशमान, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्यलाई पन्छाएर त्यस्तै कम्युनिष्ट पार्टीमा मनमोहन अधिकारी, मदन भण्डारी जस्तालाई हटाएर, माधव नेपाल, केपी ओली जस्ताले आफ्नो स्थान ओगटे जसले गर्दा आम नेपालीहरुबीच राजनीति गर्ने नेताहरुप्रति नै घृणा उत्पन्न हुन थाल्यो, फलस्वरुप नेताभन्दा साथ ‘चोर, फटाहा, लुच्चा’ भन्नेजस्ता शब्दहरु सम्बोधन गर्न थाले । फलस्वरुप नेपालीहरु त्यस्ता नेताहरुलाई नपत्याउने सधैं शंकाको आँखाले हेर्ने, त्यस्ता नेताहरु भने अनेक टिकडम रचेर सत्तामा पुगिहाल्ने, यस्तो अवस्थामा एक नेपालीले अर्को नेपालीले आपूm नेपाली भएरै मर्न त पाउँछु भन्ने जस्तो निराशा जाग्नु स्वभाविकै देखिन्छ ।
केही वर्षयतादेखि विदेशी सहयोगको एउटा प्याकेजलाई लिएर सिंगो मुलुक विभाजन हुन पुगेको छ । विगतमा पनि यस्तो विदेशी सहयोग नआएको होइन, भविष्यमा नआउने होइन तर अहिलेको सहयोगबारे मात्रै आम नेपाली विभाजन हुनुको पछाडि राजनीति गर्ने नेताहरुकै नालायकीका कारणले हो, आम नेपालीलाई ठिकबेठिक, दूधको दूध, पानीको पानी छुट्याएर स्पष्ट पार्न नसक्ने, एक नेपालीलाई अर्को नेपालीसँग भिडाउने नेताहरुलाई कति पाल्ने हो ! अब सबै त्यस्ता नेताहरुलाई विदा गर्ने बेला भइसकेको छ । समयमै सबैको बुद्धि फिरोस् !