ओइलाउँदा प्रचण्ड र मौलाउँदा ओलीको गाढा मित्रता…

यताउताका कुरा

एकताका भद्र सहमतिमा ओलीले प्रचण्डलाई पद छाड्नुपर्छ भनेर कुर्लने माओवादी केन्द्र यतिखेर ओइलाएको लज्जावती झारभन्दा गएगुज्रेको भएको छ । ओलीले के त्यस्तो जादूको लट्ठी चलाए मदारीको अगाडि बाँदर वा सपारीको अगाडि सर्पजस्तो बने । अचेल कम्रेड प्रचण्डको बोली बन्द भएको छ–कतै गएर केही बोलेको सुनिदैन । आखिर कुराको चुरो के रहेछ त भनेर पत्ता लगाउँदा–अष्टे«लिया भ्रमणमा गएर कुरा अड्किएछ । बढी तामझामसँग न्यूजिल्याण्ड हुँदै अष्ट्रेलिया जान लागेका कम्रेडलाई कानमा खुसुक्क ओलीले भने–कम्रेड लक्षण निको छैन, कतै द्वन्द्वकालका कुरा उठाएर प्याट्ट पक्रेर राखे भने के गर्ने ? मलाई त तपाई नभै हुँदैन । अनि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा डराउँछ भनेझैं बेलायतमा कुमार लामालाई अड्काएझैं अष्ट्रेलियामा बस्नु प¥यो भने यता पनि नास उता पनि नास । प्रचण्ड कम्रेड झसक्क झस्किए, थचक्कै बसे–पार्टीको काम छ, त्यसैले अहिलेलाई अष्ट्रेलिया जान सकिँदैन भनेर । एकदिन अगाडि देउवाकाजीसँग विदावारी हुँदासम्म पार्टीको काम नदेख्ने कम्रेड ओलीको भेटपछि एकैपटक ओइलाए ।

अष्ट्रेलियासम्म को चाहिँ शत्रु लाग्न पुग्यो होला ? भद्रसहमतिको रट लगाइरहने कम्रेडलाई एक किनारा लगाइदिनु प¥यो भने कम्रेड ओलीका आउरे बाउरेले नै दर्खास्तको नाटक गरेका हुन् कि हामीलाई जस्तो अरुलाई हेपेको हेरौं न त भनेर मित्र देशले रिस फेरेका हुन्–यसै भन्न सकिँदैन । तर कुराको चुरो के हो भने त्यसपछि ओली कम्रेड झरझराउँदा भएका छन्, कम्रेड प्रचण्ड ओइलाएका छन् । भारतले मुखमा रामराम बगलीमा छुरा कम्रेड ओलीले नै भद्रसहमति आर्यघाटमा पु¥याएको पनि हुनसक्छ । कसको प्रयास हो, छुट्याउन गाह्रै छ ।

चुनाव हुने रे
छोरो पाउनु कता छ कता कन्दनी बाट्न हतार भनेझैं कानुन नियम कता हो कता प्रधानमन्त्रीलाई चुनावको चटारो छ । चुनाव गराउँछु भन्ने झटारो हानेर अरु पाटीलाइ तिलमिलाउन लागेको हो कि ?। पल्टनमा सुर्ती बाँडेझैं बजेट बाँडेको बेलामा जनताले विकास गर्ने त यही हो भनेर भोट हाल्ने आसमा चुनावका कुरा गरेका हुन् । एकै गोलीले दुईटा शिकार गर्ने अर्थात प्रतिपक्षी र सत्ताकै साझेदारलाई पनि तिरिमिरी झ्याइँ देखाउने, आझ्नै पाटीका प्रतिपक्षीलाइ तिम्रो पालोमा हारेका होइनौं, हाम्रो पालोमा देखाइदिन्छौं भनेर तुजुक निकालेको पो हो कि ?। चुनाव गराउन सक्दिन भन्दा कमजोर वा पश्चगामी भन्लान् भनेर निर्वाचन आयोगकाले भनिदिए–कानुन बनाइदिनोस्–हामी चुनाव गराइदिन्छौं । तर भने जस्तो गर्न कहाँ हुन्छ र ?। कम्रेड ओलीलाई व्याख्या गर्न खुबै आउँछ–संसदीय समिति बनाउँदा नयाँ प्रावधान, निर्वाचन गराउँदा पुरानो प्रावधान । जसोजसो पुरेत बाजे उसैउसै स्वाहा । पुरानै ढर्रामा निर्वाचन गराएपछि प्रदेश सीमाङ्कनको झन्झट नै साफ ।

एकथरि मित्रलाइ प्रदेश भन्ने कुरा घाँटीमा अड्केको हाडजस्तो भएको छ । पहिले आफैंलाई भनेको हो तर अहिले आएर प्रदेशका कुराले पछाडि धकेल्दा भन्ने लागेको थिएन । प्रदेश भन्ने एउटा फाइदा लिन खोज्ने अर्कै । कतै प्रदेशले नै चुनाव हुँदा हिस्स बुढी हरियो दाँत बनाउला भनेर यसलाई नारामा राख्ने व्यवहारमा फाल्नेतिर लाग्दा फाइदा देख्नेहरू चुनावको कुराले झस्किएका छन् । आफ्नो हातमा रकम रहँदा मुठी कसेर बसेको कांग्रेस पछुताउँदै छ । नाच्न पनि जान्नुपर्छ, नाच्न नजान्ने आगन टेढो भनेर मितव्ययिता गर्दै आएको कांग्रेसलाई एमालेले देखाइदियो खर्च गर्ने कसरी भनेर । ५१ सालको सिको गर्दै एमालेले आफ्नो गाउँ आफैं बनाउ भन्यो, पैसा सरकारले दिएपछि बनाउन के के गाह्रो । अझ बनाउन पाएको पैसा यसो आफ्नो भागमा पनि पर्ने । पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती भन्छन् । गाउँमा बाटो पानी पुगे भै गयो, कसले कति खायो भनेर किन गर्ने चियोचर्चाे । कुरा भोटको हो, एमालेले आउँदा चुनावमा बाजी मार्ने देखेर नै बजेट बाँड्यो र बजेट बाँडेर आफ्नो पक्षमा भोट ल्याउने भएको छ । आन्दोलन ग¥यौं भन्ने मधेशवादी दलहरू अलमलमा छन् । आफ्नै आधार खस्किदै गएकोले मधेशवादी दलहरू पनि चुनावबाट तर्सिएका छन् ।

खेलौं जुहारी
अहिले राजनीतिक दलहरूले भूकम्पको खालमा आ–आफ्नो दाउको जुवा खेल्दै छन् । त्यसो त जो शकुनी बन्न सक्छ, उसैले दाउ मार्छ । भाउ खोज्नेहरू नक्कली हाउभाउ गर्दैमा किनारा लाग्छन् । संसदमा भूकम्पले प्रवेश पाएको छ । संसद भित्र जति नै भूकम्प आए पनि जनताको घर दैलोमा नजाओस् । एकपल्टको भूकम्पले बेहाल भएका पीडितहरू त्यतिखेर बाँडिएका पातलो पाल चुहिएर खुलाआकाशलाई आह्वान गरिरहेछन्–सकेसम्म कम पानी परोस् । भोको भन्छ डाँडा वारी खाऊँ अघाएको भन्छ डाँडा पारी खाऊँ । खुकुरीको मार अचानोलाई के थाहा । अहिलेसम्म भत्किएका ६ लाख घरमध्ये कति जति बने होलान् । धुर्मुस सुन्तलीदेखि सेनासम्मले बनाएर दिँदा हजार नाघेको छैन । पैसा पाउने आशमा घरको जगसम्म नहाली बसेका नेपालीलाई सालीको आसैआसमा भिनाजुको स्वर्गबास जस्तो भएको छ । सरकारले पैसा दिन्छ भनेर पर्खेर बस्दाबस्दै एकथरि परमधाम गैसके भने ठिटाहरूको जुंगा फुल्ने भैसक्यो । त्यसैले धैर्य गर्नु बाहेक अर्को उपाय छैन भनेर चूप लागेर बस्नुबाहेक अरु कुरा भगवान भरोसा ।
तर जसको नाममा भए पनि राजनीतिको जुवा खेल्न आनन्द आउँछ । जसको हातमा डाडुपन्यूँ छ, उसको निद्रा कहिले खुल्छ र भाग लगाइदिन्छ । तँलाई ५० हजार मात्र । जसोजसो पुरेतबाजे उसैउसै स्वाहा । अर्को भन्छ होइन एकैपल्ट दिनुपर्छ । अनि यो ठीक कि त्यो ठीक–संसारले भन्छ पीडितको नाममा गोहीको आँसु चुहाएर । एकपल्ट एमालेले ५८ दिन सदन चल्न दिएन, कुनै काम कारबाहीको दियो बल्न दिएन । कतै नेपाली कांग्रेस त्यो रिकर्ड तोड्ने दाउमा थियो, ओली कम्रेडले त्यसलाई फोड्ने अक्कल निकालेर डेढलाख रुपियाँ एकैपल्ट दिने घोषणा गरे । यो जुवामा पनि नेपाली कांग्रेस घाटामा एजस्तो छ, जुवाको अक्कल अब केवल नक्कल भएजस्तो छ ।

राप्रपाको जोडाई
भोलिभोलि हुँदैमा सवघर बितियो बक्सियोस् आज झोली–राप्रपा एकीकरणको कुराले नेताहरूको निद हराम बनाएको छ । एकीकरण गरेर शक्तिशाली पार्टी बनाउन होइन कि जोडिएपछि आफ्नो ठाउँ कहाँ रहने भनेर । त्यसैले एकीकरणको कुरा छेपाराको उखानभन्दा माथि जान सकेको छैन । उपलब्धि भनेर वार्ताटोली गठन भएको छ । उनीहरूको बुताले कुनै ठोस प्रस्ताव बनाउन सकेको छैन–जे होस् भेटघाट र जलपानको एउटा मेसो भएको छ । आज भेट्यो जलपान ग¥यो, छलफल भोलिलाई सा¥यो । कुरा सार्दै जान सक्नु सानो सफलता होइन । जेठीलाई पानी चाहिने कान्छीलाइ घाम–कमल थापालाई कार्यकारी अध्यक्ष पद चाहिने–चन्द र राणा मरिगए न छाड्ने । अनि कहाँबाट हुने जोडाई ।

प्रत्येक नेतामा हुनुपर्ने गुण भनेको कोभन्दा को कम ?। प्रत्येकको टाउकोमा ऊभन्दा म के कम भन्ने तुजुक न भएसम्म नेता नै भएन नि । त्यसमाथि राप्रपाको न कुनै अर्को । चुनिएर होइन भागशान्ति गरेर सभापति पद बाँड्दै आएको पार्टीका मान्छे आफ्नो भाग कतै अरुलाई किन दिन्छन् । प्रत्यक्ष निर्वाचनमा एकसिट ल्याउन नसके पनि समानुपातिकमै बढी सीट ओगट्न सफल थापाकाजी आपूmभन्दा कमसिट संख्या भएकालाई कसरी नेता मान्न सक्दछन् । राप्रपा एकीकरणको कुरा रोजाई होइन, त्यसैले कुरा तन्क्याउँदै लगेर एकातिर थन्क्याउने हो । फुटेको हाँडी जोडेर मकै भुटौंला भन्ने विचारले कार्यरूप लिन नपाउँदै अर्कोतिर चर्केर फुट्ने र मकै जति आगोमा प¥यो भने अनौठो मान्नु पर्दैन । अनि जति जति पर्खिदै गयो उतिउति तन्किदै जाने र रात रहे अग्राख पलाउने कुराले राप्रपाको एकीकरणलाई सगाउ पु¥याउने भन्दा बिगार्दै लैजाने पक्का छ । आपूm अध्यक्ष बन्ने पक्का नभएसम्म किन प्रयास गर्ने एकीकरणका लागि । घ्यू बेचुवा तरबार बेचुवाको बीचमा स्थायी मित्रता कसरी हुन्छ ।

अन्त्यमा–
प्रचण्ड कम्रेडका चेलाहरूले ओलीसँगको भद्रसहमतिका कुरा उठाएर साँच्चै सत्ता खोजेका हुन् कि अत्याउने हतियार प्रयोग गरेका हुन्–समयले बताउला ।