दाम र पद पाउन ठूलै नेताको हात हुनुपर्छ…

यताउताका कुरा

यो बुढौतीको बेला केको अलापबिलाप नि–प्रश्न बाहिर निस्कन नपाउँदै बाबुलाई सत्तोसराप गर्न थाले–बुढाले उतिखेर ठूलाबडाको छोरी खोजेर बिहे गरिदिएको भए आपूm पनि यतिखेर राजदूत होइन्थ्यो, त्यसो नभए कुनै आयोगको सदस्य त पक्का । यत्रोविदि नियुक्ति हुँदा आफ्नो नाउँ नपर्दा कति चित्त दुख्यो होला । कसरी पर्नु तिम्रो नाम–कुनै ठूला नेतासँग तिम्रो नाता पर्दैन । माधव नेपाल यतिबेला सत्ताको हर्ताकर्ता–उनका बैनीज्वाइँ परे केको अनौठा । अनि पम्फा भूसाल मात्रै के कम उनले आफ्नी बैनीज्वाइँलाई राजदूत बनाइन् । अनि प्रधानमन्त्रीले आफ्नो पुरानो संगतकीलाई राजदूत बनाए–यो पनि राम्रै भागवण्डा हो । मेरा एकजना मित्र चुनाव आचारसंहिता लागेपछि घरमा अलापबिलाप गर्दै थिए । यसअघि उनैका श्रीमानले राजदूत पदको राम्रै स्वाद चाखिसकेका थिए । अर्की भाग्यमान महिला–वैदेशिक रोजगारीको पेशा अँगाल्दा अँगाल्दै तेस्रोपल्ट राजदूत बनिन् । अरुको के कुरा गर्नु कम्रेड प्रचण्डले ज्यूज्यान दिएर क्रान्तिमा होमिएका अरु नेता छाडेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्यमा पु¥याए । हातमा डाडूपन्यू भएको बेलामा पनि आफ्नालाई जुरुक्क उचालेर उपल्लो ओहदामा पु¥याउन नसके घर परिवारले लात्ती र नामर्दको बिल्ला भिराउन बेर मान्दैनन् ।
कसैले आफ्ना भनेपछि अयोग्य नै भए पनि टुपीमा समातेर माथि पु¥याउँछन्, अनि कुनै योग्य नै छ भने पनि खुट्टा तानेर जमिनमा पछार्दछन् । त्यति पनि गर्न नसके केको नेता । चुनावको आचारसंहिता भोलि लागू हुन्छ है भनेर निर्वाचन आयोगले मन्त्रीको कानमा खुसुक्क भन्न नपाउँदै मन्त्रिपरिषद्को बैठक बस्यो–त्यो पनि चार चार घण्टा । त्यतिबेर नै ऐरेगैरे नत्थु खैरेहरूको नाममा धमाधम ठप्पो लगाइयो । कसै कसैले राजदूत हुने क्राइटेरिया नपुगेका पनि सिफारिसमा परे भनेर गुनासो गर्छन् । आफ्नो भागमा नपरेपछि गुनासो गर्नु कुन अनौठो भयो र ?। चार घण्टाको बीचमा एकसय भन्दा बढी भाग्यमानीको नाम सिफारिस भयो र कतिको नियुक्ति पनि भयो । संसदीय समितिले अनुमोदन गर्नु बाँकी छ–त्यसको पनि चिन्ता नगरौं । सरकारले ज–जसको नाम सिफारिस गरेको छ–ती सबै अनुमोदन । यसअघि कसैको नाम सिफारिस नभएको छ र ?। संसदीय समिति हात्तीको देखाउने दाँत न हो–सबैको नाम पुराका पुरा स्वीकृत भएर निस्कने छ । यो सराद्धे गरे जस्तै परम्परा धान्ने हो । जसोजसो पुरेतबाजे उसैउसै स्वाहा…सरकारको चित्त दुखाउने काम किन गर्ने ?। कूटनीतिक क्षमता भएको होस् वा नभए नहोस्–विदेशमा गएर पार्टी र भोज भतेरमा रम्न पाए पुगिहाल्यो । जसले ठूलो पद पाए ती सबै ठूलाबडासँग नाता लागेका छन् ।


बाबुको पथ डो¥याउँदै

गणेशमानलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । तर उनले त्यो पद कृष्णप्रसाद भट्टराईलाई सारिदिए–सबैतिर हाईहाई भयो । तर चुनावको बेला आएपछि श्रीमती र छोरो दुवैलाई काठमाडौंबाट संसदका लागि उम्मेदवार बनाइयो । जनताले भने यो कति लोभ गरेको । त्यागी गणेशमानका घरका लोभी दुवैजना हारे । हाम्रा प्रकाशमान सिंहले त्यो सम्झेनन् कि कसो ? यसपल्ट काठमाडौं महानगरको मेयरमा श्रीमतीलाई अघि सारे । हिजोसम्म सिर्जनासिंह को भनेर नाम नसुनेका काठमाडौंबासीले प्रकाशमानकी धर्मपत्नी भनेर चिने । भरखरै चिनेको मान्छेलाई भोट हाल्लान् त ?
अलि फर्केर हेरौं–नेपाली कांग्रेस सभापति पदको दोस्रो चरणमा केही दिन अघिसम्म मुखभरी गाली गर्दै आएका देउवालाई सहयोग गरे । त्यो सहोग किन गरे भनेको कुरा बल्ल खुल्यो । म तिमीलाई सहयोग गर्छु तिमीले मेरी श्रीमतीलाई काठमाडौंको मेयरमा उठाउनु पर्छ । लाभको लागि आपसी शेयर गरिएको रहेछ भन्ने बल्ल मतदाताले बुझे । कसैको आशीर्वादले पद पाइँदैन, जनताको भोट चाहिन्छ । अहिले देउवाको आशीर्वाद पाइयो–चुनावको बेलामा जनताको माया पाइन्छ पाइँदैन । ललितपुरका मतदाता सत्यमोहन जोशीको आशीर्वाद माग्न अस्पताल पुगेकी सिर्जनालाई आशीर्वाद त मिल्यो । तर भन्छन् प्रकाशमानले पनि पुज्यपिताजीकै पदचरणको अनुशरण गरे । कसो एउटा छोरालाई वडा अध्यक्षमा उठाएनन् । जे होस्–छोरो भनेको बाबुकै पदचिन्हमा हिँड्नु पर्ने हो–प्रकाशमान काजीले त्यसलाई कायम राखे ।


चमत्कारी चलखेल

हिजोसम्म हामी एक्लै चुनाव लड्छौं, कसैको साथ चाहिँदैन भनेर कुर्लने नेताहरू राप्रपाका कमल थापा र परिवार दलका एकनाथको टेको खोज्दै हिँड्नु भयो । नेकपा एमाले अब बिस्तारै बहुरंगी रूपमा देखापर्न थाल्यो । राप्रपाको बलियो खेमा राजेन्द्र लिङ्देनलाई साथ लिन खोजेको हो–उसले भाग ठूलो खोज्यो, चुनाव चिन्ह सूर्यलाई मानेन भनेर अड्को पड्को तेलको धूप खोज्दै झिनामसिना पार्टीको आड खोज्न पुग्यो एमाले । एकताका नपुंसक संस्कारको एमाले भन्ने गरिन्थ्यो, यतिखेर अर्धनारीश्वर बन्न पुगेको छ । एकातिर हिन्दूराष्ट्रको वकालत गर्दै हिँडेको, भित्रभित्रै ज्ञानेन्द्र बाहेकको राजतन्त्रको पक्षमा रहेको कमल थापा ग्रुप र अर्कोतिर धेरैभन्दा धेरै नेपालीलाई होली वाइन खुवाएर क्रिश्चियन बनाउँदै हिँडेका एकजनासँग एमालेको के मोह भएर चुनावमा मिलेर जान लागेको हँ ।
एमालेलाई आफ्ना पुराना कार्यकर्तामाथि विश्वास नभएर नयाँनयाँ उम्मेदवार बटुल्न थालेको छ । अर्को पार्टीबाट चोरेर भित्र्याइएकाहरू यतिखेर मेयर र उपमेयरको पद सुशोभित गराउन उम्मेदवारी दिइँदैछ । लाग्दछ–कार्यकर्तालाई चित्त बुझेको छैन तर बोलबोल मछली मुखभरी पानीझैं ओलीको अगाडि कसैको बोली फुट्दैन । अनि जसोजसो परेतबाजे उसैउसै स्वाहा–अनि जंगेले बोलेपछि बोल्योबोल्यो–ओलीले बोलेपछि न मान्ने को ? हिन्दू र क्रिश्चियन मिसाएर एमालेलाई खिचडी धार्मिक स्वतन्त्रतामा लैजाने भयो एमालेले ।


देब्रे हात चिलायो

यतिखेर मन्त्रीज्यूहरूको देब्रेहात मात्रै चिलाउन थालेको छ–अर्थात नोक्सानको दिन आएको छ । दाहिने चिलाए लाभ देब्रे चिलाए हानी भन्ने चलन छ । निर्वाचन आयोगले छुस्स केही हुन दिँदैन–पष्टिकरणका पर्रा छुटाइहाल्छ । यसो अधकल्चो नै भए पनि योजनाहरूको उद्घाटन गर्न हात सकसकाइरहेको छ । प्रधानमन्त्रीलाई मेलम्चीको उद्घाटन दोस्रोपल्ट गर्ने खुबै रहर थियो । ओली प्रधानमन्त्री हुँदा भित्तामा ताम्रपत्र टाँस्ने रहरले योजना पूरा नहुँदै उद्घाटन गरेका थिए–अधकल्चो काम गर्ने भनेर ओलीको नामको ताम्रपत्र असार १ गतेको भेलले कता पु¥यायो कता ? अहिले पनि काम पूरा भएको त कहाँ हो र ? तैपनि उद्घाटन गर्ने रहर पु¥याउन देउवा मेलम्ची यात्रामा जान तमतयार भएर बसेका थिए । निर्वाचन आयोगले बच्चेर कसरी गर्छौं उद्घाटन भनेर डण्डा बजा¥यो । अनि तैं चूप मैं चूप गरेर प्रधानमन्त्री मेलम्ची गएनन् । काठमाडौंबासीलाई चिन्ता–उद्घाटन नगरेको मेलम्चीको पानी धारामा आउँदैन कि ? उद्घाटन नगरे पनि सुरुङ्भित्र पानी बग्न थालेको छ–बगेको पानी कहिले आइपुग्ने हो काठमाडौंका धाराहरूमा ।
प्रधानमन्त्री त प्रधान नै भए, उनले रहर गर्नु अनौठो भएन । तर अरु मन्त्रीहरू संघीय हुन् कि प्रादेशिक सबैको हात चिलाएको छ–उद्घाटन गर्न । उद्घाटनको स्वाद नै अर्को–रिवन काटेको होस् ढाकेको कपडा तानेको होस्–पत्रपत्रिकादेखि रेडियो र टेलिभिजनमा भव्य प्रचार हुने । यता प्रचार अर्कोतिर उद्घाटनको खुसीयालीमा भव्य भोजको आयोजना हुने । लूटको धन फुपूको सराद्धे भनेझैं योजनाकै खर्चमा ब्ल्याक लेबुलदेखि सिवाज रिगलसम्मको चुस्की लगाउन पाइयो । हैसियत बिनाका भए पनि पत्रकार नामधारी आफन्तलाई बाक्लो खाम दिन आदेश गर्ने । यतिखेर नै निर्वाचन किन गर्नु परेको होला–अलि पछि गरेको भए अधकल्चा योजनाहरू धमाधम उद्घाटन गर्न पाइन्थ्यो । आपूmले थालेको हो र पूर्व प्रधानमन्त्रीदेखि शुरु भएको । जसोजसो पुरेत बाजे उसैउसै स्वाहा न हो–ठूलामन्त्रीले जे गरे साना मन्त्रीले नक्कल गर्ने ।


अन्त्यमा–
गठबन्धन सरकारलाई पुष्प कमल दाहालले शेरबहादुर देउवा, माधव नेपाल आदिलाई थाङ्नामा सुताउने पक्का छ ।