ठूलाबडाले ठूलाबडाकै हित हेर्छ–१५ प्रतिशतको मोल बस्यो..

यताउताका कुरा

भनिन्छ सानालाई ऐन ठूलालाई चैन–अर्थमन्त्रीले २०७९।८० को लागि प्रस्तुत गरेको बजेटले आखिर ठूलाबडाकै हित हेरेको देखिन्छ । सम्पन्नलाई खातैखात विपन्नको पुर्पुरोमा हात । अर्थमन्त्रीले सोलोडोलो कर्मचारीको तलब बृद्धि गरे–सबैलाई १५ प्रतिशतका दरले । अब हिसाब गर्नोस्–पहिले तलब हुनेको लागि तलबको रकम ह्वात्तै बढ्ने भयो । तर सहयोगीको भागमा सानो चोक्टो । भनिन्छ जता गहिरो उतै पानी–बढी तलब हुनेको भागमा थपिने तलब पनि धेरै मात्रमा बढ्ने । ६० हजारभन्दा बढी तलब खानेको भागमा बढ तलब १० हजारभन्दा बढी अनि २० हजार खानेलाई तीन हजार । यसैलाई भन्छन्–न्यायपूर्ण वितरण । त्यसो त साधारण जागिरेलाई बढी तलब दिएर के गर्नु–एक त उसमा खर्च गर्ने क्षमता हुँदैन, अर्को कुरा आयकर तिर्ने झन्झट किन लगाउनु भनेर पनि हुन सक्छ । हाम्रा अर्थमन्त्री वितरणको न्यायपूर्ण आधार अर्थात सबैको समान अवसर हुनुपर्छ भन्ने कुराको स्कूलिङबाट आएका । तर भनाइ र गराईमा ठूलै अन्तर हुन्छ भन्ने कुराको हेक्का राख्नु पर्दछ । जे होस्–समानता त भएकै हो नि–सबैलाई १५ प्रतिशतले वृद्धि । जवाफ सजिलो छ–समानतामा आधारित सामाजिक न्याय हुनुपर्छ–असमान वितरण प्रणाली पुँजीवादी सिद्धान्त हो । फरक प्रतिशतमा बढाएर कसरी सामाजिक न्यायको जगेर्ना गर्न सकिन्छ र ?
सरकार भनेको सरकार नै हो–त्यसको अगुवाई गर्ने मन्त्रीहरू मात्र के कम । टकाशेर भाजी टकाशेर खाजालाई कार्यान्वयन गर्दै लगेका छन् अर्थमन्त्रीले । प्रतिशत पन्ध्र भए पनि हात पर्दा थोरै हुने हुनाले कसैकसैले विरोध गर्न सक्छन् तर सरकार यति बलियो छ–बोल्नेको मुख बुझो लगाइदिन्छन्–आखिर समान वितरण गरेको छु । बोल्नेको मुख थुन्न सकिँदैन–काग कराउँदै छ पिना सुक्दैछ भने चूपचाप । सदनमा आइसकेपछि त्यो त सदनको सम्पत्ति हो–जसो गर्छ सदनले नै गर्छ । जसोजसो परेतबाजे उसैउसै स्वाहा जसोजसो सरकार त्यसैत्यसै सदन । गर्न न माथिल्लो र तल्लो ओहदाको लागि फरक फरक प्रतिशतको अंश लगाउन सकिन्थ्यो–त्यसो गर्दा उपल्लो तहका कर्मचारी रिसाउने । अनि त्यस्ताबाट सरकार सञ्चालनमा सहयोग नपाइने डरले पनि ठूलालाई धेरै सानालाई थोरै भाग लगाएको छ । प्रशासनिक दृष्टिले भन्दा तलब मानमा ठूलो फरक राख्नु हुँदैन–त्यउस्ता पुस्तकका भण्टा खान हुन्न भन्नेमा कसले वास्ता गरोस् । आँ…ठूलो मुख बाहेर बसेका साना कर्मचारीका लागि तलब वृद्धिको कुरा हिस्स बुढी हरियो दाँत ।


अध्यक्षहरू थर्कमान

वडाको चुनावमा अध्यक्ष पदमा चुनिनेहरू त्यतिबेला हर्कमान भएका थिए, विजय जुलुसमा कोभन्दा को क मभनेर गलाभरि माला र गालाभरि अबिर दलेर खुबै ताउरमाउर देखाउँदै हिँडेका थिए । यसअघि चुनाव जितेपछि फोहोर उठाउनेहरूसँग साझेदारी गरेर हुन्छ कि इटा छोप्नेसँग प्रतिशत लिए हुन्छ, राम्रै व्यवस्था गरेका थिए । महिनौं दिनसम्म फोहोर नउठे पनि वास्तै नगरेर बसेकाहरूको कान बालेनले र उसले नभ्याए नयाँ पुस्ताले समाउने भएपछि थाल खाउँ न भात खाउँको अवस्था थेग्नेमा परेका छन् । पारदर्शी बैठक गर्ने भएपछि कतै पार्टीको नाममा मेयरलाई धम्क्याउन थाले भने बाहिर के भनेर मुख देखाउने हो । त्यसो त खानेमुखलाई जुँगाले छेक्दैन भनेझैं वडामा आएको रकम भागशान्ति जय नेपाल गरेर चपाउन बेर छैन । तर अगुवाले बदमासी गरेन भने पछि लाग्ने लाजगाल खाने कामबाट पछि हट्थे कि ? निहुँ पारेर सम्पत्ति जोर्नमा नेताहरूलाई कसले भेट्ने त्यही परम्परा वडा नेताहरूले पनि धान्ने गरेका थिए ।
यसपल्टको स्थानीय तहको निर्वाचनले सबैलाई होसियार बनाएको छ । कतै रकम कलम गोलमाल गरेको थाहा पाए नयाँ पुस्ता झम्टिन आइपुगिहाल्छन् कि भन्ने कत्रो डर । कसैले समातेर कालोमोसो दल्न थाले भने कुनै नेता आएर जगाउने ढाँचा छैन । यसो त जति जोगी आए कानै चिरिएका झैं काम गर्दागर्दै अहिले चोखा भनिएका जनप्रतिनिधि चास्नीमा औंला चोप्न पुग्ने हुन् कि ?। पैसा देखे पनि महादेवका तीननेत्र–हाल यसले भए नगरको रुपै फेरिदिन्छ भनेर भोट हालेकाहरू यताउता हेरेर गोजीमा रकम घुसारी हाल्छन् कि भन्ने डर । पञ्चायत सकिए पनि सत्तामा पुगेका नेताहरूलाई कार्यकर्ता पाल्नै पर्ने दायित्व आइप¥यो, आफ्नो तलबको भरमा पाल्न नसकिने । अनि सचिवहरूसँग अक्कल सिकेर कार्यकर्ता पालेका थिए । यतिखेर चरित्र बिगार्न हुन्न भन्ने वडा अध्यक्षहरू थर्कमान छन्–भविष्यको कुरा कसले जान्ने ।


तिमी यता आऊ

नेपाली नेताहरूलाई पार्टी प्रवेश गराउने विशेष सोख छ । त्यसै हो पार्टीको नीतिको न र सिद्धान्तको स नजानेकालाई पनि नेताहरू क्वीन्टलको माला लगाइदिएर आफ्नो पार्टीमा प्रवेश गराउँछन् । प्रवेश गर्न नपाउँदै मेयरको उम्मेदवार बनाउँछन् । उम्मेदवार त बन्छन् तर पुरानाको मुटुमा चस्स काँडो बिज्छ र नवागन्तुकलाई अन्तर्घात गुलेलीको निशाना बनाइदिन्छन् । हेर्दा सोझा नेताहरू भित्रभित्रै आफ्नो शत्रु पक्षका उम्मेदवारको पक्षमा देखाएर भाषण गर्ने भित्रभित्रै कन्दी काट्ने काम गर्छन् । खाने दाँत र देखाउने दाँत फरक फरक भएका नेताले धेरैलाई पाखाको माछा बनाइदिए । पोखरा होस् कि भरतपुर–यस्तै यस्तै खेलाडीले आफ्नै पार्टीका उम्मेदवारलाई पानी पिलाइदिए । कसैको पक्षमा अन्तर्घात भएन भने ती हुन् स्वतन्त्र उम्मेदवार । अनि भित्रभित्रै पत्तासाफ गर्ने नभएकैले ठूलै सहरमा स्वतन्त्रको डङ्का बज्यो । धरानदेखि शुरु भएर जनकपुर, काठमाडौं, धनगढीसम्म स्वतन्त्र उम्मेदवारको चर्को स्वर सुनियो । अब के गर्लान् त स्वतन्त्रको रूपमा चुनाव लडेर मेयर बनेका भाग्यमानीहरू । उनीहरू के सोच्दै छन् थाहा छैन तर पार्टीका अगुवाहरू भने आफ्नो पार्टीमा तान्न सकिन्छ कि भनेर माथापच्चीसी गर्न थालेका छन् ।
काठमाडौंका बालेनलाई कम्रेड केपी ओलीले आशीर्वाद दिए–सफल हुनु । भनेको के भने मेरो पार्टीमा आउने हो भने सजिलैसँग काम गर्न दिनेछौं । नत्र–नत्र के ? सिसडोल र बञ्चरेडाँडाका कार्यकर्तालाई उचालेर फोहर फाल्न नदिने । एक्लो वृहस्पति झुटा भनेझैं बालेन असफल भनेर डङ्का पिटाउने । बनिबनाउ सामान घरमा भित्र्याउन पाए झण्झट पार–कसले खर्च गरी गरी आफ्नो बनाओस्–त्यसैले भित्रभित्रै पार्टी प्रवेश गराउने दाउमा थिए–कम्रेड ओली । तर आपूm ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो चरितार्थ गर्दै फोटोसहितको खबर बाहिर आयो । लाग्यो होला–अरुले तान्नु अगाडि आपूmले तान्न पाए काम तमाम । तर उल्टै असर पर्ने कुरामा ध्यानै पुगेन । त्यसो त बालेनको बुद्धिमा आफ्नो अनुभव मिसाएर उपत्यकालाई सबभन्दा जगमगाउँदो बनाउने धूनमा रहेका चिरीबाबु पनि बालेनलाई पार्टी प्रवेश गराउने सपना देख्दै छन् । अनि भक्तपुरे पार्टी उनले भक्तपुर भ्रमण गरे–अब हाम्रैमा आउँछन् भनेर नाक फुलाएका देखिन्छन् । यता ग¥यो उतै ग¥यो भातको खड्कुलो आफैंतिर तान्ने न हो । तर अहिलेसम्म अरुको नारी छाम्दै हिँडेका बालेन आफ्नो भेउ कसैलाई दिएका छैनन् । सबैले भन्छन् तिमीयता आऊ तर उन ीभने सुनेको नसुन्यै गरेर अगाडि बढ्दै छन् ।


को खान्छ प्रधानमन्त्री पद

हारेर छटपटाएको एमाले सुनको लोभ देखाएर आफ्नो आहारा बनाउने शिकार खोज्दै छ । कतै प्रधानमन्त्रीको लोभमा अरु पार्टी टाँसिन आए भने कांग्रेसको नेतृत्वको गठबन्धन तोड्न सकिन्छ कि भन्ने दाउमा छ । मुखमा रामराम बगलीमा छुरा लिएको एमाले बाहिर बाहिर हामीले कसैलाई प्रधानमन्त्री बनाउनेतिर छैनौं भन्छ–साँझ रातमा विश्वासिला र गोपनीयता राख्न सक्ने नेता पठाएर कहिले बालकोटको त कहिले खुमलारको यात्रामा दाऊ हेर्दैछन्–कसैले सोधिहाले हामीलाई गठबन्धन भत्काउने कुनै रहर छैन–हामी आफ्नै तागतमा चुनाव लड्न सक्छौं भन्दछन् । कतै प्रचण्ड कम्रेड प्रधानमन्त्रीको लोभमा दौडेर बालकोट आइहाल्छन् कि भन्ने आश गर्नु अनौठो होइन । आपूmलाई क्वीन्टल अरुलाई किलो बनाउने कम्रेड ओली अब अरुलाई आपूmसँग टाँसेर क्वीन्टल बनने फिराकमा छन् ।
प्रचण्ड र माधव कम्रेडले कतै छोरी कुटेर बुहारी तर्साउने काम गरेका त होइनन् ? यता एमालेले बोलायो भनेर कांग्रेसलाई “हामीले भने जति सिटमा उम्मेदवार उठाउन दिन्छौं कि वाम एकता वा वाम गठबन्धन बनाएर साइजमा ल्याइदिन्छौं” भनेर बार्गेनिङ गर्न थालेका हुन् । अहिलेदेखि कांग्रेसलाई दम्भ ग¥यौ भने एमालेको साइजमा ल्याइदिन्छौं भनेर प्रचण्ड कम्रेडले घुक्र्याएको कुरालाई कसरी लिने । तर एमाले भने नदी किनारमा तपस्या गरेर बसेको र हातमा सुनको बाला लिएर अरुलाई लोभ्याउन बसेको बाघले लोभी बाहुन फासाएझैं फसाउन सकिन्छ कि भनी दाउ हेर्नु एमालेका लागि कुन अनौठो भयो र ?


अन्त्यमा–
संघीय र प्रदेश निर्वाचनमा कसरी अड्ने भन्ने कांग्रेसको चिन्ता र कसरी बढ्ने भन्ने एमालेको चिन्ताबीच कसले दौड जित्ला ?