काठमाडौं । नेपालीमा एउटा उखान छ ‘मच्चियो मच्चियो थच्चियो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत पनि त्यही स्थितिमा पुग्ने देखिएको छ । उनी दुई पटक प्रधानमन्त्री भए । उनलाई १२ बुँदे सहमतिबाट यहाँसम्म ल्याउने काम गरेको नेपाली कांग्रेससँग उनी निरन्तर बार्गेनिङ गरिरहेका छन् । पहिले गिरिजाप्रसाद कोइरालाले आफू देशको पहिलो राष्ट्रपति हुने लोभले माओवादीले सशस्त्र द्धन्द्धमा रहेका बेलामा जे बार्गेनिङ गर्छ त्यही पूरा गरे । त्यसपछि पनि माओवादीका माग पूरा गरे । तर उनलाई राष्ट्रपति बन्नबाट तिनै प्रचण्डले रोके । जसका कारण उनी एक वर्षभित्रै प्रधानमन्त्रीबाट चिप्ले । २०७४ को चुनावमा पनि उनले कांग्रेसलाई धोका दिए । जसका कारण माओवादी एमालेबाट धोका खान पुग्यो । प्रचण्ड फेरि प्रधानमन्त्री हुन पाएनन् ।
अहिले आएर फेरि कांग्रेससँग उनले बार्गेनिङ गरिरहेका छन् । उनीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेससँग बार्गेनिङ पावर बढाउने सहमति गरेका छन् । माओवादी एक्लैले संघको निर्वाचनमा कम्तीमा ७५ सीट माग्ने तयारी गरेपछि समाजवादीका अध्यक्ष नेपालले पनि ४० सीट माग्ने गरी बार्गेनिङको तयारी गरेका हुन् । माओवादीले ७५ सिटलाई जोड गर्दै कांग्रेससँग गठबन्धन गर्दा राष्ट्रपति र सभामुख ग्यारेण्टी गर्ने र शुरुको प्रधानमन्त्री प्रचण्ड बन्ने गरी गठबन्धन गर्ने सर्कुलर गरेको छ । ‘राष्ट्रपति, सभामुख, र आधा आधा कार्यकाल विभाजन गर्दा शुरुको प्रधानमन्त्री प्रचण्डको नाममा लिखित कागज गरेर मात्रै गठबन्धन गर्ने माओवादीको नीति छ’, माओवादीका एक स्थायी समिति सदस्यले भने ।
खासगरी भारत भ्रमणबाट फर्के लगत्तै प्रचण्डले केन्द्रीय सदस्यहरुलाई दिएको टास्क अनुसार कांग्रेससँग ७० सीट आफ्नो भागमा लिने ती क्षेत्रहरु निर्धारण पठाउनु पर्नेछ । माओवादीले ७५ सीट, राष्ट्रपति, सभामुख र आधा कार्यकालका लागि शुरुको प्रधानमन्त्री मागेपछि कांग्रेस चाहिँ माओवादीलाई सत्तामा पु¥याउन भ¥याङ मात्रै भएको टिप्पणी गर्न थालिएको छ । माओवादीले एमालेलाई देखाएर कांग्रेससँगको बार्गेनिङ तह बढाइरहेको छ । ‘कांग्रेस केन्द्रीय समितिको निर्णयपछि माओवादीलाई बार्गेनिङ गर्ने आधार बढेको बताइएको छ । स्थानीय तहको निर्वाचमा कांग्रेसकै वैशाखी टेकेर तेस्रो ठूलो दल बन्न सफल भएको माओवादी यतिबेला एमालेभन्दा ठूलो शक्तिका रुपमा उदाउन पनि कांग्रेससँगको सीट बाँडफाँडमा बढी नै लफडा गर्ने स्रोतको दाबी छ ।
२०७४ मा पनि कांग्रेससँग ४० प्रतिशत सीट दाबी गरेको माओवादीले यसपल्ट पनि कांग्रेसलाई गलाएर बढी सीट लिने दाउमा लागेको छ । माओवादीले सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्र बनाउन माधव नेपालले प्रस्ताव गरेका छन् । पाँचदलीय गठबन्धनभित्र रहेका कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँड गर्ने उनीहरूको योजना रहे पनि माओवादी एक्लैले धेरै सीट बार्गेनिङ गर्ने नीति लिइरहेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी केन्द्र निर्माणको गृहकार्य थाले पनि माधव नेपालले पनि ४० सीटको दाबी गरेपछि त्यहाँभित्र पनि समस्या उत्पन्न भएको छ । ‘कांग्रेसको जनमतमा सबैले आँखा लगाएका छन्’, एस पार्टीका एक नेताले भने । तीन पार्टीबीच एकताको प्रयास गर्ने र तत्काल एकता सम्भव नभए एकता वा तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भएको छर । एमाले बाहेकको वाम गठबन्धनको प्रयास गर्ने र कांग्रेससँगको गठबन्धनलाई पनि कायमै राख्ने नेताहरूको योजना छर । सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्रले निर्वाचन जित्ने र जिताउन सक्ने क्षेत्रको अध्ययन गर्ने तयारी भएको भए पनि समाजवादी एक्लैले एक सिट पनि जित्न सक्ने अवस्था नदेखिएकाले विवरण संकलन गर्ने काम भैरहेको छ ।
ती नेताका अनुसार कांग्रेससँग सबै मिलेर जतिसक्दो बढी सिट माग्ने र कांग्रेससँग सत्ता समीकरण गर्न सत्ताको साँचो बोक्ने दाउमा रहेको छन् । प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियानका संयोजक वामदेव गौतमबीच समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएसँगै कांग्रेससँगको सिट बाँडफाँडबारे पनि छलफल भएको थियो ।
अचम्म त के भने माधव नेपाल पनि आफूलाई ४० सीट चाहिन्छ भनिरहेका छन् । गठबन्धन बिना चुनाव लड्ने हो भने नेपालले पनि नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि जित्ने देखिँदैन । संघको प्रत्यक्षतर्फ जम्मा एक सय ६५ सीटमध्ये माओवादी र नेकपा एसले नै एक सय १५ सिट मागिसकेका छन् । जसपाले पनि २०–२२ सिट माग्ने होला । अनि जनमोर्चालाई पनि ४–५ सिट दिनुपर्ने होला । बचेको २०–२५ सिटका लागि कांग्रेसले पो गठबन्धन गर्ला त ? कांग्रेस २०४८ सालको निर्वाचनमा प्रायः पहिलो पार्टी बन्यो । पराजित हुँदा पनि दोस्रो पार्टी बन्दै आएको छ । तर अहिले आएर प्रचण्डको अहम् र माधवकुमार नेपालले आफूले पनि प्रधानमन्त्री हुन पाउनुपर्नेमा जोड दिएका छन् । बार्गेनिङ गर्ने क्रममा उनले आफूलाई प्रधानमन्त्री बन्न दबाब आएकोसमेत बताउँदै आएका छन् । सबैलाई कुर्सी चाहिएको छ । तर यदि यो गठबन्धन नै तोडियो भने प्रचण्ड र माधवको हालत के होला भन्ने प्रश्न उब्जिएको छ ।