नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति चीन सजग

Home Feature

चिनियाँ सभामुख आउँदै


काठमाडौं । नेपाली राजनीतिमा एउटा अचम्मको प्रवृत्ति बसेको छ विदेशीको इशारामा चल्ने । कोही सत्ताका लागि विदेशीसँग लम्पसार पर्छन् भने कोही त्यही सत्ताको भ¥याङ बनाउन । भारत लोकतान्त्रिक शक्तिसँग हिमचिम हुन खोज्छ भने चीन कम्युनिष्ट दलहरुसँग । चीन र नेपालका कम्युनिष्ट नेताहरुको ‘भेष्टेड इन्ट्रेष्ट’ मिल्छ । त्यसैले त चीनकै इच्छामा नेपालका कम्युनिष्ट पार्टीहरु मिल्छन् । २०७४ सालमा एमाले–माओवादी मिलेजस्तै अहिले फेरि सबै वामलाई मिलाउने योजनामा चीन छ । त्यसैले त चिनियाँ विदेशमन्त्री नेपाल आएको चारमहिना पनि नबित्दै चिनियाँ सभामुख तीनदिने भ्रमणमा आउने तयारीमा छन् ।
नेपालमा अमेरिकी उच्च अधिकारीहरुको बाक्लो ओहोरदोहोर चलिरहेका बोला चिनियाँ राष्ट्रिय जनकँग्रेस स्थायी समितिका अध्यक्ष (सभामुख) लि चान्सु नेपाल भ्रमणमा आउन लागेको स्रोतको भनाई छ । ‘चिनियाँ बरियतामा राष्ट्रपतिपछि दोस्रो नम्बरमा रहेका सभामुख लि चान्सुको भ्रमण गराउन दुवै देशका नेताहरु सक्रिय रहेका छन्’, स्रोतले भन्यो । दुई महिनापछि हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैछ । लिको भ्रमणका क्रममा उनले नेपालको सपनाका रुपमा रहेको चिनियाँ रेल ल्याउने योजनालाई द्रूतगतिमा अघि बढाउन महत्वपूर्ण घोषणा गर्नसक्ने स्रोतको दाबी छ ।
अहिले कम्युनिष्ट नेता प्रकाण्ड चीन भ्रमणमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु चीन भ्रमणमा जाने गरेको अवस्थामा अहिले चिनियाँहरु नेपाल भ्रमणका लागि लालायीत छन् । नेपालमा कम्युनिष्ट गठबन्धनमा सघाउन पनि चिनियाँहरु नेपाल आउन लागेको कतिपयको बुझाइ छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काको गत महिना छिन्ताओमा सम्पन्न मन्त्रीस्तरीय वार्तामा चिनियाँ पक्षले यसबारे सामान्य संकेत दिएको थियो । यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला तत्कालीन समकक्षी वेन जियावाओ आठ घण्टाका लागि नेपाल आएका थिए । परराष्ट्रमन्त्री खड्का साउनमा मित्रराष्ट्र चीनको तीन दिने भ्रमणमा गएका थिए । गत मार्चमा नेपाल भ्रमणका क्रममा चीनका विदेश मन्त्री वाङ यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए । त्यही क्रममा उनी चीन भ्रमाणमा गएका थिए । गत वर्ष असारमा नयाँ सरकार बनेपछि नेपालको तर्फबाट चीनमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । चीनको तर्फबाट विदेशमन्त्री यी, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान चाओ लगायतको उच्चस्तरीय भ्रमण भइसकेको छ । त्यस्तै पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपालमा भ्रमण गरिरहेको अवस्थामा चीनले त्यसलाई चासोका साथ हेर्दै आएको छ । अमेरिकी परियोजनाहरु अगाडि बढ्दा चीनको बीआरआई परियोजना अगाडि बढ्न नसक्नु चीनको मुख्य चासो रहँदै आएको छ । चिनियाँ सभामुखको भ्रमणमा पनि यो विषयले प्रवेश पाउने बताइएको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनका लागि चिनियाँले प्रयास गरेको भए पनि सफल हुन सकेको थिएन । यसपालिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एकता गराएरै छाड्ने दृढता चीनमा देखिएको बताइन्छ । त्यसकै संकेत नेताहरुले दिइरहेका छन् । प्रचण्ड र माधव नेपालको नामै सुन्न नचाहने केपी ओलीले साँच्चैको एकताका लागि शनिबार सबै वाम दलहरुलाई आह्वानसमेत गरिसकेका छन् । एमालेसँग एकताका लागि प्रचण्ड (नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) र माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादीका अध्यक्ष) बीच पनि एकता हुने भएको छ । त्यसो गर्दा सशक्तता बढ्ने अनुमान गरिएको छ । चीनको इच्छाका अगाडि नेपालका कम्युनिष्ट नेताहरुको केही सीप लाग्दैन । सम्भवतः कम्युनिष्टहरु मिलेर अगाडि बढ्ने लक्ष्यमा हुन सक्छन् ।