काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्पष्ट लाइन खुल्दै गएको छ । पूर्वराजाले जनताको हितमा ध्यानमा राखेर काम गर्नुपर्ने संकेत गर्दै दलहरुलाई सच्चिन आग्रह गरिएको छ । ‘कि सच्चिनू नत्र सक्किन तयार हुनू’ भन्ने सन्देश पूर्वराजाबाट दिइएको हो । पूर्वराजाबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यधारणालाई अनुशरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताइएको हो । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहबाट पृथ्वीनारायणलाई गौरवशाली व्यक्तिको रूपमा स्मरण गर्नु पर्नेमा पनि जोड दिइएको छ । ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरवशाली व्यक्तित्व मान्दछौँ’, शाहको शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौँ, त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई ।’
शुभकामना सन्देशमा अगाडि भनिएको छ, ‘राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो, सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन्, हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो ।’ ‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ’, पूर्वराजाको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा
दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ ।’पूर्वराजा हालका दिनमा भैरहवामा रहेको अवस्था छ । पूर्वराजा भैरहवाबाट वीरगञ्जमा रहेर काठमाडौँ फर्कने कार्यक्रम छ । सोही क्रममा विभिन्न स्थानमा नागरिकका तर्फबाट पूर्वराजाको अभिनन्दन पनि भइरहेको छ । यही अभिनन्दनका कारण राम्रो काम नगरेका नेताहरुलाई छट्पटि भइरहेको छ । जता जाँदा पनि ‘राजा आउ देश बचाउ’ को नारा गुन्जिरहेको छ ।