‘सतिले सरापेको देश’ मा अनेक प्रपञ्च

Home Feature

अहिले कुलमान घिसिङ चर्चामा छन् । उनको चर्चा हुनुको कारण हो उनले गरेको काम र आम नेपाली नागरिकलाई उनको कामले पु¥याएको सुविधा । एक समय कमिशनखोरहरुको चंगुलमा रहेको राजनीतिक दल, त्यसका नेताले कामलाई भन्दा पनि उपरीरुपमा प्राप्त हुने पैसालाई धेरै महत्व दिँदै आएका थिए । त्यसैले जलस्रोतको अथाह भण्डार भए पनि, ८० हजार मेगावाट विद्युुत उत्पादन क्षमता जलमा छ भनिए पनि त्यो रुपमा काम हुन सकिएको थिएन । त्यतातिर कसैले ध्यान पनि दिएका थिएनन् । उत्पादन भएको बिजुलीले नेपालभरिलाई
वितरण गर्न सकिने अवस्था रहे पनि लोडसेडिङ गरेर आम नागरिकलाई दुःख दिने काम तत्कालीन सरकार र त्यसबखतका राजनीतिक दलहरुले गर्दै आएका थिए । र, हुन्छ हुन्छ भन्दै चाकरी चाप्लुसी गरेर नेताहरुको तलुवा मल्दै आएका थिए विद्युत प्राधिकरणका ठूलाबडा भनाउँदाहरु ।
तिनले बिजुृलीको व्यवस्थापनमा थोरै मात्रै पनि ध्यान दिएको भए लोडसेडिङको कालो अँध्यारोमा नेपालीले बस्नै पर्दैनथ्यो । तर त्यसो गर्ने कसैले सोचेनन् । न सम्बन्धित मन्त्रीले न त राजनीतिक दल न तिनका नेताले । यस विषयमा सोचे त केवल कुलमान घिसिङले सोचे र लोडसेडिङको निरुपण पनि गरे । उनको कार्यकुशलताले नेपाली समाजलाई लोडसेडिङबाट धेरै हदसम्म मुक्त ग¥यो । आज पनि कुलमानको यो कार्यको प्रशंसा आम नागरिकले गर्दै आएका छन् ।
तर कुलमानको यो कामले धेरैलाई छटपटी भएको छ । त्यसैले अनेक बहानामा कुलमानलाई हटाउने प्रयत्नमा तिनीहरु लागि परेको पछिल्लो समय देखिएको छ । सरकारी बिजुली उपयोग गरेको पैसा उपयोग गर्ने सबैले तिर्नु पर्दछ । यो सबैलाई थाहा भएको कुरा हो । नेपालका ठूलाठूला उद्योगधन्दा, कलकारखानाको व्यवस्थापनको जिम्मा लिनेले पनि बिजुलीको प्रयोग गरेपछि त्यसको पैसा समयमा नै तिर्नुपर्छ भन्ने सोचेका थिए होलान् । तर तिनले किन तिरेनन ?
उपयोग गरेको विद्युतको पैसा समयमा नै तिर, नभए तिम्रो बत्तीको लाइन काटिन्छ भन्ने काम प्राधिकरणको हो । उसले पैसा नतिर्ने घरको, उद्योगको, पसलको बिजुली लाइन काट्दा कुन ठूलो कुरो भयो ? सामान्य किराना पसलमा त उधारो खानेको पैसा धेरै भएपछि उधारो दिन छोडिन्छ भने बिजुली अड्डाले पनि किन पैसा बाँकी रहँदा पनि बिजुली दिइरहन्छ ? नेपालको राजनीतिले हरेकलाई गाँजेको छ । अहिलेको सरकार र त्यसका आउसेपाउसेले पनि बिजुलीको नाममा कमिशनको खेल खेल्न उद्योगीहरुसँग साँठगाँठ गरेको देखिन्छ । नभए राम्रो काम गर्ने कुलमानलाई जनताले रुचाएका कुलमानलाई हटाउने प्रपन्च किन ?