लकडाउनमा डीआइजीलाई फुली, खटाइयो सातै प्रदेशमा

समाचार

काठमाडौँ । देशमा लकडाउन चलिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएर जनतालाई सुरक्षित रहन भने पनि त्यति सुरक्षित देखिएका छैनन् । गरिबलाई खानको चिन्ता, परदेशमा बसेकालाई घर पुग्नुपर्ने चिन्ता र बिरामीलाई उपचार नपाएर चिन्ता ।
यस्तोमा गृह मन्त्रालयले हालै बढुवा भएका १० जना डीआईजीको पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रीस्तरीय निर्णयबाट रिक्त रहेका डीआईजीको दरबन्दीमा १० जनालाई पदस्थापन गरेका हुन् ।
उनीहरुले सोमबारै दरबन्दी बुझेको पनि जनाइएको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा सहकुलबहादुर थापालाई पदास्थापन गरिएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई लगिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रकाशजंग कार्कीलाई पदस्थापन गरिएको छ ।
बाँकीलाई प्रदेशमा खटाइएको छ । प्रदेश १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बाग्मतीमा वसन्तकुमार लामा, गण्डकीमा घनश्याम अर्याल, ५ मा रविन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदूरपश्चिममा उत्तमराज सुवेदीको पदस्थापन गरिएको छ ।
२०७५ साल माघ २८ गते २२ जना डीआईजीहरुले एकैपटक अवकाश पाएपछि ६ वटा प्रदेशका प्रहरी प्रमुखसहित अन्य स्थानमा पद रिक्त रहेको थियो ।
यसअघि प्रहरीमा डीआईजीको संख्या ३४ रहेकोमा साधरण सेवातर्फबाट २६ जना थिए । सरकारले केही साताअघि मात्रै २६ जनाबाट घटाएर डीआईजीको संख्या १४ मा सीमित गरेको थियो । हाल प्रहरीमा साधारण र प्राविधिक गरी डीआईजीको दरबन्दी संख्या २२ रहेको छ । प्राविधिकतर्फ चिकित्सक कोटा रहेको छ ।