–घुमन्ते
छोरो पाउनु कहाँ छ–कन्दनी बाट्न हतार भने झैं योजना सम्पन्न हुनु कता हो कता नेतालाई उद्घाटनको हतार । अहिले घुमन्तेलाई पनि उद्घाटनको रहरले छोपेको छ । कतै सानो बुकुरो ठडिन लागेको छ भने पनि महामहिम वा माननीय फलानाका करकमलबाट उद्घाटन सम्पन्न भयो भन्ने ताम्रपत्र शिलापत्र न भए कागतपत्र नै भए पनि टाँसेर आफ्नो इतिहास बनाउन रहर लाग्छ । यस्तोमा सबभन्दा जँगर चलाउनेमा एमालेका नेता ओली बा अगाडि हुनुहुन्छ । धरहराको उद्घाटन गरेको डेढवर्ष भइसक्यो–अहिलेसम्म वरिपरिको टाकटाक टुकटुक सकिएको छैन । कुन दिन धरहरा चढ्न सर्वसाधारणले पनि पाउने भन्ने ठूलो अक्षरको सूचना निस्कला र चढ्ने धोको पु¥याउँला भनेर पर्खिबसेको घुमन्तेको रहर यति सजिलै पूरा होला जस्तो छैन । कम्रेड बाले पनि नसक्दै भए पनि आफ्नो धोको पूरा गरिहाल्नुभयो– हामी त्यसैमा रमाउँ । मेलम्चीको उद्घाटन भयो–काम नसकिँदै । यसो केही दिन यताउताबाट तानतुन गरेर पानी पठाइटोपलेको तर आपूm ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो भनेझैं गत असार १ गतेको बाढीले उडायो सपना सबै हुरीले भयो । कुर्था जयनगर रेल्वे तामझामसाथ उद्घाटन गरियो, चलाउन सकिएन, बर्को ओडाएर राखेको वर्षौं भइसक्यो ।
अहिलेसम्म नेपाली नेताहरू पूरा नभएका योजना उद्घाटन गर्दै आएका थिए–अन्धाको देशमा गए आँखा चिम्लनु, लङ्गडाको देशमा गए खुट्टो खोच्याउनु भनेझैं चीनबाट आएका मित्रले पनि अधकल्चो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो बुझाएर गरे । काम गर्न यसै छ–उद्घाटनको हतार त्यहाँ पनि भयो । मेल रोक्ने पूर्वाधार छैन, फोहोर फाल्ने ठाउँ विमानस्थलकै नजिकमा छ, उड्नासाथ ठोकिन सक्ने डाँडो अगाडि नै छ–तर चीनको उपहार भनेजस्तो गरी साँचो बुझाइयो खयर ताल्लाविनाको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो लिन पाउँदा हाम्रा परराष्ट्रमन्त्री मख्ख परेका थिए । सबभन्दा ठूलो कुरो लोभ–उद्घाटनको लोभले सबैलाई गाँजेको छ । पिर्कामा उभिएर सलामी खाने बानी परेका नेपाली नेताले अधकल्चो योजना उद्घाटन गर्दै गए भनेर केको गुनासो गर्नु । पाए आफैं पनि अघि सरौंला भन्ने लागेको छ–घुमन्तेलाई ।
पाउना एमाले
ठूलो भाग खान माओवादी केन्द्रबाट एमालेमा पाहुना लाग्न गएकाहरूलाई यतिखेर थाल खाउँ न भात खाऊँ भएको छ । पहिलेदेखि पार्टी ओगटेर बसेका रैथानेहरू कतै पाहुनाहरूले गलहत्याइदिन्छन् कि भनेर उनीहरूलाई ठाउँ नदिने तयारीमा छन् । यो सुइँको पाएका नयाँ एमाले यतिखेर साँझ पर्न नपाउँदै रेष्टुराँमा जम्मा भएर कसो कर्ता एमालेमा आफ्नो जग बलियो बनाउन सकिएला भनेर गुमस्त ागर्न लागेका छन् । जति छलफल गर्ने भने पनि ‘बादल’ फाट्ने होइन–मौन भएर अरुको गुनासो सुन्छन्, आपूm केही बोल्दैनन् । किनभने उनको निर्वाचन क्षेत्र सुरक्षित कतै छैन, त्यसैले ओली कम्रेड अगाडि त्वमेव माता त पिता त्वमेव भनेर लम्पसार पर्नुबाहेक केही थिएन–वरदान पाइहाले–समानुपातिकमा तथास्तु ।
तर अर्काथरीलाई खुलदुली छ–आउँदो संसदीय निर्वाचनमा टिकट पाइन्छ कि कतै अर्कैले हत्याउने हो कि ? टिकट पाइनै हाले पनि हाम्रो मान खोस्न आएको भनेर पुराना एमालेले अन्तर्घात गर्न बेर छैन, बर्दियामा वामदेव विरुद्ध भित्रभित्रै कैंची काटेझैं । प्रभु साहलाई ढुक्क छ–यतिखेर मधेश क्षेत्रमा मभन्दा बलियो को छ–त्यसैले मेरो टिकट पक्का । अर्कातिर अर्घाखाँचीमा राम्रै प्रभाव छ भनेर रायमाझी कम्रेड ढुक्क छन् । तर मधेश प्रदेशमा मभन्दा बलियो हुन खोज्ने भनेर रघुवीरले कैंची चलाउने हुन् कि भन्ने डर छ । सुदूरपश्चिममा भट्ट साहेबलाई खुट्टा टेक्न दिनु हुँदैन भनेर यमप्रसाद कँडेलदेखि कर्णबहादुर थापासम्म खुकुरी उध्याएर बसेका छन् । आउँदो चुनावमा पहिले टिकट पाउनै गाह्रो, टिकट पाए पनि अन्तर्घातको प्रहार हुने देखेर पाहुना एमाले विलखवन्दमा छन् ।
नेकपा समाजवादी–हल्लिदै
हर्रो नपाउँदो जाइफल धाउँदो भनेझैं नेकपा समाजवादीलाई पहिले एमालेले जितेको महानगरको मेयरको उम्मेदवार चाहियो रे । काठमाडौं र पोखराको मेयर ताक्ने समाजवादीको हैसियत के छ भन्ने कुरा कसैले नबुझेको होइन । बल्ल बल्ल काठमाडौंबाट प्रतिनिधिसभा पद जितेका जीवनराम आफ्नो पक्षमा पारेका माधव कम्रेडले कुन आँटले महानगरको मेयर ताकेको होला । संगठनको आकार बढाउन यत्तिकै सकिँदैन–जे छ त्यसैलाई जोगाएर राख्न सके भनेजस्तो हुन्थ्यो । काठमाडौं महानगरको मेयरमा आफ्नो पार्टीको दावी प्रस्तुत गरेका माधवलाई देउवाले ठाडै हुन्न भनेर अस्वीकार गरेछन् । कुतीदेखि नून नबिसाई ल्याएँ आमा भन्ने छोरोलाई खुट्टी देख्दै चाल पाएँ भन्ने आमाको जवाफ जस्तै देउवाले ऐना देखाइदिएनन् आफ्नो अनुहार हेर्न । कतिले त तर्क दिने गरेका छन्–कतै हाम्रा कम्रेडको अवस्था वामदेवको नहोस् । मैं हुँ भन्ने कम्रेडहरू महाभारत युद्धमा टाउको गिँडिएका कौरव सरह भएका छन् । हिङ् नभए पनि हिङ् बाँधेको टालो लिएर म त ठूलै नेता भन्दै हिँडेका छन् । महानगरको मेयरको भाग मलाई भन्ने नेकपा समाजवादीले आफ्नो सक्कली अनुहार ऐनामा हेर्न अझै बाँकी छ ।
त्यसो त यसअघि पनि मान न मान मैं तेरा मेहमान ठान्ने वामपन्थी नेताहरूको कन्तविजोग भएको छ । एकताका सीपी कम्रेड तुलनामा नै नआउने नेता ठानिन्थे । उनलाई मदन भण्डारीले सातो लिएर पदबाट राजीनामा गर्न लगाए । अहिले सीपी मैनालीको नेकपा माले पार्टी छ, कार्यकर्ता छैनन् । कुनै बेला वामदेव गौतमले नेकपा मालेको नेतृत्व गरेका थिए, त्यतिखेर वामदेवभन्दा अग्लो नेता को होला र भन्ने लाग्दथ्यो–उचाइ घट्दै घट्दै वामन अर्थात पुड्को देव भन्ने अवस्थामा आइपुगे । मोहन वैद्यको मन्त्रको भरमा चल्ने चेलाहरू अहिले गुरु गुड चेला चिनी बनेका छन् । यतिखेर कम्रेड प्रचण्ड पुरानै थालथलो खोज्दै रोल्पा र रुकुमको फेरो लगाउन थालेका छन् । अब चितौनमा खैरियत छैन भन्ने उनले बुझेका छन् । तर पनि हिङ् नभए पनि हिङ् बाँधेको टालो लिएर आउँदो चुनाव जित्ने दाउपेचमा छन् । अहिले निकै अप्ठ्यारोमा परेका भनेको कम्रेड माधव देखिएका छन्–त्यसैले यसो गरे हुन्छ कि उसो गरे हुन्छ भनेर हल्लिदै छन् । उनलाई डर छ–कतै आफ्नो भविष्य पनि सीपी वामदेव र मोहन वैद्यजस्तै हुने हो कि ?
शेखरको छटपटी
आपूmलाई ठूलै सम्मान गरेर छलफलमा बोलाइरहने र सल्लाह मान्ने धर्सो देउवाले तान्ने आशमा बसेका शेखरदादा आफ्नाले समेत विस्तारै छाड्न थालेपछि कसो गर्दा ठीक होला भन्ने छटपटीमा परेका छन् । भन्छन्–भाइफुटे गँवार लुटे अर्थात यतिखेर नेता ठहरिएका कोइरालाहरू एक ठाउँमा बस्नेभन्दा अर्कोलाई पन्छाउन पाए आफ्नो भाग आउला कि भनेर च्याँखे थापेर बसेका छन् । कुरा प्रष्ट गर्न नसक्ने, अर्काले टेको लगाइदेओस् भनी ठान्ने तीन कोइरालाको कमजोरीले देउवाकाजीले राम्रै फाइदा उठाएका छन् । म उठे सभापति जित्छु भनिठान्ने सुजाता, शशांक र शेखर एक अर्कालाई फकाएर आफ्नो पक्षमा ल्याउँलान् भनी ठान्नेहरू पछि जिल्लाराम परे । अडान राख्न नसक्दा बाजी शेखरले मारे–अर्थात सभापतिको उम्मेदवारी उनले दिए । विचरा सुजाता प्रकाशमानसँग टाँसिएर उम्मेदवार त भइन्, भोटरले पत्याएनन् ।
कांग्रेसले गठबन्धनसँग मिलेर लडे नोक्सान हुन्छ–कांग्रेसको अवस्था कतै भारतको राष्ट्रिय कांग्रेस जस्तो हुने त होइन भनेर एकथरि गोहीको आँशु चुहाउँदैछन् । त्यसो गर्ने कतिपय नेता आँशु पुछेर देउवातिरै टाँसिन पुगे । इतरपक्ष भनेको संस्थापन पक्षले भनेको कुरा काट्नु भनेर बुझेको नेपाली कांग्रेसको इतरपक्ष अर्थात डा. शेखर र साथीहरू देउवाले भनेको कसले मानोस् भनेर गठबन्धन गर्ने कुराको घोर विरोध गर्दै गएका छन्, तर गठबन्धन गरेर चुनाव लड्नु हुँदैन भन्नेको संख्या विस्तारै कम हुँदै गएकोले शेखरमा छटपटी बढेको छ–भन्न थालेका छन् जता मुल्को उतै ढल्क्यो गरेर साथीहरू उता लागे । अब छटपटिनु बाहेक गर्न सक्ने नै के छ र ?
अन्त्यमा–
चोक्टा खान गएका सम्धी झोलमा डुबेर मरे भनेझैं विभिन्न पार्टीका नवप्रवेशीले चुनावको टिकट फलामको च्यूरा ।