काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले दिनानुदिन संजाल फिँजाएको छ । पछिल्लो २४ घन्टामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
नयाँ संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९, झापाका २५, रौतहटका २०, महोत्तरीका १७, सप्तरीका १४, सुर्खेतका १३, दैलेखका आठ, सर्लाहीका सात तथा सिरहाका छ जना छन् ।
त्यस्तै स्याङ्जा र बर्दियाका समान तीन जना, कैलाली र दोलखाका समान दुई जना रहेका छन् । दार्चुला, नवलपुर, मकवानपुर, बाँके, सोलुखुम्बु र बझाङका समान एक छन् ।
योसँगै ५१ जिल्लाका एक हजार ४२ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला हुन् ।
कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–२२, बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएसंगै यो संख्या पाँच पुगेको हो ।
पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको डा देवकोटाले जानकारी दिए ।
उदयपुरमा थप चारजना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म १८७ जना निको भएका छन् । ८५० आइसोलेसनमा रहेका छन् । ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।