पार्टी विभाजन बाध्यकारी स्थिति थियो -राजेन्द्र पाण्डे – उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)

अन्तर्वार्ता


नेपाल कम्युनिष्ट पार्टी(एमाले) अहिले केपी शर्मा ओली पक्षीय र माधव नेपाल पक्षीय गरी दुई टुक्रा भएको छ । माधव नेपालले नयाँ दल दर्ता गरेका छन् भने उनको दल सरकारमा सहभागी हुने तयारीमा पनि छ । विशेष गरी पार्टी विभाजनक र आगामी कार्यदिशकाका विषयमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग गरिएको कुरकानीको संपादित अंश ः
यहाँहरुले बाक्लो दाल खान थाल्नु भएको छ भनेर सोधिराख्नु परेन, त्यसको स्वाद कस्तो छ नि ?
तपाईंले भन्न खोजेको केही हदसम्म सत्य पनि हो । ठूलो घर छोडेर छाप्रो मै भएपनि छुट्टिएर बस्न जानेलाई बाक्लो दाल होइन छुट्टिएर बसेको बेलामा नुन पानी भेट्न मात्रै पनि गाह्रो पर्छ, यो सुरुवातको बेलामा । नुन पानी मात्रै भएपनि खाएर नयाँ ढंगबाट अगाडि बढ्नु पर्छ भनेर सोचेका छौं । बनिबनाउ पार्टी थियो, देश विदेशमा पनि हाम्रै पार्टीको प्रभाव थियो । १७४ जनाको संसद थियो । त्यत्रो शक्तिशाली दुई तिहाइ पुग्नलाई जम्मा ८ सिट सांसद थपे पुग्थ्यो । निर्वाचनको विधिबाट २७५ जनाको प्रतिनिधिसभामा १७४ हुनु भनेको अर्थात् अहिलेको समावेशी समानुपातिक प्रक्रियाबाट पुग्नु भनेको त्यो चानचुने कुरा थिएन । यो सबै कुरालाई पानीमा मिलाउने काम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भयो । किसान र मजदुरको प्रतिनिधि हो है हामी भनेर निर्माण गरेको कम्युनिष्ट पार्टीलाई उहाँले सत्तामा पुगेपछि जनताको बारेमा सोच्नु भन्दा म नै राज्य हो भन्ने ढंगले सोच्नु भयो । र, दुई तिहाई छेउमा पुगेको सत्तालाई फेरि दुई तिहाई ल्याउछु भन्दै उहाँ जानुभयो । आफ्नो पार्टीभित्र फरक, नयाँ विधिपद्धती विचार राख्ने प्रस्तावलाई उहाँले बढार्ने योजना गर्नुभयो ।
४६–४७ वर्ष पसिना बगाएर सिर्जना गरेको पार्टी छोडेर जानु बाध्यता थियो कि, कसैको सिकार हुनुभएको हो ?
यो बाध्यकारी स्थिति थियो । एउटा बामपन्थी विचार बोकेर आएको पार्टीले ल्याउने बजेट सर्वाहारा श्रमजीवि जनता र राष्ट्रहितको बजेट थिएन । ठूला घराना, दलाल पूँजीपतिहितका निम्ति उहाँहरुले गर्न सक्नेसम्म गर्नु भयो । उहाँहरुले जाँदाजाँदै पनि गरेर जानु भएको छ । यसविरुद्ध हामीले कतिपय ठाउँमा बोल्यौं भने कतिपय ठाउँमा हामी नाजवाफ हुनुपथ्र्यो ।
म पनि यो पार्टीको २०३२ सालकै सदस्य हो, त्यतिबेला म १७–१८ वर्षको केटा थिए । १४ वर्षको जेल सजाय पाएको थिए र वर्षौ जेल बसे । म जन्मेको धादिङको तीनवटै क्षेत्र एमालेलाई जिताउने स्थितिसम्म बनाए । देशव्यापी रुपमा भूमिका निभाए । म एक्लो मान्छे पञ्चायतविरुद्ध चुनाव लडेर सभापति जिते । म सभापति हुँदा पनि हत्कडी भिरेरै जेल गए । म मारिन सक्थे । मैले त्यतिबेला यो लोकतन्त्र ल्याउन खेलेको भूमिका थियो ।
ज्यान धरापमा राखेर बनाउनु भएको पार्टीलाई अहिले आएर ओलीले भागबन्डमा कम गरे, राम्रो बजेट ल्याएनन् जस्ता विषयमा पार्टी विभाजन गरेर आफ्नो भविष्य पनि अन्योलमा, सिंगो कम्युनिष्टलाई धरापमा र नेपालीहरुको चाहनालाई प्रश्नवाचक चिन्हमा राख्नु कत्तिको उपयुक्त होला ?
मेरो पार्टी कम्युनिष्ट पार्टीको ट्रेडमार्क मात्रै रह्यो, त्यो कम्युनिष्टै रहेन । जुन उद्देश्यले पार्टी निर्माण गरेका थियौं त्यसले कम्युनिष्ट आन्दोलन अगाडि बढाउने कामै गरेन भने त्यसलाई मेरो कम्युनिष्ट पार्टी हो भनेर समातेर बस्नु बेकार हो । मेरो रगत पसिना खेर गयो । अनि म जस्ता नेता कार्यकर्ताले विद्रोह गरेका हुन्, विभाजन होइन । मनमोहन नेतृत्वको पार्टी हुँदादेखि नै पार्टीभित्र विकृतिका विरुद्धमा पार्टीभित्रकै कम्युनिष्ट नेताहरु पुष्पलाल, तुलसीलाल लगायतले विद्रोह गरे । उहाँहरुले विद्रोह गरेर कम्युनिष्ट पार्टीलाई बचाएर आउनु भयो । त्यसकारण यो हामीले विद्रोह गरेका हौं, विभाजन होइन । सही विचारको लागि लडाइ लड्न आट गरेका हौं । र यतिबेला देख्दा हाम्रो शक्ति सानो होला तर विचार सही भयो भने त्यो शक्ति बढाउनलाई धेरै दिन लाग्दैन ।
तपाई नेताहरुले नै पुरानो कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट बनाउन सक्नु भएन र अब नयाँ पार्टीलाई कम्युनिष्ट पार्टी बनाउनु हुन्छ भनेर कसरी विश्वास गर्ने ?
यो संसारभरिका नेपाली र अन्य राजनीतिक व्यक्तिहरुले पनि प्रश्न गर्ने विषय हो । प्रचण्डले दुई वटा भरुवा बन्दुक लिएर रोल्पामा जनयुद्ध सुरु गर्नु भयो । जाबो भरुवा बन्दुक लिएर यत्रो निरंकुश व्यवस्थालाई ढाल्न सकिन्छ भनेर हामी नै भन्थ्यौं । तर त्यही भरुवा बन्दुर यस्तो स्थितिमा पुग्यो, हामीले सम्झौता नगरी सुख पाएनौं । त्यतिबेला हामी मूलधारका राजनीति पार्टीहरु नै माओवादीले उठाएको संविधानसभाको पक्षमा थिएनौं । र, १७ हजार मान्छेको बलिदानपश्चात हामी संविधानसभाको निर्वाचन गर्न बाध्य भयौं । नयाँ राजनीतिक परिस्थिति आयो । शान्ति प्रक्रियामा लग्यौं ।
त्यसैले अहिले सुरुवातमा तपाईले हामीलाई भनेको प्रश्न ठिकै होला । अहिले माधवकुमार नेपाल नेतृत्वमा म प्रथम उपाध्यक्ष छु । हामीले नै यो आन्दोलनलाई अगाडि बढाउदै छौं, त्यसो हुनाले सुरुका दिनमा तपाईले गरेजस्तै प्रश्न आउन सक्छ । तर हामीले लिने बाटो प्रष्ट छ, हामीले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका छौं । मदन भण्डारीले राख्नुभएको जनताको बहुदलीय जनवादीको कार्यक्रमका आधारमा हामीले गणतन्त्र ल्यायौं । राजतन्त्रको अन्त्य गर्यौ, लोकतान्त्रिक व्यवस्था ल्यायौं, समावेशी लोकतन्त्र सुरुवात ग¥यौं । अब हामी समाजवादको बाटोमा जानुपर्छ ।
र, हाम्रो देशमा अहिलेसम्म भएका असमानताहरुलाई अन्त्य गर्ने, आर्थिक समृद्धिको बाटो खोल्ने, केवल नारामा नभएर व्यवहारमा समृद्धि ल्याउने ढंगले जाने कुरामा हामी ध्यान दिन्छौं । र, तपाईंले एक वर्षपछि मलाई यो प्रश्न गर्ने अवस्था रहँदैन ।
अबको चुनावमा सूर्य चिन्हको प्रभाव परेका नेकपा एमालेका कार्यकर्ताबाट भोटको आशा गर्नु भएको छ कि या नेपाली कांग्रेस वा अन्य पार्टीबाट आकर्षण गर्छौ भन्ने योजना छ ?
निर्वाचनमा जाने दलले मतको आशा गर्ने हो । त्यो जताततैबाट आशा गर्न सकिन्छ । हामी लामो समयसम्म एमाले निर्माण गर्न लाग्यौं । हामीले अहले संगठन निर्माण पनि त्यही एमालेभित्रकै शक्तिलाई लिएर गरेका हौं । एमालेभित्रकै धेरै साथीहरुलाई यसमा समेट्छौं । तपाईले सूर्य चिन्हको कुरा गर्नु भयो । म २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावलाई चुनाव उपयुक्त नीति लिएर लडेको मान्छे हुँ । त्यतिबेला मैले हात्ती चिन्ह लिएर चुनावमा लडेको थिए । पोखरामा सोमनाथ प्यासीले पाटी चिन्ह लिएर लड्नु भएको थियो । काठमाडौमा पद्मरत्नले सूर्य नै चिन्ह लिनु भएको थियो । चितवनमा जागृत भेटुवालले छाता चिन्ह लिएर लड्नु भएको थियो । झापामा दोर्णप्रसाद आचार्यले घैला चुनाव चिन्ह लिएर लड्नु भएको थियो र जित्नु भएको थियो ।
त्यस पछाडि म धादिङको सभापतिमा षड्कोण चिन्ह लिएर उठे र जिते । त्यसैले यो भनेको जनतालाई चिनाउने एउटा आधार हो । हिजो हामीले सूर्य चिन्ह टाढाबाट देख्दा पनि सजिलो आदि भएकाले राजनीतिको भन्दा पनि चिन्हको मात्रै प्रचार गरेका थियौं । अब हामीले चाँडै नै चुनाव चिन्ह पनि लिन्छौं । सम्भवत चुनाव चिन्ह कलम लिन सक्छौं ।
केपी ओलीको सेरोफेरोमा रहेका केही नेताहरु तपाईंहरुको खेमामा मन्त्री पद पाइन्छ भनेर प्रवेश गरेको देखिन्छ, उहाँहरु कम्युनिष्ट आन्दोलनलाई शुद्धाशुद्धि गर्नु पर्यो भनेर प्रवेश गरेको भनेर कसरी भन्न सकिन्छ ?
त्यता मन्त्री भएका साथीहरु पनि यता आउनु भएको छ । उहाँहरु विचारको हिसाबले त्यता काम छैन भनेरै यता आउनु भएको हो । कतिपय साथीहरु तपाईले भने जस्तो पनि हुन सक्छन् । यो राजनीतिक यात्रामा सबैले त्यागको मात्रै राजनीति गरेको हुँदैन । सबैले यो राष्ट्र परिवर्तन गर्ने सपना मात्र देखेको हुँदैन । कसैले व्यक्तिगत जिवनमा केही भूमिका पाएदेखि हुन्थ्यो भन्ने पनि सोचेका हुन्छन् । त्यसैले हामी यो सबै जातको फुलबारी हो भने झै सबैलाई समेटेर जान्छौं । तपाईले भनेको केही हदसम्म ठिकै पनि होला ।