ओलीको कूकर्ममा राष्ट्रपति भण्डारीले साथ दिएपछि

Home Feature राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा अहिलेसम्म नभएको कूकर्म गरेका छन् । ओलीले संसद अधिवेशन चलिरहेका बेलामा संसद अन्त्यको घोषणा गरिदिए । उनले कसैलाई पनि खवर नै नगरी बजेट अधिवेशनको अन्त्य गरेका हुन् ।
उनले मन्त्रीपरिषदबाट निर्णय गराए अनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएपछि राष्ट्रपतिले एकछिन पनि ढिला नगरी संसद अन्त्य गरिदिइन् । उनलाई संसद अन्त्य नगर्न उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका थिए । ओलीले मानेनन् ।
त्यसैगरी प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न गए । राष्ट्रपतिले टेढ पुच्छर लगाइनन् । ओलीले संसदीय ऐन कानुनका सबै दफा र धाराको धज्जी उडाए । कम्तीमा सभामुखलाई संसद अधिवेशन अन्त्यको बारेमा जानकारी हुनुपर्छ । सभामुखले नै अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने नियम छ ।
त्यतिमात्र होइन सरकारले प्रमुख प्रतिपक्ष दलसंग छलफल गरेरमात्र अधिवेशन अन्त्य गर्दछ । तर ओलीले तीसबै नियमको धज्जी उडाए । अनि राष्ट्रपति ओलीकी रबर स्टयाम्प बनिन् । संसदले प्रधानमन्त्री बनाउँछ । त्यही संसदलाई ओलीले धज्जी अडाए । अनि ओलीको हँ मा हँ मिलाउने राष्ट्रपतिले आँखा चिम्लेर हस्ताक्षर गरिन् । उनलाई भोलिको पनि चिन्ता भएन ।
त्यसो त भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छिन् । नेकपाकै नेताहरुले ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय भएको बताइन् ।
उनले ‘संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन नि । एजेण्डा थिएन, बिजनेश थिएन, त्यसैले सरकारले अधिवेशन अन्त्य ग¥यो । यसमा स्थायी समितिको कुनै मेल छैन ।’ भनिन् । यसबाटै स्पष्टै हुन्छ मन्त्री अर्यालको हैसियत के हो । उनलाई संसदको महत्व कति छ भन्ने पनि स्पष्ट छैन । उनले संसदलाई रत्यौलीसंग जोडेर सिंगो संसदीय प्रणालीको धज्जी उडाएकी छिन् ।
तिनै मन्त्रीले जसरी धज्जी उडाइन् त्यसरी नै राष्ट्रपति साक्षी भइन् ओलीको कूकर्मकी । ओलीले गरेका जति पनि भ्रष्टाचार र अनैतिक गतिविधि छन् त्यसलाई रोक्न नसक्ने राष्ट्रपतिलाई अहिले किन हतारो प¥यो ? यसबारे विज्ञहरु पनि अचम्ममा परेका छन् । ओलीले अध्यादेशमार्फत पार्टी फुटाउने षड्यन्त्र गरेको आरोप पनि लागेको छ । नेकपा एमाले ब्यूँताउन उनले प्रयास गरेको आरोप पनि लागेको छ । चर्चामा नआएकाहरुलाई पार्टीसमेत दर्ता गर्न लगाइएको छ ।
ओलीलाई पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दवाव बढेपछि उनी अताल्लिएका छन् । सरकारले राम्रो काम गर्न नसक्नु र पार्टी अस्तव्यस्त पार्नमा ओलीको हात रहेको भनी प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसंगै उपाध्यक्ष वामदेव गौतमले राजीनामा मागेपछि ओलीको होसहवास गएको छ ।
यसकै कारण पार्टी फुट्ने सम्भावना पनि बढेको छ । त्यसलाई रोक्न यतिबेला नेताहरु प्रयासरत छन् । दोस्रो तहमात्र हैन तेस्रो तहका नेताहरु पनि एकीकृत भएका छन् । नेकपा फुट्यो भने के होला ? त्यसैले नेकपा स्थायी कमिटी बैठक स्थगन गरी एकताको प्रयास भइरहको छ ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते सोमबारसम्मका लागि स्थगन गरिएको छ । बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । ओली र प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको बताइएको छ ।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ । बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन् ।