जवाफ खोजिरहेछन् जनता

समाचार

देश चलिरहेको छ, एनकेन प्रकारेण ! देश चल्नुसम्मलाई मात्र सीमित राखेका छन्, नेपालका राजनीतिक दल र दलका नेताहरुले । नेपालको सन्दर्भमा भन्नु पर्दा त्यतिमात्रै भन्न सकिन्छ । धेरैजसो बद्धिजीवीहरुको विश्लेषण त्यस्तै देखिन्छ । तर बुद्धिजीवीहरु पनि खुलेर भन्दैनन् । किनभने बुद्धिजीवी पनि दल विशेषमा विभाजित छन् जस्तो लाग्छ । तिनमा पनि आफ्नो आफ्नो कित्ता छुट्टिएको जस्तो लाग्छ । नभए स्पष्ट कुरा आउँछ भने त्यसमा दल र दलका नेताको दृष्टिकोण परिवर्तन हुनुपर्ने हैन । व्यवसायी आनन्दराज बतासले आफ्नो सम्पर्क प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेको हवाला दिए । उनले आफूलाई पूर्व प्रधानमन्त्री केपी ओलीले ज्वाइँ भन्दै आएको भने । त्यस्तै अरु नेताहरुसँग पनि उनले आफ्नो गोरु बेचेको साइनो रहेको बताउन बाँकी राखेका छैनन् होलान् । यसले के देखाउँछ भने बतासलाई कसैले छुन सक्दैन । उनको सेटिङ यति बलियो छ कि उनलाई छुने आफै ध्वस्त हुनसक्छ ।
बतासजस्ता व्यवसायी अरु पनि कति होलान् जो प्रधानमन्त्री र मन्त्री निकट रहेर पद्दती भन्दा बाहिर गएर काम गरिरहेका होलान् । त्यो खोजी गर्नेहरुका लागि गतिलो विषय हुनसक्छ । तर त्यसैले के पनि देखाउँछ भने नेपालको प्रशासन एकदमै खत्तम छ । प्रशासन चुस्त दुरुस्त र कसैले हल्लाउन नसक्ने हुनुपर्नेमा निजामती प्रशासनको जिम्मा लिएर काम गर्नेलाई जसले पनि जतिबेला पनि किन्न सक्छ र प्रशासनको धज्जी उडाउन सक्छ । यही हो देशको बिकास ?
के यसै गरी हुन्छ देशको विकास ? यसलाई त व्यक्ति विकास मात्रै भन्दा हुन्छ । किनभने यसले मुखिया, खरदार, सुुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिवलाई मात्रै धनी बनाउँछ । जनता जनार्दनलाई त सधैँ मारेरै राख्छ । तलको फाइल माथिसम्म पुग्दा करोडौको खेला हुने निजामती प्रशासनले पैसा नझर्ने सामान्य किसानलाई चिनी कारखानाबाट उखृुको दाम दिलाउँदैन । तर संग्रहालयका रुपमा विकसित गर्नुपर्ने नारायणहिटी दरबारको जग्गा आफ्नो खल्ती तातो पारिदिनेलाई भाँडामा दिएर होटल खोल्ने अनुमति दिनसक्छ ! सरकारी खाली जग्गा सामान्य मूल्यमा दिनसक्छ । यसरी पद्दतीलाई मिच्दै जे पनि गर्न सक्छ । किनभने प्रशासनमा बसेका कर्मचारीलाई नीति नियम र पद्दतीसँग मतलब छैन । तिनलाई मतलब छ त केवल आफ्नो खल्ती भर्नुसँग छ ।
यदि यसरी मनलाग्दी नै गर्ने हो भने किन पद्दती बनाउने ? किन नीति नियम बनाउने ? भाँड भैलो गरे भैगो नि । के जनताले यसरी नै हेरिरहने ? यस्ता प्रश्नहरुको जवाफ खोजिरहेका देखिन्छन् नेपाली जनता ।