‘एमसीसी २१ औं शताब्दीको उपनिवेश’

Home Feature समाचार

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् । ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’
नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ । अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१ औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।
अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकीर गर्नुभयो । केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।
‘पार्टीभित्र नोकरशाही, पुँजीपति र
दलालहरुसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ’
यसैबीच, एमसीसीका कारण पार्टीमा असन्तुष्ट भएका नेकपा माओवादीका केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका हुन् । श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।
‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’,श्रेष्ठको भनाई छ । उनले अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित हुन जरुरी नभएको भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए । श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए ।