एमसीसीमा व्याख्यात्मक घोषणा ‘फेस सेभिङ’को लागि मात्रै

अन्तर्वार्ता

रामचन्द्र पौडेल – वरिष्ठ नेता, नेपाली कांग्रेस


संसदबाट एमसीसी पारित भएपछि त्यसको पक्ष र विपक्षमा बहश सुरु भएको छ । एमसीसीकै कारण माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र विवाद चुलिँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस भने एकजुट भएको छ । पार्टीभित्र रहेका विवादसमेत समाधान उम्मुख हुँदै पार्टीमा नयाँ गति संचार भएको कांग्रेस नेताहरुले जनाएका छन् । यसै मेसोमा एमसीसी र गठबन्धनको भविष्य लगायतका विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ः
अब एमसीसी पास गराउनुभयो, तर यो नेपाल र नेपाली जनताको हितमा छ भनेर जस्टिफाई गर्न सक्नुहुन्छ ?
एमसीसी नेपाल र नेपाली जनताकै हितको लागि अमेरिकी जनताले दिएको उपहार हो । र, नेपालको गरिब खासगरी तेस्रो विश्वका विकासिल मुलुकहरुको अवस्थामा त्यहाँ चाहीँ अलिकति गरिबी निवारण गर्ने खालको सहयोग दिएर त्इहाँको जनताको पेट शान्त गर्ने, भोको पेटले जे पनि अपराध गर्छ भन्ने संस्कृतमा एउटा भनाई छ । त्यसकारण पनि अब जनतालाई भोको पेट राख्ने होईन, गरिबीबाट मुक्त गर्ने हो । त्यसो भएपछि शान्ति हुन्छ, त्यसो भएपछि आतंकवादको जन्म हुँदैन भन्ने धारणाले विश्वमा गरिबी निवारणको अभियानस्वरुप यो शताब्दीको चूनौति भनेकै आतंकवाद हो, यसको जरो नै उखेल्नको लागि गरिबी हट्नुपर्छ भन्ने अमेरिकाको दृष्टिकोण हो । यो संयुक्त राष्टसंघको पनि दृष्टिकोण हो । त्यसो भएकोले यो सहयोग नेपालको विद्युत विकास गरेर, विजुली लगेर भारत, बंगलादेशसम्म पु¥याएर बेच्ने बाटो बनाउनको लागि र नेपालीहरुलाई गरिखानको लागि अमेरिकाले हामीलाई दिएको सहयोग हो ।
तर, तपाइँहरुलाई यो सहयोग लिन पनि धेरै सकस प¥यो नि ?
नेपालमा एउटा फोबिया कस्तो छ भने भारतको विरोध गरेर क्रान्तिकारी राष्टवादी बन्ने, अमेरिकाको विरोध गरेर क्रान्तिकारी बन्ने रोग छ । यो एउटा फोविया छ नेपालमा । अब अमेरिकाको विरोध गरेर क्रान्तिकारी बन्ने, भारतको विरोध गरेर राष्टवादी बन्ने तर टेबुल टकमा, आमनेसामने हुँदा आँखा जुधाएर कुरा गर्न नसक्ने अनि देशको हितमा अडान लिन नसक्ने, यो देशका कतिपय स्वनामधन्य राष्टवादी र क्रान्तिकारीहरुले यस्तै यस्तै कुराहरु रचेर, नभएका कुरा फुँदा गाँसेर यो नराम्रो हो, यसले अमेरिकाको रणनीतिमा नेपाललाई फसायो, यसले नेपालको हित गर्दैन, राष्टघात गर्छ भनेर यस्तो अफवाह नेपाली जनतामा फैलाएर, नेपाली जनताको संवेदनशीलता, एउटा सानो मुलुक दुईतिरबाट किचिएको मुलुक हो, एउटा संवेदनशील हुन्छ क्या राष्ट्रियताको प्रश्न । होइन ? त्यो संवेदनशीलतामा सेन्टिमेन्टल ब्ल्याकमेलिङ भनेपनि हुन्छ। यो गर्ने यहाँको प्रवृत्ति, त्यो प्रवृत्तिको उपज थियो यो एमसीसीको विरोध । देशव्यापी विरोध पनि गराए ।
एमसीसी कार्यान्वयनमा अब चूनौति छ भन्न थालिएको छ, एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणा किन गर्नुभयो ?
यो सम्झौता कार्यान्वयनको लागि केही पनि चुनौती छैन । व्याख्यात्मक घोषणा त उहाँहरुलई यसो फेस सेभिङको लागि हो । यो केही अर्थ नै थिएन । व्याख्यात्मक घोषणाको बास्तवमा औचित्य नै बास्तवमा छँदै छैन, किनभने यो आफैंमा स्वयममा त्यस्तै हो । जे व्याख्या गरिएको छ नि, त्यो सम्झौता त्यस्तै हो । त्यो सम्झौतामा के नराम्रो कुरा छ र ? तर पनि अमेरिकाले दिएको अनुदानको सही ढंगले सदुपयोग होस भनेर राखिएका केही नियमहरुलाई, केही प्रावधानहरुलाई अनर्थ गरेर एकथरीले बंग्याएर प्रचार गरेका थिए । अनि त्यसलाई सोझाएर सर्वसाधारणलाई बुझाएर र उहाँहरुलाई पनि चित्त बुझ्नेगरि यो व्याख्यात्मक घोषणा आएको हो ।
प्रचण्ड र माधव नेपाललाई खुशी पार्नको लागि व्याख्यात्मक घोषणा गर्नुभयो, होइन ?
व्याख्यात्मक घोषणा उहाँहरुले पनि चाहना राखेको हो । उहाँहरुले नै बाटो खोजेको हो । प्रचण्डजी त बाटो खोज्छन् नि, मान्छे त त्यो त चलाख छन् नि त । एउटा एउटा उपाय निकाल्ने उहाँको क्षमता छ, आईडिया निकाल्नुहुन्छ, आईडिया भएकै मान्छे हो प्रचण्ड । उहाँले मलाई पोहोरै भन्नुभएको थियो, यो एमसीसीबारे जब विवाद आयो, मैले भने ए प्रचण्डजी यो एमसीसी रिजेक्ट गर्नुको परीणाम के हुन्छ ? यो चाहीँ नै यत्रो ठूलो एउटा मित्रराष्टले हामीलाई दिएको अनुदान हो, हामीले त्यसलाई अस्विकार गर्यौं भने यसबाट कहाँ कहाँ असर गर्छ ? तपाईँलाई थाहा छ ? भनेर सोधेको थिएँ । मैले त्यतिवेला उहाँलाई भनेको थिएँ कि विश्व बैंकदेखि जापान, एडिबी, युरोपियन सबै दातृ निकायहरुसँग सम्बन्ध बिग्रिन्छ । दाता विश्व नै हाम्रो कता कता उदासिन हुनेतर्फ, हामीलाई सहायता दिने कुरामा उनीहरु रिलक्टेन्ट बन्नुपर्ने अवस्था बन्यो भने कति गाहो होला ? भनेर भनेको थिएँ । मैले त्यसो भन्नेबित्तिकै प्रचण्डले होईन त्यसो हो भने यसलाई एउटा संकल्प प्रस्ताव पाश गरेर भएपनि पास गर्ने । त्यो बेला उहाँले संकल्प प्रस्तावको कुरा गरेको हो ।
उसो भए यो संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणाको आईडिया प्रचण्डकै हो ? तपाईँसँग त उहाँले विकल्प अघि सार्नुभएको रहेछ नि ?
हो, यो उहाँले नै गरेको कुरा हो । मैले अस्ति पनि आएर उहाँहरुलाई भनेको थिएँ, जब वार्ता, भेटवार्ताहरु चरमचुल्लीमा पुग्यो, त्यतिवेला मैले उहाँलाई सिंहदरबारमा भेटेर तपाईँले भनेको होईन व्याख्यात्मक टिप्पण्ी वा संकल्प प्रस्ताव पास गरेर एमसीसी पास गर्ने कुरा भनेको थिएँ । अनि मैले यही कुरा निकाल्नुहोस न भनेर सुझाव दिएको थिएँ । त्यसो भएको हुनाले यो एमसीसी आँफैमा नै यो आपत्तिजनक कुरा त्यहाँ केही पनि छैन ।
अनि नेताहरुले किन यसको विरोध गरे ? यो एमसीसी सम्झौतामा आपत्तिजनक कुरा छन् भनेर उहाँहरुले भन्नुभयो त ?
ए, बाबा यो त उहाँहरुको फेशन हो । अमेरिकाको विरोध गरेपछि क्रान्तिकारी हुने नि । कम्युनिष्ट पनि एक थिएनन् । उनीहरु पनि विभाजित थिए । एकथरी अलिकति रिजनेवल कम्युनिष्ट चाहीँ नै होईन है यो त एकदमै फिर्ता जान हुँदैन है, यो फिर्ता गयो भने नेपालले ठूलो आर्थिक संकट व्यहोर्नुपर्छ भनेर सुरेन्द्र पाण्डेजस्ता एमालेकै नेताले भन्नुभयो, मलाई त एक सय एकले भन्थे । अर्कोथरि त्यत्तिकै खेती बनाउने देखियो, राष्टवादलाई खेती बनाउने पनि छन् ।
तर, माओवादी अध्यक्ष पुष्पकमल दाहालले त यो १२ बुँदे व्याख्यात्मक घोषणाले मेरो जित भयो भन्नुभएको छ, यसमा अब कसले जस लिने ? तपाईँले लिने कि ? प्रचण्डले ? वा प्रधानमन्त्री शेरबहादुर देउवाले ?
म जस लिन चाहन्नँ । म त यो व्याख्यात्मक टिप्पणी वा घोषणाको आवश्यक नै थिएन भने भन्ने मान्छे हुँ । एमसीसी सम्झौता जो हो, त्यो नै पर्याप्त छ । त्यसमा केही पनि खराबी छैन् । त्यसमा नबुझ्नेले व्याख्यात्मक घोषणाको कुरा गरे । यसमा अब बाटो निकाल्नुभयो, प्रचण्डजीलाई नै श्रेय दिन म तयार छु । यो व्याख्यात्मक घोषणाको सत्रधार नै उहाँ हो । सुरुमा आईडियो उहाँकै हो । अस्ति मलाई उहाँले के पनि भन्नुभयो भने, अहिले महेश आचार्यहरुले पनि एउटा लेखेर ल्याएका छन्, उहाँ (प्रचण्ड) ले महेश आचार्यको पनि नाम लिनुहुन्थ्यो, पछि यसमा गगन पनि थपिए । पछि गोविन्द बन्दी पनि थपिनुभयो, अलि पछि ईन्टरनेश्नल ल का ज्ञाताहरु पनि थपिए, मैले त्यो भन्दा अगाडि उपेन्द्र यादवसँग कुरा गर्दा, यसको कुनै अर्थ छैन भनेर उपेन्द्रजीले भन्नुभएको थियो, तर पछि यसको अर्थ हुन्छ भन्ने अन्तर्राष्टिय कानूनका विज्ञहरु पनि थपिए त्यहाँ । र, यो यसरी व्याख्यात्मक घोषणा जारी भयो ।
अब एमसीसी कार्यान्वयन हुन्छ त ? कुनै बाधा तथा अवरोध आउँदैन ?
अब यो कार्यान्वयनमा गयो । केही पनि अवरोध आउँदैन् । सुन्नुहोस, यो प्रसारण लाईनको लागि जग्गा व्यवस्था भैसकेको छ । यसमा धेरै काम अगाडि बढिसकेको छ । अब लाईन लगेर, यहाँबाट अब ढल्केबरतिर एउटा, अर्को दमौली हुँदै बुटववल हुँदै गोरखपुरतिर अर्को, यो चाहीँ अब फटाफट काम बन्ने हो । यसकै सिलसिलामा मान्छेहरुले काम पनि पाउँछन् । नेपालको विजुली बेच्ने अवसर पनि मिल्छ ।