जो चोर, उसकै ठूलो स्वर’ !

राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग जोडेर चुनावी गठबन्धन गर्न खोजेको आरोप लगाएका छन् । सत्तारुढ तोड्न एमाले लागिपरेको आरोप ओलीमाथि लगाउँदै नेपालले पूर्वराजासँग जोडिएर राप्रपासँग चुनावी गठबन्धन गर्न खोजेको आरोप लगाएका हुन् । उनले एक सार्वजनिक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको बताउँदै राप्रपासँग गठबन्धन गर्न खोजेको बताएका हुन् । उनले भने, ‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन् ।’ ओलीका बारेमा नेता नेपालले भने, ‘तर उनी पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’ खुलेआम यसो भनिरहँदा ओलीलाई त उनले गाली गर्ने नै भए ।
किनकि जसको निषेधका कारण बाध्य भएर नेपालले पार्टी छाडेर नयाँ पार्टी गठन नै गर्नुप¥यो । तर उनलाई पूर्वराजाका बारेमा केही भन्ने हैसियत भने पटक्कै छैन । किनकि स्वयं नेता नेपाल नैतिकता भएका मानिस हैनन् । ब्राह्मण पुत्र भए पनि उनी कर्म पुत्र भने हैनन् । कम्युनिष्टको खोल ओढेर राजनीति गरेकाले उनी धर्मपुत्र पनि बन्न सकेनन् । त्यसैले त उनले आफ्ना बाबुको निधनमा किरिया नबसी प्रधानमन्त्रीको पद खान पाइन्छ कि भनेर बाहिरै बसेका थिए ।
उनी तिनै माधव नेपाल हुन् जसले ज्ञानेन्द्र शाह राजा हुँदा दाम चढाउन गएका थिए । दरबार हत्याकाण्डबारे बाहिर तथानाम बोल्ने माधवकुमार नेपालसँग छाती चौडा भएको भए उनले हत्याकाण्डको छानविन समिति बनाउँदा खुशीका साथ भूमिका निभाउन सक्नुपर्दथ्यो । तर उनी डराए । उनी कतिसम्म अवसरवादी र नीच प्रकृतिका नेता हुन् भने राजाले प्रधानमन्त्री बन्न चाहनेका लागि आवेदन खुला गरिँदा उनी पनि आवेदन भर्नेमा थिए । अरुलाई राजनीति सिकाउने नेता नेपाल आफू भने बक्सिसमा पद खान चाहन्थे । जो आफ्नो हैसियतमा बस्न सक्दैन उसले अरुलाई हैसियत सिकाउन पनि हुँदैन ।
यथार्थ के हो भने पूर्वराजाको शाहको हैसियत अहिले पनि एक सच्चा अभिभावकको नै छ । परेका बेलामा देशको शिर उँचो राख्न जतिबेला पनि तत्पर हुने अभिभावक हो भन्दा अत्युक्ति हुँदैन । तर फोहरी राजनीतिले राजसंस्थाको महत्व बुझ्न खोजेन । स्वार्थका लागि
उनीहरु नै राजा बन्न खोजे । जसको परिणाम देशले भोगिरहेको छ ।
कुनै समय राजसंस्था नै मेरो संसार भन्दै हिँड्ने कमल थापा अवसरवादी भएकै कारणले गर्दा अहिले राजसंस्थाको एजेन्डा त्यागेको भन्दै हिँडिरहेका छन् । आफू मात्रै अध्यक्ष बन्न पाए दरबारको बस्सिस भनेर जनतालाई ढाँट्दै हिँड्ने र युरोपेली युनियनबाट पैसा खाएर राजसंस्था फाल्न राजी भएका कमल थापाले लामो समयसम्म राजावादीहरुलाई मूर्ख बनाए । जब उनीहरुले यसपालि राप्रपा अध्यक्षबाट हराइदिए तब उनले पार्टी नै छाडेर अर्को पार्टी खडा गरे । त्यसरी माधव नेपालजस्ता नेताहरु आफ्नो दुनो सोझाउनका लागि जस्तोसुकै कदम पनि चाल्न सक्छन् । दिनरात एमसीसीको विरोध गर्ने नेपालले केही सीप नलागेर सत्ता नै छाड्न पर्ने भएपछि र चुनावी एकता नहुने खतरा भएपछि एमसीसी स्वीकार्न बाध्य भए । आसन्न चुनावमा पनि गठबन्धन नबने हो भने एक सिट पनि जित्ने सम्भावना छैन । अनि ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने नेपाली उखानझैं अहिले पूर्वराजालाई किन मुछ्नु ?