दलहरुमा नीति–सिद्धान्तभन्दा स्वार्थको राजनीति हावी

Home Feature राजनीति

अपवित्र गठबन्धनको कसरत


काठमाडौं । लोकतन्त्रको पक्षधर भनेर पुरानो कोट लगाएर हिँड्ने पार्टी नेपाली कांग्रेस छ । उसले हरेक परिवर्तनको जश लिन्छ । त्यसकै खोल ओढेर हिँड्छ । अर्को छ कम्युनिष्टको खोल भिरेर हिँड्ने नेकपा । यो नेकपाभित्र नेमकिपाबाहेकका सबै कम्युनिष्ट पार्टीहरुको अगाडिको शब्द शुरु हुन्छ । तेस्रो धार बोकेको पार्टी हो राप्रपा । उसले सदैव हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको छ । त्यसबाहेकका विभिन्न समूहहरु आज छन् भोलि छैनन् । यही गतिले नै चलिरहेको छ नेपाली राजनीति वर्षौंदेखि । तर पछिल्लो समय दलहरुबीच स्वार्थ जोडिएर गठबन्धन हुँदै गएको छ ।
जस्तो कि २०७४ सालमा कांग्रेस र माओवादी तथा एमाले र माओवादीबीचको गठबन्धन । कहिँ कहिँ कांग्रेस र जसपा । क्षणिक स्वार्थको गठबन्धन । अनि त्यो गठबन्धन फेरि गडबडबन्धनमा परिणत भएर एमाले–माओवादीको चुनावी गठबन्धनपछि भएको एकताले बनेको नेकपा र फेरि टुक्रिएपछि पुरानै अवस्थामा पुगेको तिक्ततापूर्ण समय । फेरि त्यही गठबन्धन जोडिन थालेका घटना परिघटना । रोचक त के भने स्वार्थ मिल्ने भएपछि कांग्रेस र कम्युनिष्टबीचको गठबन्धन असाध्यै रोचक तरिकाले टाँसिने गर्छ । चाहे २०४६ साल होस् वा २०६२–६३ को आन्दोलन किन नहोस् । अनि अहिले त कम्युनिष्ट र कम्युनिष्टबीचको लडाइँमा फेरि निर्णायक भूमिका खेलेर कांग्रेसको नेतृत्वमा सरकार बन्नु । जसमा जसपा र लोसपाको साथका साथै तीन कम्युनिष्ट दलहरुको पनि समर्थन ।
यो गठबन्धनलाई लोकतन्त्र जोगाउने सूत्रको रुपमा लिइए पनि गठबन्धन भने कुनै पनि कोणबाट पवित्र हैन । एकातिर एमसीसी पारित भएपछि राष्ट्रिय जनमोर्चाले छाडेको छ भने अर्कातिर सत्ताको गठबन्धन चुनावी गठबन्धन पनि गर्ने गरी अगाडि बढेपछि झनै गन्जागोल देखिएको छ । चुनावी गठबन्धन गर्ने र नगर्नेबीच निकै नै रस्साकस्सी चलिरहेको छ । त्यसो त अर्को रोचक पक्ष चुनावका लागि झनै कित्ता फरक देखिएका नेकपा एमाले र राप्रपाबीच पनि एकता हुने विषय अर्को नौलो हो । हुनत हालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले नै साथ दिएर २०७४ सालको चुनाव जितेका थिए । तर समग्रमा देशभर नै
चुनावी एकता हुने भन्ने चर्चा छ । अर्कातिर त्यसअघि नै राप्रपा र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रबीच एकता हुने सम्भावना देखिएको छ ।
मिश्रको कित्ता राप्रपामा समाहित भयो विवेकशील साझा फेरि अर्को सशक्त भएर उभिने बताइन्छ । तर मिश्र राप्रपामा गए के बँचेको पार्टी कांग्रेसमा आउने हो त ? जे पनि हुन सक्छ । आखिर जतिसुकै प्रयास गरे पनि भारतको देखासिकी सबै चिजमा गरे पनि दलीय देखासिकी हुन सकेन । त्यहाँको उर्भर हुँदै गएको आम आदमी पार्टीजस्तो नेपालमा शक्ति बन्न सकेन ।
जेहोस् पवित्र हो कि अपवित्र होस् नेपालका जतिसुकै दर्जन पार्टी भए पनि एकअर्काका परिपुरक जस्ता छन् । अनि मागी खाने भाँडो बनाएपछि स्वभाविक रुपले नेताहरु स्वार्थका दास हुन् र शक्तिका पुजारी हुन् । नीति र नैतिकता गुमाएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसरी चुनावमा भाग लेलान् भन्ने चासो पनि छ ।