पेटीमा हिँड्ने कि सामान किन्ने ?

समाचार

बल्लबल्ल काठमाडौंको सडकमा थुप्रिएको फोहोरको व्यवस्थापन भएको छ । तर पनि त्यसको दुर्गन्ध सर्वसाधारणको नाकमा अहिले पनि छ । दुर्गन्ध हटाउने अनेक प्रयन्त नभएको होइन महानगरबाट । तर त्यो दुर्गन्धले पु¥याएको मानसिक पीडाले पनि मानिसलाई मुक्ति मिलेको छैन । अहिलेलाई त समाधान भयो । केही दिनलाई त फोहोरको थुप्रो देखिन्न । तर भोलि फेरि कसलाई के सनक चढ्छ, फोहर उठ्न थाल्छ र राजधानी फोहरमय हुन बेर लाग्दैन । फोहरको उचित व्यवस्थापन कहिले पनि भएन राजधानीमा । त्यसबारेमा कसैले दीर्घकालीन समाधान सोचेको पनि देखिँदैन । यदि सोचिएको हुन्थ्यो भने त्यो कामलाई कार्यान्वयनमा लान नयाँ मेयर बालेन शाहले अबेर गर्थेनन् होलान् । उनी आफै पनि इन्जिनियर भएकोले फोहोरको व्यवस्थापन कसरी र कहाँ गर्ने, पछि गएर त्यसको व्यवस्थापनका लागि विकल्प के हुनसक्छ भन्ने विषयमा सोचेका पनि होलान् । तर केही कुरा बाहिर आएको छैन । भन्नलाई त फोहोरबाट मोहोर कमाउँ भन्नेहरु पनि नभएका हैनन् राजधानीमा । फोहोरबाट प्राङगारिक मल बनाउने कुरा पनि नउठेको होइन । दस वर्ष अगाडि नै फोहोरबाट खाना पकाउने ग्यास निकाल्ने गरी उद्योग खोल्ने तयारी केही उद्यमीहरुले गर्ने जमर्को गरेका थिए । तर फोहोरको नाममा राजनीति गर्नेहरुले त्यस किसिमको सोचाई राख्नेहरुले तिनलाई बदनाम गरे ।
फोहोरको नाममा राजनीति गर्ने मात्रै नभएर फोहोरको नाममा कमाउन खोज्नेहरुले पनि फोहोरबाट ग्यास उत्पादन गर्ने काममा तगारो लगाएको मानिन्छ । यदि सरकारले त्यसैबेला फोहोरबाट ग्यास उत्पादन गर्न कारखाना खोल्ने अनुमति दिएको भए आज राजधानी मात्रै होइन राजधानी वरपरका फोहोर पनि त्यही कारखानामा पुग्ने थियो र नेपाली ग्यास घरघरमा बलिरहेको हुन्थ्यो ।
त्यस्ताहरुलाई समेट्न सक्छन् कि सक्दैनन् बालेन शाहले । त्यसो त बालेन शाहले चाहेको खण्डमा काम गर्न सक्छन् भन्ने धेरैलाई विश्वास छ । आम जनताको त्यो विश्वासलाई भाँचिन दिनुहुँदैन महानगर प्रमुख बालेनले । उनले चाहे फोहोरको उचित व्यवस्थापन त गर्न सक्छन् नै, फुटपाथमा व्यापार गर्नेहरुलाई पनि एउटा गतिलो ठाउँ व्यापारका लागि उपलब्ध गराउन सक्छन् । नभए त सडकमा हिँड्नेले व्यापारीलाई गाली गरिरहन्छन् । र व्यापार गर्न नपाउनेले नगरका कर्मचारीहरुलाई गाली गरिरहन्छन् । काम सजिलो छैन । पेटीमा हिँड्नेलाई पनि सजिलो हुनेगरी बालेन शाहले काम गर्नुपरेको छ भने पेटी सामान असरल्ल पारेर व्यापार गर्नेको पनि उनले व्यवस्थापन गर्नुछ । तर पेटी प्राथमिकतामा पहिलो नम्बरमा को आउँछ, त्यसतर्फ सबैले सोच्नु जरुरी छ । हैन भने सडकमा पेटीको व्यवस्था नै किन गर्ने ?