जनार्दनलाई चोख्याउन यस्तो चलखेल

Home Feature

काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई चोख्याइएको छ । उनीमाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा रहेका एमाले सांसदहरुको फरक मतका बाबजुद चोख्याइएको छ । एमालेले संसददेखि सडकबाट करका दर हेरफेर गर्न बिचौलिया प्रयोग गरेको भन्दै शर्मालाई छानबिन समितिको दायरामा ल्याएर कारबाही गर्न आवाज उठाएको थियो । शर्माले राजीनामा नै दिएका थिए ।
तर त्यसपछिको निरन्तर षड्यन्त्रको जालमा परेसँगै एमालेका समितिमा भएका सांसदहरुले ‘अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ बताएका छन् । त्यसैले त समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा फरक मत राखेर एमाले सांसदले शर्मालाई चोख्याउन मद्दत गरेको आरोप पनि कतिपयले लगाएका छन् । समितिमा रहेका एमालेतर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् । ‘अनुसन्धान नै पूर्ण र पर्याप्त हुन नसकेका कारण यत्तिकै आधारमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न सकिँदैन,’ फरकमतमा उनीहरुले भनेका छन् ।
बजेट निर्माणका क्रममा मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत व्यक्तिसहित छानबिनको दायरामा रहेकाहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको, बजेट निर्माणमा संलग्न कर्मचारीको विवरण नदिएको उनीहरुको फरक मतमा उल्लेख छ ।
मन्त्रालयमा रातिको सुरक्षा जिम्मा लिएका सुरक्षाकर्मीसँग पनि सोधपुछ गर्न अवरोध भएको उनीहरूले जनाएका छन् । ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्वअर्थमन्त्री शर्मालाई सफाइ दिएको हो । अर्थ मन्त्रालयले सीसीटीभीको फुटेज नष्ट गरेको समेत आरोप लगाएको छ । मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर भएका एक सेकेन्डको क्लिपबाट अनुसन्धानको निष्कर्षमा पुग्न नसकिने एमालेको तर्क छ । जतिसुकै आरोप लगाइएको भए पनि प्रतिवेदन नै बुझाइसकेपछि अब उनी चोखिएका छन् । शर्मा फेरि अर्थमन्त्री बन्ने स्रोतको दाबी छ ।
समितिले तयार गरेको छानबिनसम्बन्धी कार्यविधिमा आवश्यक देखेमा छानबिनको दायरामा परेका सम्बन्धित व्यक्तिको टेलिफोन संवाद (कल डिटेल) को विवरण माग गर्नेसम्मको योजना थियो तर पूर्वअर्थमन्त्री जनार्दन शर्मा फस्ने संकेत पाएपछि सत्तापक्ष यसतर्फ अघि बढ्नै नचाहेको एमाले सांसदको आरोप छ । तर उनीहरुलाई एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले नै रोकेको दाबी स्रोतको छ ।
शर्मा आफैंले पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको र दोस्रो तहका नेताहरुसँग पनि भेटेरै कुराकानी गरेपछि पोखरेलद्धयको नेतृत्वमा शर्मालाई कारबाही गर्न नपर्ने खालको प्रतिवेदन बनाउनतिर दबाब दिएका थिए । एमालेले जे ठहर गरे पनि अब आइन्दा भने संसदीय छानबिन समितिको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ । करको दर हेरफेर गर्न बजेट निर्माणको अघिल्लो दिन एक पूर्वकर्मचारी अर्थ मन्त्रालयमा गएको आरोप लागे पनि समितिले उनीमाथि बयानसमेत नलिई तयार गरेको प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई पेस गरेको छ । सीसीटीभी फुटेजमा धमिलो मान्छे देखिएको वा नदेखिएको प्रष्ट नभएको भन्दै अर्थमन्त्रीलाई ‘क्लिन चिट’ दिइएको हो ।
माओवादीभित्र एमालेप्रति नरम रहेका शर्माले एमालेका नेताहरुसँग यस विषयमा आफैले कुराकानी गरेका थिए । त्यसैले त ईश्वर र शंकर पोखरेलसँग शर्मा आफैंले कुराकानी गरेर समितिमा
रहेका एमाले नेताहरुलाई नरम बनाएका थिए । एमालेले असहमति राख्ने तर ठूलै विरोध गरेर नजाने अवस्थामा नीति लिएसँगै प्रतिवेदन फितलो आएको हो ।
समितिले अर्थमन्त्री, अर्थ सचिव, राजश्व सचिवदेखि राजश्व व्यवस्थापन महाशाखा प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक, पूर्वअर्थसचिव र निवर्तमान अर्थसचिव लगायतसँग बयान लिएको थियो । तर उनीहरू कसैले पनि गत १४ गते मध्यराति कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएका थिए । सबैको एकमत आउँदा छानबिनमाथि गठबन्धनको प्रभाव परेको आशंका गरिएको छ । दुःखको कुरा त के भने जसले प्रश्न उठायो उही मौन बस्ने विरोधका स्वर सानो बनाउने अवस्था आएपछि एमालेभित्र रडाको मच्चिएको छ ।
यसको पछाडि आगामी संघीय संसदको निर्वाचनको प्रसङ्ग पनि जोडिएको छ । संसदको चुनावपछि मिल्नु नै छ भने अहिलेदेखि नै चाँजोपाँजो किन नमिलाउने भन्नेमा एमाले रहेको छ । त्यतिमात्र होइन हालका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम पनि जोडिएको छ । उनलाई बचाउन माओवादी शान्त बस्ने सहमतिमा एमालेले जनार्दनलाई चोख्याएको हो । गर्भनर अधिकारी एम अधिकारीका नाममा एमालेको समितिमा रहेका छन् । यति ठूलो जिम्मेवारी बहन गरेको व्यक्ति कुनै पार्टी विशेषको कार्यकर्ताको रुपमा सक्रिय रहेसँगै त्यसले ठूलै तहल्का पिटेको छ ।