राष्ट्रपति भण्डारीको भ्रमण मोह

Home Feature

काठमाडौं । राज्यको धन कसरी सिध्याउन सकिन्छ भनेर सिक्ने हो भने शितल निवास पुगे हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदै गर्दा त्यसअघि नै उनले सकेसम्म पदीय दुरुपयोग गर्दै देश घुम्ने योजना बनाएकी जस्तो पाइन्छ । नयाँ राष्ट्रपतिको चयन गर्नुअघि नै भण्डारी विभिन्न कार्यक्रम बनाएर मुलुकको भ्रमणमा लागेकी छिन् । सरकारी खर्चमा उनले आफ्नो भ्रमण तालिका बनाएको देखिन्छ । अहिलेको अवस्थामा सरकार गठन र सरकारले पठाएका कानूनी ‘बिजनेश’
(अध्यादेश जारी) लगायतका विषयलाई छाडेर राष्ट्रपतिले विभिन्न कार्यक्रम बनाएर देश दौडाहा गर्दा सरकार गठनमा समेत प्रभाव पर्ने जानकारहरु बताउँछन् ।
यस क्रममा मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा शुरु भएको विराट एक्स्पोको सातौं संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उद्योग संगठन मोरङको आयोजनामा हप्ता दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहेका छन् । आयोजक संस्था उद्योग संगठन मोरङका अनुसार राष्ट्रपतिलाई निम्ता दिएर सो एक्स्पोको उद्घाटन गराइएको हो । राष्ट्रपति बाहिर निस्कदा पूर्ण सुरक्षाका साथ निस्कनु पर्ने भएकाले राज्यको ठूलो जनशक्ति त्यहाँ खर्च हुने गरेको छ । मंसिर २८ गते राष्ट्रपति भण्डारी आफ्नो जन्मथलोमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटनगर्न गइन् । बुधबार राष्ट्रपतिले रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा बनाइएको उक्त शिक्षालय भवन उद्घाटनगरिन् । राष्ट्रपति भण्डारीको पहलमा माइतीघर आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लगानीमा भवन बनाइएको थियो । उनी त्यहाँ मात्र गइनन् आफ्नो माइतीघरको झ्यालमा पुगेर तस्वीर पनि खिचाइन् । आफ्ना छोरीहरुलाई छेउँमा राखेर आफू बीचको झ्यालमा बसेर तस्बिर खिचाइन् । उनले निर्वाचन सम्मुखको बेला सोलुखुम्बु पुगेर अस्पताल उद्घाटन गरेकी थिइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गरेर फर्केकी थिइन् । अरुलाई आचार संहिता लागे पनि राष्ट्रपतिले आचार संहितालाई देखेकी थिइनन् ।
त्यसैगरी एक वर्षअघि कात्तिकमा राष्ट्रपति भण्डारी काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ पुगेकी थिइन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले अवलोकन गरेको स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म थियो ।
राष्ट्रपति भण्डारी आफू पदबाट कार्यभार सकेर घर जानुअघि नै मुलुकका विभिन्न क्षेत्रको भ्रमण गर्ने र आफू निकट रहेका व्यक्तिहरुलाई राष्ट्रपति कार्यालयमा बोलाएर भेटघाट गर्ने उद्देश्य राखेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारीले देशका विभिन्न भागको भ्रमणको इच्छा राखेकी हुन् । सरकारी खर्चमा हुने यो भ्रमण निकै महंगो हुन्छ । ‘राष्ट्रपति कार्यालयका सचिवालय सदस्यहरु शुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिनुपर्ने, त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट पठाउनु पर्ने र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले व्यवस्थापनमै खर्चिलो हुने गरेको छ’, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।
राष्ट्रपति जाँदा नेपाली सेनाको हेलिकोप्टर चार्टड गर्नुपर्ने र त्यहाँ पनि सचिवालयका अधिकारीहरु, आफन्तहरु र सुरक्षाकर्मीहरुको लावालस्कर हुँदा ठूलो रकम राज्यकोषबाट खर्च हुने भएकाले राज्यकोषको चरम दुरुपयोग हुने
स्रोतको दाबी छ । यसअघि सरकारले ल्याएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने बेलामा पनि आफूले अब पद छाड्ने भन्दै ठूलो संख्यामा सुरक्षाकर्मीदेखि विज्ञ तथा आफन्तहरुलाई पटक पटक गरी शितलनिवासमा बोलाएर राज्यकोषको दुरुपयोग गरेकी थिइन् ।
त्यसो त राष्ट्रपति स्वयंले भन्दै आएकी छिन् कि राष्ट्रपतिको पद के हो भनेर पनि बुझ्नु पर्छ जनता र सबैले । जब राजसंस्था नै फालेर राष्ट्रपति राख्ने हो भने त्यसको गरिमा पनि त हुनुपर्यो भन्ने तर्क गणतन्त्रमा जायजै होला । एपीवान टेलिभिजनमा अन्तर्वार्ता दिँदै गत हप्ता उनले आफूलाई राजाको हैसियतमा राखेर आफ्नो सम्मान हुनुपर्ने तर्क प्रस्तुत गर्दै गएकी थिइन् । उनी संघर्ष गर्दै आएर राजसंस्था फालेको भन्ने आँट गर्न सकिनन् । केबल राजसंस्थाको विकल्पमा आफू रहेकोसमेत संकेत गरिन् ।