प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ, ३० वटा परे रिट

Home Feature राजनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको प्रारम्भिक सुनुवाइ आगामी बिहीबार र शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतका अनुसार संवैधानिक इजलासमा नपरेका निवेदनहरु बिहीबार र संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ ।

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार बनाउन माग गर्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा पाँच दलीय गठबन्धनले मुद्दा दायर गरेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिले दोस्रो पटक गरेको संसद विघटन विरुद्धसमेत मुद्दा दायर गरेका छन् । यसअघि पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चले फागुन ११ गते संसद ब्युँताइदिएको थियो ।

तर जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेकी थिइन् ।

सर्वोच्चमा ३० वटा मुद्दा परेका छन् । यसअघि पहिलो पटक संसद विघटन हुँदा त्यस विरुद्ध १३ वटा मुद्दा परेका थिए ।