हुतिहारा कांग्रेस–एमाले, कहिलेसम्म बोक्ने माओवादीलाई ?

Home Feature

प्रचण्डको जालमा ओली र देउवा


काठमाडौँ । नेपाली राजनीतिमा सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो हो सशस्त्र द्वन्द्वबाट चम्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई । १७ हजार मान्छे मारेर आएकाले पहिले धम्कीबाटै नेपाली कांग्रेस र नेपाली एमाले त्रसित थिए भने अहिले अपराधको पोल खुल्ने डरले त्रसित छन् । प्रचण्डले पाँच हजार मानिस मारेको त खुलेआम नै सार्वजनिक रुपमा भनेका थिए । देश लुट्न पल्केकैले पनि प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पाँच पटक र एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।
अझ नयाँ दल रास्वपाका सभापति रवि लामिछाने पनि उनीहरुकै दाँजोमा पुग्न लागेका छन् । उनी दुई पटक उपप्रधानमन्त्री भएका छन् । उनी पछिल्लो समय सहकारी प्रकरणमा मुछिएका छन् र तीन ठूला दलकै पछि लागिरहेका छन् आपराधिक क्रियाकलाप गर्न । गत वर्षको अवस्था हेर्ने हो भने माओवादीलाई नै सबै फाइदा पुगेको छ । उत्तारचढावलाई नियाल्ने हो भने कम्युनिष्ट घटकहरूमध्ये माओवादीलाई सत्ता राजनीतिमा फाइदा देखिएको छ । २०७९ पुस १० देखि अहिलेसम्म निरन्तर सत्ताको नेतृत्व गर्ने अवसर माओवादीलाई प्राप्त भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेयता नेपाली कांग्रेस र एमाले पालैपालो सरकारमा सहभागी भएका छन् । मुलुकको पहिलो र दोस्रो दल भए पनि कांग्रेस–एमालेलाई तेस्रो दलको रुपमा रहेको माओवादीले सरकारमा नेतृत्व गरिरहेको छ । सत्ताबाट बाहिरिएको एक वर्ष ६ दिनमा नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारमा फर्कियो । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सत्ता सहकार्य तोडेपछि फागुन २१ गते यता एमाले सरकारमा फर्किएको छ तर सरकारमा लय मिलाइरहेको छैन । महत्वपूर्ण मन्त्रालयको जिम्मा एमाले आफूले लिएको छैन । अर्थ, सञ्चार, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीलाई दिएको छ भने गृह मन्त्रालय अर्को दल रास्वपालाई दिएको छ ।
आफूलाई भने ऋण नै ऋणले भरिएको भौतिक मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ तर पनि सरकारमा निर्णायक दलको भूमिकामा रहेको छ । १५ महिना अघि २०७९ पुस १० गते एमालेको बलमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए । त्यतिबेला एमाले–माओवादी समीकरण अनुसार संघ र प्रदेशसम्म सबै राजकीय पदमा भागबण्डा मिलाइएको थियो । तर राष्ट्रपतिको निर्वाचनसम्म
आइपुग्दा गठबन्धन टुट्यो । तीन महिना नपुग्दै फागुन १६ गते समीकरण भत्किए पनि माओवादीले कांग्रेससँग सहकार्य गर्यो । कांग्रेस–माओवादीको पुरानै गठबन्धन बिउँताएर सत्ता लम्ब्याएका प्रधानमन्त्री प्रचण्ड एक वर्ष नपुग्दै फेरि एमाले–माओवादीसहितको अर्को समीकरण बनाउन सफल भए । उनी १५ महिना यता कहिले कांग्रेस त कहिले एमालेलाई भर्याङ बनाएर सरकारमा रहिरहे । समग्रमा हेर्ने हो भने माओवादीका लागि यो वर्ष सुखद रहेको छ । प्रचण्डले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ समीकरण बनाइएको बताउँदै आगामी २०८४ सालमा कम्युनिष्ट घटकसँग गठबन्धन गर्ने आधार तय गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका प्रमुख योजनाकार प्रचण्ड भएको र आफूले समर्थन गरेको प्रष्टीकरण दिएपछि गठबन्धन बनाउने र भत्काउनेमा प्रचण्ड माहिर रहेको पुष्टि भएको छ ।
फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले छिमेकी मुलुकको दबाब वा प्रभावमा नभई आफ्नै बुद्धिले गठबन्धन बनाएको दाबी गरेका थिए । नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य जेसुकै भए पनि ओली–प्रचण्ड पुनर्मिलनले ठुलै राजनीतिक तरंग उत्पन्न भएको छ । यसले गर्दा छिमेकी मुलुकमासमेत तरंग पैदा भएको हो । छिमेकी मुलुक चीनले गठबन्धन बनेलगत्तै बधाई दिएको थियो भने भारतले केही समय पछि बधाई भनेको थियो । आम निर्वाचनपछि बनेको समीकरण तोडेर माओवादी कांग्रेसको गठबन्धन बनेपछि नेकपा एमालेले २०८० लागेको दिनबाटै कांग्रेससँगको गठबन्धनलाई तोड्ने प्रयास गरेको थियो । शुरुमा एमालेको कुनै पनि जोड चलेको थिएन । जब सरकारमा रहेकै बेला माओवादीका मन्त्रीहरूले कांग्रेस मात्रै यो देशको भ्रष्ट पार्टी हो भन्ने ढंगबाट व्यवहार प्रस्तुत गर्न थाले त्यसपछि गठबन्धनमा केही खटपट आयो ।
बजेट भाषणपछि माओवादीका नेताहरूले संसदमै विरोध गरे । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे । यी र यस्तै कारणले गठबन्धन भत्किनमा सहयोग पुग्दै गयो । कालान्तरमा कांग्रेसको महासमिति बैठकलाई देखाएर माओवादीले गठबन्धन तोड्यो । त्यो भन्दा पनि एमालेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन फुटाइदियो । गत मंसिरमा मिसन ०८४ को नारा बोकेर मध्यपहाडी यात्रा गरेको एमालेले फागुन २१ मा आएर गठबन्धन भत्काएको थियो । माओवादीहरूले ओली–प्रचण्डको पुनर्मिलनले २०८० साललाई वामपन्थी एकताको आधार वर्षका रूपमा व्याख्या गर्न थाले तर एमालेहरूले यसलाई गठबन्धन भन्दा पनि समीकरणकै रुपमा लिएका छन् ।