कांग्रेसमा आन्तरिक कलह चर्किंदै

Home Feature

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो । खास गरी सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच इलाम २ का लागि उम्मेदवार छनोटमा विवाद भएको हो । विवादकाबीच कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।
यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम–२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए । तर देउवाले आफ्नै उम्मेदवार चयन गरेपछि विवाद बढेको छ ।
त्यसो त कांग्रेसभित्रको विवाद भने नयाँ होइन । देउवा कुनै पनि हालतमा आफूले भने बमोजिम बाहेक इतर पक्षको माग सुन्न तयार हुँदैनन् । विधान बमोजिम आगामी महाधिवेशनमा देउवा पुन सभापतिको उम्मेदवार बन्न पाउँदैनन्, त्यसैले उनी इतर पक्षबाट नै सभापति उठाउने तयारीमा छन् । देउवा जसरी पनि कोइराला परिवारभित्र फुट ल्याउन चाहन्छन् । त्यसो त कोइराला परिवार पनि एक आसपमा मिल्न नसकेको विगतको अनुभव छ । इतर पक्षबाट सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दिने निश्चित छ । अघिल्लो महाधिवेशनमा पनि कोइरालाले देउवासँग प्रतिश्पर्धा गरेका थिए । उनले चालिस प्रतिशत भन्दा बढी मत ल्याएका थिए । शेखरले सभापतिका लागि तयारी गरिरहँदा विपी पुत्रसमेत रहेका डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा आफूले पनि सभापतिमा उम्मेदवारी दिने सार्वजनिक गरिसकेका छन् । स्रोतका अनुसार देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षबाट डा. शशांकलाई सभापतिको उम्मेदवार बनाउने आश्वासन दिएका छन् । देउवाले सभापतिमा शशांकलाई उम्मेदवार बनाएर पत्नी आरजूलाई महामन्त्री बनाउन चाहन्छन् । शशांकलाई उम्मेदवार बनायो भने इतर पक्षको मत पनि तान्न सकिने देउवाको रणनीति छ । देउवा आफ्नै जीवनमा राजनीतिमा आरजूलाई स्थापित गराउन चाहन्छन । कांग्रेसभित्र आरजू हाबी हुँदै आएकी छन् । देउवाले लिने हरेक निर्णयमा आरजूको हात हुने चर्चा चल्ने गर्दछ ।
बाध्यतामा परेर देउवाले शेखर कोइरालाका केही माग पूरा गरेजस्तो गरेपनि अहिले पनि उनलाई प्रतिश्पर्धीको रुपमा मान्यता दिएका छैनन् । महाधिवेशनमा आफूसँग प्रतिश्पर्धा गरेका शेखरलाई देउवाले दोस्रो वरीयतासमेत दिएका छैनन् । उनी आफ्ना विरोधीलाई पेलेरै जाने रणनीति लिने नेता हुन् । पार्टी भित्रको विवाद नमिलाउँदा कांग्रेसभित्र निर्वाचनमा अन्तर्घात हुने गर्दछ । इलाम र बझाङमा हुने उप निर्वाचनमा पनि कांग्रेसभित्र विवाद नै देखिएको छ । त्यसको परिणाम अब निर्वाचनले नै देखाउला । देउवाले पेलेर जान थालेपछि शेखरले पनि आफ्नो क्षेत्रमा देउवालाई काउन्टर दिन थालेका छन् । कोशी प्रदेशमा कोइरालाले एमालेसँग मिलेर आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । जतिबेला केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन थियो । अहिले केन्द्रमा एमाले र माओवादी गठबन्धनको सरकार हुँदा शेखरले भने अब एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउनु पर्ने र राजनीतिक स्थीरता दिनुपर्ने बताउँदै आएका छन् ।
यो विषयमा देउवा मौन छन् । पछिल्लो समय इतरपक्ष गृहमन्त्री रवि लामिछाने विरुद्ध आक्रमक हुँदा देउवाले उनीप्रति नमर नीति अख्तिार गरेका छन् । महामन्त्री गगन थापाले संसदमा उभिएर लामिछानेमाथि संसदीय छानविन समिति बनाउनु पर्ने नत्र सदन अवरुद्ध गर्ने चेतावनी दिँदा देउवाले त्यही मागलाई राखेर संसद अवरुद्ध नगर्ने नीति लिएका छन् । कांग्रेसको यो बटमलाइन गृहमन्त्री लामिछानेले कानुन उल्लंघन गरेकाले उनीमाथि अनुसन्धान हुनुपर्छ भन्ने भावनाले प्रेरित भन्दा पनि लामिछानेले आफ्नालाई अनुसन्धानको दायराबाट जोगाउने प्रयासमा रहेको स्रोत बताउँछ । केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मामा अहिले सुन तस्करी प्रकरण मात्र नभइ नक्कली भुटानी शरणार्थी प्रकरण पनि छ । शरणर्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा समेत तानिने अवस्था छ । देउवाका विश्वासपात्र बालकृष्ण खाण यसअघि नै अनुसन्धानमा तानिएर धरौटीमा छुटेका छन्। उनीमाथि अनुसन्धान जारी छ ।
अब ब्यूरोका नेतृत्व श्याम ज्ञवालीले गर्दा सो प्रकरणको अनुसन्धान कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू देउवातर्फ सोझिने संकेत पाएपछि कांग्रेस अत्तालिएको छ । यदि आरजूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भए त्यसले समग्र पार्टीलाई नै क्षति हुने निष्कर्ष निकालेको कांग्रेसलाई मनाउन सिआईबीबाट ज्ञवालीलाई अन्यत्रै सरुवा गर्ने तयारी भइरहेको बताइएको छ । अनुसन्धानका क्रममा यस प्रकरणमा मुछिएकाहरुले यो प्रकरणमा आरजू र खाणकी पत्नी मन्जुको पनि संलग्नता रहेको आरोप लगाइसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द भएको छैन । ब्युरो प्रमुख बज्राचार्य हुँदा यो प्रकरणमा नाम मुछिएका आरजु र मन्जुमाथि अनुसन्धान भएन ।
उनीहरुको नाम आएपछि एकाएक अनुसन्धान सुस्त भएको थियो । अनुसन्धान सुस्त हुनु र आरजु र मन्जुमाथि अनुसन्धान नै नहुनुको पछाडि कांग्रेसकै भूमिका रहेको आरोप लाग्ने गरेको छ ।अब ब्यूरोका नेतृत्व ज्ञवालीले गर्दा सो प्रकरणको अनुसन्धान कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू देउवातर्फ सोझिने संकेत पाएपछि कांग्रेस अत्तालिएको छ । यदि आरजूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भए त्यसले समग्र पार्टीलाई नै क्षति हुने निष्कर्ष निकालेको कांग्रेसलाई मनाउन सिआईबीबाट ज्ञवालीलाई अन्यत्रै सरुवा गर्ने तयारी भइरहेको बताइएको छ । यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा ज्ञवालीकै नेतृत्वमा भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलगायत पक्राउ परेका थिए । पछि कांग्रेसको चर्को विरोधपछि ज्ञवालीलाई रानीपोखरीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो । अहिले उनै ज्ञवाली ब्यूरोको नेतृत्वमा आएपछि उनले पहिले आफूले सुरु गरेको र अधुरोमै रोकिएको अनुसन्धानलाई निरन्तरता दिने देउवालाई डर छ ।