नयाँ समझदारी र सम्झौताबाट निष्कर्ष निकालौं ः पूर्वराजा ज्ञानेन्द्र

Home Feature

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ संवाद र सर्वपक्षीय सम्मेलन आवश्यक रहेको धारणा राख्नुभएको छ । आर्थिक अभावले नागरिकले सिप प्रयोग गर्न नपाएका भन्दै शाहले नयाँ राष्ट्रिय सोच बनाउन आवश्यक देखिएको बताउनु भयो ।
शनिबार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको बताउनु भयो । ‘अब सुध्रौँ, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ । मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ शाहले भन्नुभयो ।
परिवर्तन पीडादायी भएपनि आवश्यक रहेको उहाँको भनाइ थियो । ‘परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पांग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा
हराउँदैन,’ उनले भने । अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेको उल्लेख गर्दै शाहले देश छाडेर विदेशमा ताप र पीडा खप्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भयो ।
यस्तो थियो सम्बोधनको पूर्ण पाठ ः
उपस्थित महिला तथा सज्जनवृन्द,
प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा म गौरब अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ। साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो । नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलंगामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ । अनेकौं अग्ला चूचुरा, भीर, पाखा, खोंच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला कर्णाली, तिला र सिँजा नदीद्धारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ । नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र – खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रह्यो । कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पती जन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् ।
कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ – हामी यहाँका वासिन्दा अत्यन्तै सहदवी, अत्यन्त कर्मनिष्ट र परस्परमा अत्यन्त आत्मीय छौं। आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो। अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरबप्रति आस्था नै हाम्रो ठूलो पूँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ । आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर स्वै त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौ, देश बनाउनका लागि उठी र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।
यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठीनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम शीप र श्रोतको सहि उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफु जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ । आज हिजो होइन हामी आफै बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधै आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।
अब सुधौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ । अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यसक्षेत्रका उत्साहपूर्ण उपस्थितीका लागि सबैमा धन्यवाद
जय नेपाल । २०८० चैत्र २४ गते
जुम्ला खलंगा