प्रचण्डको जापान भ्रमण सिंगापुर दौडजस्तै !

Home Feature राजनीति

काठमाडौं । २०४६ सालमा बहुदल आएपछि दलहरु स्वतन्त्र त भए नै तर यसरी अस्थिर होलान् भन्ने कुराको कल्पना सायदैले गरेका होलान् । त्यतिबेला कांग्रेस र कम्युनिष्ट थिए । कम्युनिष्टमा विभाजित केही दल थिए । तर अहिले त दलहरुको बाढी छ । गल्लीगल्लीमा पार्टी छन् । निर्वाचन आयोगमा मात्रै अहिलेसम्म एक सय २० बढी दल दर्ता भएका छन् । कतिपय परिचित दलहरु त दर्तासमेत नभइ नेपालमा फरक क्रान्ति ल्याउने भन्दै लागिरहेका छन् । विप्लव र किरणहरु यही धार समात्न खोजिरहेका छन् । जो निर्वाचन आयोगमा दर्ता नभए पनि नेपाली राजनीतिमा पकड बनाइरहेका छन् ।
नेपालमा दलहरु फुट्नु र जुट्नुमा खासै अन्तर छैन । अस्थिर राजनीति भएकै कारण दलका नेताहरु यता र उता गरिरहेका छन् । आफ्नो नीति भुलिरहेका छन् । स्वार्थका लागि जुट्ने र फुट्ने गरिरहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै सरकारमा रहेका वामपन्थी दलहरुले कांग्रेसबाहेकको छुट्टै मोर्चा बनाउने कोसिस गरिरहेका छन् । पाँच दलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले छुट्टै मोर्चा बनाउने कोसिस गरेका हुन् ।
कांग्रेसको मतले निर्वाचन जित्ने दाउमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाबीच छुट्टै मोर्चाको गृहकार्य भइरहेको होर । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने गरी यसको तयारी भएको स्रोतले बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान
भ्रमणबाट फर्केर आएपछि यसले मूर्त रुप लिने स्रोतको दाबी छ । ‘प्रचण्ड जापान भ्रमणबाट फर्केर आएपछि नयाँ मोर्चा गठन हुनेछ’, स्रोतले भन्यो । तर प्रचण्ड जापान किन गए भन्ने बारेमा केही बताइएको छैन ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति जापान गएको बताइए पनि त्यहाँको कार्यक्रम राजनीतिक बाहेक कुटनीतिक पनि हुनसक्ने बताइएको छ । प्रचण्डको राजनीतिक भेटघाटबारे भने केही खुलाइएको छैन । प्रचण्ड हालसालै भारत भ्रमण गरेका थिए । ‘जापान भ्रमण के हो भन्ने बारेमा केही खुलेको छैन, एक पटक नेताहरु सिंगापुर दौडिएका थिए त्यस्तै हो कि भन्ने आशंका छ’, नेकपा माओवादीका एक स्थायी समिति सदस्यले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रकृया अघि बढेको बेला नेपालका शीर्ष तहका नेताहरुले सिंगापुरमा चिनियाँ अधिकारीहरुसँग भेटघाट गरेको सार्वजनिक भएको थियो । अहिले पनि भारत भ्रमाण लगत्तै प्रचण्ड जापान जानुले त्यहाँ कुनै कुटनीतिक कुराकानी त भएन ? भन्ने आशंका जन्माएको छ । जापानमा चिनियाँ सरकारी अधिकारीहरुको भ्रमण रहेका बेलामा प्रचण्ड पनि जापान जानुले धेरै अर्थ बोेकेको निश्चित छ ।
प्रचण्ड जापान भ्रमणबाट आएपछि सत्तामा रहेका वामपन्थी पार्टीहरुले छुट्टै चुनावी मोर्चा बनाउने तयारी गरेका हुन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका थिए । जापानमा प्रचण्ड र चिनियाँ नेताहरुबीचको भेटले फेरि पनि २०७४ सालको झल्को दिइरहेको छ । एमाले र माओवादीबीच पहिले चुनावी र त्यसपछि पार्टी एकता भएको थियो ।
अहिले पनि प्रचण्ड फर्केपछि यदि एमालेका नेताहरुसँग हिमचिम बढ्यो भने बुझे हुन्छ फेरि चुनावी एकता हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरु नेपालमा वामगठबन्धन भएको हेर्ने इच्छा राख्छन् । त्यसो भएमा उनीहरुले खोजेअनुसारकै कारण वाम सरकारले दिने विश्वास उनीहरुको छ । त्यसकै लागि प्रचण्ड जापान गएका हुन सक्छन् । उनी फर्केपछि मात्र वाम गठबन्धनबारेमा चर्चा हुने बताएसँगै प्रचण्डले आफू अबको प्रधानमन्त्री हुनका लागि कोसँग मिलेर स्वार्थ पूरा गर्न सकिन्छ भनेर लागेको बताइन्छ । ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँर । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँर । एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत बिहीबार सो कार्यक्रममा भनेका थिए ।
संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने गरी सो मोर्चा बनाउन लागेका हुन् । माओवादीले यसअघि समाजवादी केन्द्र निर्माणको प्रयास थालेको थियो । उनी जापानबाट फर्केर आएपछि त्यही प्रयासलाई निरन्तरता दिने बताइएको छ । शुक्रबारै बसेको पाँच दलीय सत्तारुढ गठबन्धनले चुनावी एकता गरेरै जाने निर्णय गरिसकेको छ । एकातिर कांग्रेससँग पनि बार्गेनिङ र अर्कातिर सत्ताधारी वामको छुट्टै गठबन्धन गरेर कांग्रेसलाई थप चेपुवामा पार्ने योजनामा लागेको शंका पनि गर्न थालिएको छ । आखिर यो सबै प्रचण्डको चाहनामा भएको बुझिन्छ । उनी कुनै पनि हालतमा स्थित र नीतिगत राजनीति गर्न सक्दैनन् । आफू केन्द्रीत राजनीति गर्न रुचाउने प्रचण्डले जापानबाट लिएर आउने सन्देश नै महत्वपूर्ण हुनेछ । यदि उनको जापान दौड सिंगापुरको जस्तो भए फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ । होइन भने भोलिका दिनमा गएर कांग्रेससँगै कुम जोडाउनुको विकल्प प्रचण्डसँग हुनेछैन ।