प्रदीप पौडेलका जितका आधार

Home Feature

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा जित्ने लगभग निश्चित जस्तै भएको छ । पौडेलको सचिवालयले जितका आधारहरु छरपष्ट पार्दै पौडेलले हार्ने कुनै कारण नै नभएको भन्दै जितका आधार प्रस्तुत गरेको हो । जसमा उनका प्रतिस्पर्धी एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलको कमजोरीलाई पहिलो आधारका रुपमा लिइएको छ । पौडेलका लागि पोखरेल सबैभन्दा ठूला भेट्रान प्रतिस्पर्धी नै हुन् । किनकि ईश्वरले यो क्षेत्रबाट लगातार जितिरहेको र पार्टीको वरिष्ठ उपाध्यक्ष भएको साथै उप्रधानमन्त्रीसमेत भइसकेको व्यक्ति हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली तलमाथि पर्दा उनी नै पार्टीको कार्यबाहक हुन् । उनले पटक पटक कार्यबाहक पनि खाएकै हुन् उपप्रधानमन्त्री हुँदा । अर्थात् उनी शक्ति केन्द्रकै वरिपरि घुमिरहेका छन् । तर यसपालि भने उनले हार्ने विश्लेषण धेरैले गरेका छन् । एकातिर निरन्तर पदमा पुगेर केही काम नगर्नेलाई यसपालि मतदाताले लोप्पा खुवाउने बुझिएको छ । ईश्वर त्यसमध्येका पर्छन् । अर्कातर्फ उनी ‘पानी ट्यांकी’ काण्डमा मुछिएका थिए । त्यो दाग अहिलेसम्म मेटिएको छैन । यसपालि प्रदीप काठमाडौं ५ को सत्तागठबन्धनबाट संयुक्त उम्मेदवार छन् । अहिले काठमाडौं ५ बाट कांग्रेसमात्र हैन गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाका मतदाताले पनि भोट हाल्नेछन् ।
त्यतिमात्रै पनि होइन । उनको राजनीतिक सौम्य आचरणका कारणले उनलाई खुला हृदयले भोट हाल्नेको संख्या उल्लेख्य हुने दाबी गरिएको छ । उनको दैनिक घरदैलो कार्यक्रमपछिको विश्लेषणले पनि यही भनिरहेको छ । उनीसँगै घरदैलोमा हिँडेका नेताहरु भन्ने गर्छन्, ‘प्रदीप दाइलाई आउने भोट स्वतः स्फूर्त हुने देखिन्छ । उहाँको प्रभावकै कारणले पनि भड्किएका मतदाताले उहाँलाई नै भोट हाल्ने कुराकानीबाट थाहा पाएका छौं ।’ प्रदीप पौडेलको सबैभन्दा राम्रो गहना भन्नु नै उनको बोली हो । उनी चर्को रुपले बोल्दैनन् । अरुलाई होच्याएर आफू माथि पर्ने काम उनले कहिल्यै गरेनन् । तथ्यपरक भएर बोल्ने उनको बानी र भाषण नै उनको सबैभन्दा बलियो गहना हो । नेता भएपछि झुटो बोलेर भए पनि आफू माथि नै पर्नुपर्छ भन्ने मान्यताबाट उनी टाढा छन् । उनको त्यही बानीकै कारण उनी भुइँनेता हुँदै यहाँसम्म आइपुगेका हुन् । उनी अध्ययनशील युवा नेतामा पर्छन् । प्रदीप स्वार्थविहीन राजनीति गर्छन् । उनी नेतृत्वलाई
झक्झक्याउनका लागि सामाजिक गतिविधि पनि गरिरहेका हुन्छन् । त्यसकै परिणामस्वरुप उनले संविधान निर्माणका क्रममा भएको ढिलासुस्तीविरुद्ध दबाब दिन ‘मेची(काली अभियान’ को नेतृत्वसमेत गरेका थिए । प्रदीपको सबैभन्दा ठूलो जितको आधार भनेको उनको इमानदारी नै हो । उनले अहिलेसम्म गरेका काममा कहीँ कतै पनि खोट लगाउने ठाउँ छैन । चाहे राजनीतिक वा सामाजिक काम किन नहोस् प्रदीपले कहीँ पनि स्वार्थलाई केन्द्रमा राखेर सेवा गरेका छैनन् । अर्कातर्फ उनमा भ्रष्ट मानसिकता कहीँ पनि अहिलेसम्म देखिएको छैन । र, उनी युवा हुन् । एक जोश र जाँजर लिएर चुनावी मैदानमा होमिएका युवा ।
खासमा प्रतिस्पर्धी कमजोर नभई चुनाव जितिँदैन । ईश्वर पोखरेलले यो क्षेत्रमा धेरै नै आश्वासन बाँडे । उनले लामो समयदेखि बाँडेका आश्वासन कहिल्यै पूरा गर्ने बारेमा सोचेनन् । यही आश्वासन दिने तर वाचा पूरा नगर्ने उनको कमजोरीका कारण स्थानीय रुष्ट छन् । पोखरेलसँग विस्तारै मतदाता टाढिएको एमालेकै स्थानीय नेताहरुले बताउन थालेका छन् । उनले मतदातालाई बेवास्ता गरेको आरोप छ । जब आश्वासन नै पूरा हुँदैनन् भने उनलाई मत दिएर के फाइदा भनेर आन्तरिक विरोधमा लागेका एमालेका मतदाता पनि देखिएका छन् । अर्कातर्फ शक्ति केन्द्रमा रहेर पनि ईश्वरले नचाहेरै यो क्षेत्रमा काम नगरेको उनीमाथि आरोप छ । यस्तोमा मतदाताले नयाँ परीक्षण गर्न खोजे भने एमालेको मत पनि प्रदीपलाई आउन सक्नेछ ।
त्यसो त यो क्षेत्र एमालेको गढजस्तै मानिन्छ । तर काठमाडौंका मतदाता निकै नै सचेत छन् । जसरी स्थानीय तहमा अनपेक्षित परिणाम आएको थियो त्यसरी नै यसपालि प्रदीपको दीप थप चम्किलो बनाउनेमा काठमाडौं ५ का मतदाता नै अग्रसर भएको बुझिन्छ । फेरि अहिले युवाको बाहुल्यता हुनुपर्नेमा जोड छ । कांग्रेसका सीमित नेताहरुमध्ये संसदमा पुग्नैपर्ने अनुहारमा प्रदीप पौडेलको नाम पनि आउँछ ।