निगम डुबाएर निजी पोस्ने धन्दा

समाचार

काठमाडौं । कोभिड महामारीपछि भरखरै तंग्रिन थालेको नेपाल वायुसेवा निगम डुबाउन हवाइ माफियाहरुसँगको मिलेमतोमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लागिपरेका छन् । फलस्वरुप, नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान रोक्दा निगमले अघिल्लो हप्तामात्रै ९ करोड ६० लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । निगमका जहाजले हप्तामा १६ सय यात्रुलाई काठमाडौं दिल्ली उडान अवतरण गर्दै आएको थियो । प्राधिकरणले टिकट विक्री गरिसकेपछि उडान कटौती गर्दा निगमको नोक्सानी यसको दोब्बर हुन्छ । टिकट विक्री गरेको रकम फिर्ता गर्नुपर्ने त छँदैछ, फ्लाइट क्यान्सिल हुँदा अर्को जहाजको टिकट खरिददेखि खाने बस्ने खर्च निगमले नै व्यहोर्नुपर्ने हुन्छ ।
निगमको ‘हिस्टोरिक स्लट’ अन्तर्राष्ट्रिय उड्ययन आयटाको निर्देशिकाविपरीत कटौती हुँदा काठमाडौं–दिल्ली उडानमा निगमले एक महिनामा ३८ करोड ४० लाख रुपैयाँ घाटा व्यहोर्नुपर्छ । आयटाको गाइडलाइन अनुसार निगमले विन्टर र समर सिजनका लागि उडानको एप्लाई गरेको थियो । निगमका जहाजले बिहान ८ बजे र दिउँसो १ः४५ मा काठमाडौं दिल्ली उडान भर्दै आएकोमा प्राधिकरणले विन्टर सिजन सुरु हुनु ६ दिन अगाडि मात्रै निगमको उडान कटौती गरेको हो । आयटाको निर्देशिका बमोजिम बनाएको निगमको क्यालेन्डरलाई प्राधिकरणले धोती लगाइदिएको छ ।
यसैबीच, निगमले प्राधिकरणसँग रियादका ६ उडान अनुमति मागेकोमा प्राधिकरणले ४ वटा कटौती गरेर २ वटा उडान मात्रै कायम गरिदिएको छ । काठमाडौं दिल्लीका लागि १४ माग भएकोमा १० वटामा सीमित गरिदिएको छ । बैंगलोर, मुम्बई, बैंकक, हङकङ र जापानको भने निगमले माग गरेअनुसारकै स्वीकृति निगमले दिएको छ । दोहा, क्वालालाम्पुर र दुबईको सात÷सात उडान भर्ने स्वीकृति मागे पनि प्राधिकरणले दुई÷दुई उडान घटाएर पाँच÷पाँच उडान भर्न पाउने स्वीकृति दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमको उडान कटौती गरेर भारतीय एयरलाइन्स कम्पनी इन्डिगोको उडान थप गरेर २१ पु¥याइदिएको छ । भारतीय उड्ययन प्राधिकरणबाट दिल्ली विमानस्थलमा हप्ताको १४ उडान भर्ने स्वीकृति लिएको वायुसेवा निगमलाई प्राधिकरणले १० वटा उडानमा सीमित गराइदिएर प्राइभेट विमान सेवाको पक्षपोषण गरेको छ । भारतीय जहाजलाई उडान अनुमति बढाउने र नेपाली जहाजको उडान अनुमति घटाएर फाइदा लिनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ लागेको बुझिएको छ ।
मन्त्री श्रेष्ठ र महानिर्देशक अधिकारीको मिलीभगतमा निगमलाई डुबाउन काठमाडौं–दिल्ली उड्न ठिक्क परेको जहाजलाई अक्टोबर २३ मा भैरहवा विमानस्थलबाट उड्नुपर्छ भन्यो । निगमले जवाफमा डिसेम्बरभित्र भैरहवाबाट व्यावसायिक उडान गर्ने पत्र पठायो । प्राधिकरणले पत्रको जवाफ दिएन । उसले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान क्यान्सिल गरेर घर फिर्ता पठाइदियो । त्यसको क्षतिपूर्ति निगमले नै तिर्नुप¥यो । नेपाल वायुसेवा निगम डुबाउन यस्ता अनेक चलखेल हुनथालेपछि निगमका कर्मचारीहरु आक्रोशित बनेका छन् तर मन्त्री श्रेष्ठले भने यस प्रकरणमा उल्टै वायु सेवा निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर हकारेका छन् ।