नेताको मुटुको धडकन कसरी बढेको होला…

यताउताका कुरा

जतिजति चुनावको दिन नजिकिँदै आयो, उतिउति नेताको मुटुको चाल पनि बढ्दै गएको छ । ढुक्कैसँग चुनाव जित्छु भन्नेहरूको संख्या औंलामा गन्न सकिने छ । लौ भन्नोस् त कुन चाहिँ नेता आफ्नै भरमा चुनाव जित्छ । कम्रेड ओलीलाई राप्रपाको वैशाखी चाहिएको छ भने प्रचण्ड कम्रेडले कांग्रेसको आडभरोसामा चुनाव जित्ने हिसाब किताब लगाएका छन् । देउवाकाजीलाई घरैभित्रको शत्रु अर्थात कांग्रेसका बागीले हल्लाएका छन् । झलनाथ कम्रेड–तित्राको मुखै वैरी इलामका कांग्रेसीहरूलाई गाली गरेको अहिले निकै गाह्रो परेको छ चुनाव जित्न । राजेन्द्र लिङ्देन एक्लै लड्ने हो भने पछारिन बेर छैन भनेर एमालेको टेको समात्न पुगे । चित्रबहादुर केसीलाई यो बुढोलाई केको भोट भनेर बाग्लुङका युवाले खेद्न बेर छैन । माधव नेपाललाई रौतहट १ ले अब आउन पर्दैन भनेर घोक्रेठ्याक लगाइदिने हो कि ? कम्रेड ईश्वर पोख्रेल, प्रदीप पौडेलसँग थुरथुर काम्न थालेका छन् । बल्लबल्ल बाली लगाउन खोजेका नेताहरूको हलो भाँच्चिएर खेतै जोत्न नसक्ने भएका छन् ।
कतै नभा जात्रा हाँडीगाउँमा भनेझैं बुढाहरूलाई हराउ अभियानले सबैतिर तहल्का मच्चाइदिएको छ । नो नट् एगेन–अब फेरि तिमीलाई हुँदैन भनेर बुढा अत्याउने काम ठिटाहरूले गरिरहेका छन् । एकातिर स्वतन्त्र र बागी बनेर उठेकाहरू अड्को बनेका छन् भने अर्कोतिर बुढाहरूलाई केको भोट–पाकेको काँक्रोलाई थाँक्रो दिँदैमा हरियो हुँदैन क्यारे । यसपल्ट पुराना र बुढाहरूलाई एकथरि केटाकेटीले साह्रै नै खेदो खनिरहेछन् । अब फेरि तिमीलाई हुँदैन भन्न पाइँदैन भनेर निर्वाचन आयोग कड्किन नपाउँदै सबैले हल्ला गरे–यसो भन्न नपाइने हो भने स्वतन्त्रता भनेको के हो त ?। जे जस्तो भए पनि नेताहरूको मुटुको धड्कन बढेको छ, त्यही धडकन बढेकैले डा. शशांक भाषण गर्दागर्दै पछारिए । अब कोको पछारिने हुन् । मङ्सिर ४ नआएसम्म यसै हो भन्न सकिँदैन । प्रार्थना गरौं–कुनै पनि नेताको मुटुको चाल आवश्यकताभन्दा नबढोस् ।

ओली वा, राजा वा

त्यसो त कम्रेड खड्गप्रसाद ओलीले आन्दोलन चर्किदै जाँदा पनि नेपालमा गणतन्त्र ल्याउने भनेको बैलगाडा चढेर अमेरिका पुग्छु भन्नुजस्तै हो भनेर गणतन्त्रको विपक्षमा आफ्नो राय प्रकट गरेका हुन् । तर वैलगाडा अमेरिका पुग्यो–नेपालमा गणतन्त्र आएरै छाड्यो । यो कुरा भित्री मनले स्वीकार नगरेका ओली कम्रेडले राजसंस्था फिर्ताउनु पर्छ भन्ने पार्टी राप्रपासँग राम्रैसँग मित्रता जोडे । आफ्नै निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएकोले भोट दिन नपाउने ओलीका लागि झापा ५ को चुनाव युद्ध फलको च्यूरा चपाए जस्तो हुने भयो र राजेन्द्र लिङ्देनसँग ‘गलेमिलना’लाई साकार पारौं राजाको पक्षमा अर्थात राजसंस्था ल्याउनु पर्छ भन्ने राप्रपाको भर पर्न पुगे । राप्रपाले राजसंस्था चाहिन्छ भन्यो त मैले कहाँ भने राजसंस्था चाहिन्छ भनेर पानीमाथि ओभानो बन्न खोजेका छन् । यो प्रयास ओली बाका लागि नोक्सानदायी नहोला तर..
एमालेका उम्मेदवारहरूलाई ठाउँ ठाउँमा तिमीहरू पनि राजावादी बनेका हैन भनेर भोटरले ¥याख¥याखती पार्न थाले । सबै ठाउँमा राप्रपाले सघाउने हो क्यारे । ओलीको बोलीमा भर छैन भनेर ३ ठाउँमा एमाले उम्मेदवार नै उठाउन दिएन राप्रपाले । मीठा निम्ति जुठो खान के हुन्छ र ? आपूmले चुनाव जित्न राजा चाहिन्छ भन्ने पार्टीको भोट लिनै पर्छ नि । नत्र चुनावमा उत्तानु टाँङ लगाउनुपर्ने भएको ओलीबाले भने राजा बा जिन्दावाद । मौकामा चौका हान्नुपर्छ–राजेन्द्रलाई सबै एमालेको भोट खसाल्न लगाएर झापा–५ सुरक्षित राख्नु बुद्धिमानी नै हो । अब सभा गरेर एमाले–राप्रपा जिन्दावाद गर्न थालिसकेकोले अब पार्टीको नाम बदलेर रामाले वा हलो चिन्ह चिनाउन हमाले राखे कसो होला ?


घोषणापत्रु

छोरो पाउनु कहाँ हो कहाँ कन्दनी बाट्न हतपत भनेजस्तै योजना र कार्यक्रमको नामोनिसान छैन, घोषणापत्रमा ठूलाठूला कुरा । भन्न सजिलो गर्न गाह्रो–सबै पार्टीले आफ्नो घोषणापत्रमा हुने नहुने, सक्ने नसक्ने सबै कुरा समेटेका छन् । अघिल्लोपल्टको चुनाव हुँदा निकालेका सबै पार्टीका घोषणापत्रमा मतदाताका लागि ठूलाठूला प्रतिज्ञा गरिएको थियो । खोलो त¥यो लौरो बिस्र्यो–चुनाव सकियो, घोषणापत्रले थकाई मा¥यो । पानीजहाजदेखि घरघरमा ग्यास पाइपलाइन पु¥याउने भनियो–तर अहिले सबै कुरा बिर्सियो । यसपल्ट पनि ठूलाठूला आश्वासन बाँडिएका छन् । सपना बाँड्न सजिलो छ विपनामा बदल्न गाह्रो छ । पार्टीका घोषणापत्र बटुलेर पढ्ने हो भने आउँदो पाँच वर्षमा देश स्वीट्जरल्याण्डको हाराहारीमा पुग्ने देखिन्छ तर सपनामा मीठो कुरा खाँदाखाँदै झल्यास्स ब्यूँझिदा शून्य नै घोषणापत्र सपनाको मिठाई जस्तो हो, चुनावपछि फुस्सा । कम्रेड प्रचण्डदेखि कम्रेड ओलीसम्म सबैमा मतदाता झुक्याने मन्त्र विकसित भएको छ–मान्छेले ठान्दछन् साँच्चै विकास भैहाल्छ कि ? तर वीरबलको खिचडी हो–पार्टीका घोषणापत्रका प्रतिज्ञा–कहिल्यै पूरा हुँदैन । मिलाएर भन्नुपर्छ–जनताले पत्याइहाल्छन् ।
एकथरिले दलका घोषणापत्रलाई पत्रु भन्ने गरेका छन्, हुन पनि जुन कुरा प्रयोगमा आउँदैन त्यो पत्रु नै हो । गाउँघरमा पुराना भाँडा दिएर नयाँ भाँडा लिने चलन छ, काम नलाग्ने भाँडोलाई पत्रु भन्ने चलन छ, त्यस्तै हो घोषणापत्रु पनि । एक प्रकारले घोषणापत्रको कुनै काम छैन भनेर निकाल्ने र पढ्ने दुवैथरिलाई थाहा छ, तर सराद्धे गर्दा बिरालो बाध्नै पर्छ भनेझैं चुनाव आउँदा घोषणापत्र निकाल्नै पर्छ भन्ने परम्परा कायम छ, तर त्यो चुहिने गाग्रीजस्तो हो, जसको कुनै अर्थ छैन, केही पाउनु छैन । तर पनि निकाल्नै पर्छ–रिसोर्टमा तयार गरेर पाँचतारे होटेलमा प्रकाशन गरेर होस् कि सानोसानो झुपडी मान्छेको थुपडी झैं पार्टी कार्यालयको सानो कोठामा पत्रकार जम्मा गरेर होस्–घोषणापत्रको औपचारिकता सबै पार्टीले पूरा गरे ।


रावल बने घाँडो

न खाऊँ दिनभरिको शिकार खाऊँ कान्छाबाबुको अनुहार भनेझैं एमालेका लागि डा. भीम रावल निकै घाँडो सावित भएका छन् । पार्टीबाट निकालौं चुनावमा आफ्नै पार्टीको भोट घट्ने, भोट घट्नुको अर्थ एउटा सदस्य नै कम हुने । उम्मेदवारी नदिएर ठूलै बहादुरी गरेँ भन्ने लागेको थियो तर त्यसले परेको घाटाको हिसाब किताब बाँकी नै छ । चुनावमा एमाले निकै खस्कने पक्का छ, अनि कार्यकर्ताले कचकच र खलबल गर्न थालेपछि ओली कम्रेडको नूर गिर्ने छ–त्यो हेर्न पनि रावलले पार्टी नछाड्ने पक्का छ । त्यसपछि खुच्चिङ भन्न पाइन्छ भन्नेमा रावल ढुक्क । ओली कम्रेडबाट पार्टीमा हुकुम प्रमाङ्गी भयो–रावललाई पार्टीबाट निष्काशन गरिदिनु तर शंकर पोख्रेलले रावल निकाल्दा चुनावमा ठूलै घाटा पर्छ भनेपछि चूप लागेका हुन् कम्रेड ओली । त्यसो त यसपाली जसले टिकट पाउनु पथ्र्यो उसले नपाउने, गणेश पोलिटिक्स गर्नेले दाउ मार्ने भएपछि एमालेका कार्यकर्ता र साना नेता रिसाउन थालेका छन् ।
यतिखेर कम्रेड ओलीको बोली मधुरो हुँदै गएको छ । उनकै कारण मधेश क्षेत्रमा झगडाको बिउ रोपिएको छ । प्रभु साह एकातिर नेठ्ठिएका छन् भने अर्कोतिर घनश्याम भूषाल एमालेका विश्वकर्मा विरुद्ध मोर्चा खोलेर बसेका छन् । आफ्नै मान्छे अर्कोतिर मुख फर्काउने भएपछि अर्को ल्याउन गाह्रै पर्छ । रिस खा आपूm बुद्धि खा अर्को–रिस र दम्भको कारण ओली कम्रेडका साख विस्तारै ओरालो लागेको छ । ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भन्थे–साँच्चै कम्रेड ओली आफ्नै कार्यकर्ताबाट खेदिन लागेका हुन् कि ?। त्यसो त अहिले आफ्नो मुख बिकेको छ, जसलाई जे गरौं भने पनि भएको छ । त्यसैले मारमा परेका रावल अबको लागि ओलीका लागि घाँडो बनेका छन् ।


अन्त्यमा–
लैनचौरको सल्लाहमा पहिलो पाइलो दार्चुलामा टेकेर राष्ट्रवादको शंख फुक्ने ओलीको भित्री इरादा अब सबैले बुझेका छन् ।