देवीदेवता, धार्मिक सहिष्णुता र परम्परा -डा. राजेन्द्र बिमल

लेख

devi 1तराईका देवीदेवताका बारेमा भन्नुपर्दा मुख्यतः तीन वटा तत्वहरू पाउँदछौं । बैदिक तत्व, तान्त्रिक तत्व र लोकतत्व । वैदिक तत्व भनेको वेदमा मात्र उल्लेखित भएका तत्व हुन् । यिनको देवीदेवतासँग कुनै पनि मतलब हुँदैन । वेद, पुराण, रामायण, महाभारत जस्ता ग्रथ र लोकगाथाका देवीदेवताहरूको छुट्टै परम्परा छ । त्यसपछिको परम्परा भनेको तान्त्रिक परम्परा हो । त्यस्तै लोक परम्परा भन्नाले राजा वा सामन्तहरूले चलाएका परम्परा अथवा लोक जीवनमा विशेष प्रभाव राख्नेहरू पनि देवताका रूपमा पुजित भएका छन्–आस्थाको आधारमा ।

सबैभन्दा पहिले वैदिक, पौराणिक कुरा गरौं । बृहान्द उपनिसदमा एक ऋषि र उनका शिष्यबीच भएको सम्वादको प्रसंग छ । जतिपनि वैदिक ऋचाहरू अर्थात श्लोकहरू छन्, तिनीहरूको छुट्टाछुट्टै श्लोकहरू पनि छन् । छुट्टाछुट्टै देवताहरू छन् र छुट्टाछुट्टै ऋषिहरू पनि छन् । यसैगरी स्तुतीहरूमा पनि देवीदेवताको नाम आएको छ । यसरी हेर्दा असंख्य देवीदेवताहरू देखा पर्दछन् । इन्द्र, बरूण, मरूद मात्र होइन, असंख्य देवीदेवताहरू छन् । सरसर्ती हेर्दा कति वटा देवीदेवता होलान् भनेर निश्चित संख्या तोक्न सकिने अवस्था छैन । यही सन्दर्भमा शिष्यले ऋषिसँग प्रश्न गर्दा ऋषिले ३३ कोटी देवताहरू छन् भनेर जवाफ दिन्छन् । शिष्यले फेरि प्रमुख देवीदेवताका नाम भन्न भनेपछि ऋषिले भन्छन्–३३३९ देवताहरू छन् । शिष्यले यति धेरै देवीदेवताको नाम कण्ठ गर्न नसकिने भनेपछि ऋषिले फेरि जवाफ दिन्छन्–३३ वटा भन्दा हुन्छ । ३३ वटा देवता पनि धेरै भयो भनेपछि ऋषिले ३ वटा प्रमुख देवताको नाम लिन्छन् । ३ वटा पनि धेरै भयो भनेपछि उनले अन्तमा एउटा मात्रै देवता छन् भन्छन् । “एको हम बहु सामेद” अर्थात माध्यममा मूल देवता ब्रम्ह एउटै हुन् र उनको हाँगा फैलिएको मात्रै छ ।

जेजति देवीदेवताको नामहरू छन्, ती सबै मूल देवता ब्रम्हकै नामबाट सुरू भएका छन् । यिनीहरूलाई वेदमा विभिन्न कोटीमा विभाजन गरिएको छ । जस्तै स्थानीय देवी अर्थात स्थान क्रमका आधारमा पुजिने देवी, दिउलोकका देवताहरू । आकाशभन्दा माथिका देवीदेवता, जसलाई देख्न सकिंदैन । त्यस्तै, अन्तरिक्षका देवीदेवता, जसलाई देख्न सकिन्छ । सूर्य, चन्द्र इत्यादि । यस्तै पृथ्वीलोकका देवीदेवताहरू । त्यस्तै परिवार क्रमले पनि देवीदेवताहरू निर्धारण गरिएको छ । जस्तो शिव परिवार, बसु, मरूद आदिका परिवार । त्यस्तै, समूहक्रम अनुसार पनि देवीदेवताको निर्धारण गरिएको छ । इन्द्रादी देव, मित्रात्री देव । सर्वदेव अर्थात सर्व देवाय नमः । यी जति कोटीका देवीदेवता भएपनि यिनीहरूको मूल देवता भनेको ब्रम्ह र त्रिनिटी देवता ब्रम्हा, विष्णु, महेश्वरलाई मान्ने गरिन्छ ।

एउटा अचम्मको कुरा के छ भने संसारमा जति पनि धर्महरू छन् । ती सबै धर्ममा कुनै न कुनै रूपमा त्रिदेवको कल्पना गरिएको छ । उदाहरणका लागि मेसोपोटानियाको सभ्यतालाई लिऔं । मेसोपोटानिया सभ्यता जसलाई बाबुली धर्म भनिन्छ । यसमा गजला र फरादको घाँटीभन्दा तलको भूभागमा त्रिदेवको कल्पना गरिएको छ । ऐन, सूर्य देवता, चन्द्र देवता र जलको देवता अर्थात इए, त्यसपछि सम्स, सिन अर्थात चन्द्रमा देवता । त्यस्तै शुक्र देवी भनेर भनिन्छ । यो परम्परा रोम, इजिप्ट र क्रिश्चियन धर्ममा पनि पाउन सकिन्छ । त्रिनिटीको परम्परा वेदमा मात्र होइन, अन्य धर्म पनि पाइन्छ । यास्टमुनिले दुई किसिमका धारणाहरू रहेको बताएका छन् । सुष्मबाट स्थुलको विकाससँगै विभिन्न देवीदेवताको कल्पना गरिएको छ । जनजीवनमा आवश्यकता अनुसार देवीदेवताको कल्पना गरियो । तिनलाई विस्मयको दृष्टिले मानिसले हेरे । पानी कसले पा¥यो । कसरी वनस्पतीको जन्म भयो भनेर हेरियो । यासमुनीले आत्मबाट नै शरीरको विकास भएको बताएका छन् ।

मिथिलाका देवीदेवताको कुरा गर्दा धेरै बैदिक देवीदेवताहरू छन् । हनुमान, धर्मराज, नरसिंहका कथामा देवीदेवताहरू छन् । यी वैदिक देवीदेवताहरूको समागम कसरी भयो भनेर हेर्न सकिन्छ । त्यस्तै जुन देवताहरूको परिकल्पना थिएन, विभिन्न कालक्रममा मूर्तीहरू बन्न थाले । मूर्ती बनेसंगै यिनका सम्प्रदायहरूको पनि विकास हुन थाल्यो । तान्त्रिक तत्वमा ८४ वटा तत्व हुन्छ । यसमा भैरवलगायतका देवीदेवताको कल्पना गरिएको छ ।

तराईका देवीदेवताका प्रसंगमा रोचक कुरा के छ भने लोक जीवनमा जो प्रभावशाली भएका छन्, उनीहरूलाई पनि देवता मानिएको छ । जस्तै सलेस पुसादहरूको, लालवन बाबा चमारहरूको, श्यामसिंह डुमहरूको देवता मानिएका छन् । यसमा जातीय देवताहरू पनि स्थापना भएका छन् । यसबाहेक कतिपय देवीदेवताको विकास हामीलाई नै थाहा छ । सामूहिक रूपमा पुज्ने देवीदेवतालाई देवार भनिन्छ । जस्तै ढेलमरवा । अर्थात माटोको डल्लो । यसको छुट्टै प्रयोजन छ । भूमि र प्रकृतिसित सम्बन्धित देवी देवताहरूलाई पुज्ने गरिन्छ । जस्तै अक्षय नवमीको पूजा । बडसावित्रीको पूजा । जुडसितलमा प्रकृतिको पूजा गर्ने र पानीले सिंचित गर्ने गरिन्छ । अर्को अचम्म त के छ भने कतिपय देवीदेवता मानिसबाटै भएका छन् । माता चढेको भन्दै तिनलाई पुज्ने गरिएको छ । लगभग ३६ वटा देवीको तराईमा यसरी पूजा भइरहेको छ । यसबाहेक ऐतिहासिक क्रममा पनि केही देवीदेवताको विकास भएको छ । ऐतिहासिक प्रयोजनबाट कुल देवीदेवताको विकास भएको पाइन्छ ।

मुगलहरूको आक्रमणले सम्पूर्ण आर्य बर्ष त्राहीमाम थियो । मुसलमानहरूले गरेको अत्याचार देखेर उनीहरूले विधर्मी बनाउने भए भनेर सबै त्राहीमाम भए । उनीहरूको अत्याचार सहन नसकेर १५ हजार महिलाले एकैपटक आत्मदाह गरेको उदाहरण इतिहासमा छ । त्यसबाहेक मूर्ती, मन्दिरहरूको विनास गर्ने काम मुसलमानहरूबाट भए ।

यी आक्रमणबाट जोगिएका मिथिलाका काली, बन्नी, घोरियालगायतका देवीदेवतालाई सुँगुर चढाउने  परम्पराको थालनी भयो । मुसलमानहरू सुँगुरलाई घृणा गर्ने गर्दथे । मुसलमानहरूबाट आफ्नो कुल देवताको रक्षा गर्न उनीहरूले सुँगुर पाल्न थाले । दैलोमै सुँगर देखेपछि घिनाएर घरभित्र छिदैनन् र आफ्नो कुल देवीको रक्षा हुन्छ भनेर सुँगुर पाल्ने परम्परा बस्यो । हरेक घरमा मुल देवी हुने भएकाले सबैले सुँगुर पाल्न थाले र आफ्नो कुल देवीको सुरक्षा गरे । हुँदाहुँदा देवीदेवतालाई सुँगुर नै चढाउन थालियो । यसका साथै केही पीरहरूलाई पनि देवीदेवतासँग राख्न थालियो । र ती पीरहरू पछि कुल देवताका रूपमा स्थापित भए । उदाहरणका लागि प्रकृतिबाट लिइएको देवी ज्वालामुखी लगायत उनका १४ सहयोगीहरूलाई कुल देवीका रूपमा पुज्ने गरिएको छ । यीसंगै पालातिर भन्ने पीर पनि रहेको छ । यी देवी देवताको स्तुती पनि मुगल शैलीमा गाइन्छ । मुसलमानहरूको प्रभावका कारण राग फिर्तौसी, इमामीजस्ता रागहरूको प्रवेश हुनपुगेको छ । बाला रे बाला तोहे करिए पुकार हो मिया करिए पुकार हाथ लिए मिट्टीवाला बात नहोए होथ, जालपाके हो कुमलेके माहिया हो हाथ, होथ कहिए हो सलिह यसरी उर्दु मिश्रित मैथलीमा स्तुती गरेर पूजा गर्ने चलन छ । त्यसैगरी सुफी सप्रदायभित्र ६ प्रकारका समूहहरू छन् । इशापूर्व एक हजार बर्ष अगाडि सुफी अरवमा विकास भयो । यसको मिथिलामा पनि प्रभाव प¥यो । सुस्तीया, कादरिया, सिस्तिया लगायतका सम्प्रदायहरूको प्रभाव मिथिलाको कला, संस्कृति र परम्परामा पनि पर्न पुग्यो । मिथिलाका कुल देवी र इष्ट देवीहरू स्थापित हुनपुगे । यसबाहेक धेरै किसिमको पीरहरूको पनि पूजा गरियो भने यसमा मलंग भन्ने खास पीर हुन्छ । मलंग बाबाका रूपमा गाउँभरि पूजा गर्ने परम्परा छ ।

बुद्ध कालमा आएर लोक देवीदेवताहरूका विषयमा चिन्ता गर्न थालियो । इशापूर्व एक हजार बर्षदेखि लिएर ६ सय इशासम्मको कालखण्ड जनक राजवंशको कालखण्ड हो । यो समयमा बैशव र शात् धर्मको बढी प्रभाव थियो । इशा पूर्व ६ सयमा मिथिला बजी संघको सदस्य भयो । बजी संघ भनेको लिच्छवी शासक आएका बैशालीको संघ हो । यो संघको सदस्य मिथिला पनि हुनपुग्यो । बौद्धहरूको प्रभाव बढ्छ भन्ने चिन्ता उनीहरूमा हुन थाल्यो । मिथिलाका मानिसहरू बुद्धको प्रभाव नपरोस् भन्ने पक्षमा थिए । स्वयंम बुद्धलाई पनि उनीहरूले प्रवेशमा निषेध गरेका थिए । बुद्ध जनकपुर आउन खोज्दा उनलाई आउन दिइएन र उनी बाध्य भएर मखावन भन्ने स्थानमा गएर बसे । उनको मृत्यु भएपछि मात्र जनकपुरमा बुद्धको अस्तु आयो । अर्थात मिथिलामा बुद्ध धर्मको प्रभाव नपरोस् भनेर अर्कै धर्मको स्थापन उनीहरूले गरे । यस धर्ममा पनि लोक देवताहरूलाई पुजिन थालियो । जसलाई स्मार्त धर्म भनियो । यो धर्ममा बैशनव, शैव र शाक्तहरू छन् । तीन वटै समूह छुट्टाछुट्टै सम्प्रदायका रूपमा विकसित भए । उनीहरू एकआपसमा झगडा गर्दथे । बौद्ध धर्मको प्रभाव बढ्न थालेपछि उनीहरू सबै मिले । बुद्ध धर्मको विरोधमा उत्रिए । यसको नेतृत्व उदेन भन्ने व्यक्तिले गरेका थिए । उनले तीनवटै सम्प्रदायलाई मिलाउने काम गरे । र नयाँ धर्म र पूजाविधिको पनि छुट्टै विधान विकास गरे । घरमा काली, भगवतीको पूजा गर्ने परम्परा थालियो । एउटा माटोको भाँडोभित्र भगवतीको पूजा गर्न थालियो । यो शाक्त धर्मको प्रतिक हो ।  त्यसबाहेक घरबाहिर हनुमानजीको पताका राख्न थालियो । मिथिलामा अहिले पनि घरघरमा पताका राखिएको छ । यो बैशनव धर्मको प्रतिक हो । त्यसैगरी तुलसीको मोठसंगै स–साना ढुंगा राखिएको हुन्छ, त्यो शैव अर्थात शिव धर्मको प्रतिक हो । जनकपुरका पण्डितहरूले खरानीको विगुत लगाउने, चन्दन लगाउने र अविरको टिका लगाएका हुन्छन् । ती यी तीनवटै धर्मको प्रतिक हुन् । यसरी तीनवटै धर्मलाई समाहित गरिएको पाइन्छ । यसरी विभिन्न देवीदेवताको पूजा सुरू भएको इतिहासमा पाइन्छ । त्यस्तै याग्यवल ऋषिका गुरू थिए सूर्य । सूर्य पूजाको परम्परा अर्थात छठको पूजा गर्न थालियो । यसबाहेक विभिन्न समयमा जातीय देवीदेवताको पनि विकास भएको छ । पूजा पद्धती पनि छुट्टाछुट्टै रूपमा विकास भएको पाइन्छ । सबै घरमा नैभेद्य दिने चलन छ । जसलाई पातेर भनिन्छ । पातेरमा खीर चढाइन्छ । कतिपय घरमा घरबाट बाहिर लैजान नहुने र अरूलाई खान दिन नहुने परम्परा पनि छ । विभिन्न समयमा विभिन्न परिस्थितिबाट विभिन्न परम्परा सुरू भएको छ । यसप्रति उनीहरूको अटुट विश्वास छ ।

नसन्न कुल धर्मामम् …
भनेर कृष्णले गीतामा भनेका छन् । कुल परम्परा, कुल बंश र कुल पुरूषलाई बिर्सियो भने नर्कमा बास हुन्छ भनिएको छ । आफ्नो कुल र आफ्नो पहिचान नै गुमाउने भएकाले नर्कमा बास हुन्छ भनिएको हो । यसलाई वैज्ञानिक रूपमा पनि हेरिएको छ । जर्मन विद्वान फिलिप जोफ काफराले सबै कुरालाई एकैपटक अन्धविश्वासका रूपमा हेर्नुहुँदैन भनेका छन् । होलस्टिक एप्रोचका रूपमा हेर्नुपर्छ र मनोविज्ञानका रूपमा हेर्नुपर्छ भनेर उनले भनेका छन् । खड्का क्षत्री महासमाजले मष्टहरूको बारेमा राष्ट्रिय सम्मेलन गरेर अत्यन्त राम्रो काम गरेको छ । यसले खड्का र क्षत्री बन्धुबानधववीच भाइचारा बढ्नुका साथै अन्य जातजातिवीच पनि भावनात्मक एकताको विकास हुन पुग्दछ । यस्तो महान काम गरेकोमा खड्का क्षत्रीहरूलाई साधुवाद ।