औषधि विभाग दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै

अर्थ

काठमाडौं । नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको राससलाई जानकारी दिए ।

विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले १०० एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो । उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ ।