भारत सीमा मिच्छ, ओली सरकार चुप बस्छ, मातृभूमि बचाउन चिच्याउर्ने नेपालीलाई जेल हाल्छ

Home Feature राजनीति समाचार

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएर शुक्रबार उद्घाटनसमेत गरेपछि नेपालीहरु आक्रोशित भएका छन् ।

विद्यार्थीहरुको एक समूहले नेपाली भूमि अतिक्रमण गरेको भन्दै शनिबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

दिउँसो प्रदर्शन गर्ने क्रममा दुई दर्जन बढी विद्यार्थी पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेमा अनेरास्ववियूका नेता सुदेश पराजुली लगायत हुन् ।

उनीहरुले कालापानी फिर्ता गर, भारत फिर्ता जाउ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

भारतले २०७२ सालमा चीनसंग मिलेर लिपुलेकमा ब्यापारिक मार्ग बनाउने सम्झौता गरेको थियो । त्यतिबेला नेपाल भूकम्पले थिलोथिलो भएको थियो । अहिले कोरोनाको चपेटामा छ ।

त्यतिबेला भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ समकक्षी लि खछियाङबीच भएको सहमति संयुक्त वक्तव्यमार्फत सार्वजनिक भएको भएको थियो ।

त्यसपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो । दुवै देशले अहिलेसम्म प्रतिक्रिया जनाउने जरुरी ठानेनन् । अहिले एकैपटक उद्घाटन गरे ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले लिपुलेकमा नेपालको दाबी पुष्टि हुने गरी प्रमाण खोजेर प्रतिवेदन बुझाउन विज्ञ टोली गठन गरेको थियोे । जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय नेतृत्वको पाँच सदस्यीय टोलीले प्रमाणसहितको प्रतिवेदन पनि बुझाएको थियो ।

दुर्भाग्य प्रतिवेदन तयार हुँदा शुशील कोइराला थिएनन् । केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा थिए । कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए ।

भारतले नाकाबन्दी लगाउँदा आफूलाई राष्ट्रवादी नेताको पगरी गुथाउँदै ओलीले नेपालीलाई पीडा दिएका थिए । त्यो प्रतिवेदन जानीजानी दराजमा थन्काएका थिए ।

त्यसपछि आफूलाई कथित क्रान्तिकारी बताउँदै १७ हजार मानिस मारेर दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, नेपालका हरेक परिवर्तनमा अग्रणी भूमिकामा रहेको काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र फेरि अहिले केपी ओली प्रधानमन्त्री छन् ।

उक्त टोलीले लिम्पियाधुरा नै कालीनदीको मुहान भएको र नेपालको सिमाना पनि त्यहीँसम्म रहेको सप्रमाण विवरण तत्कालीन सरकारलाई बुझाएको थियो ।

टोलीले त्यतिबेला भनेको थियो
–सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो ।
–कालीनदी नै नेपाल–भारत सिमाना हो ।
–१८६० सम्मका नक्साअनुसार पनि लिम्पियाधुरा नै कालीको मुहान हो ।
–तर, सन् १८६० पछि भारतीयले लिम्पियाधुराबाट बगेको कालीनदीको नाम कुटियाङ्ती राखिदिए र त्योभन्दा धेरै पूर्व अर्थात् नेपालकै भूमि लिपुलेकबाट बग्ने नदीलाई काली भनिदिए ।
–यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर भूमि भारतीयले आफ्नो पक्षमा पार्न खोजे ।
–१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीपूर्वको भूभाग नेपाली भूमि मिचेर कालापानीमा बंकरसहित सैनिक संरचना बनायो ।