शान्ति समाजले अर्को तीन स्रष्टा सम्मान थप्यो

समाज

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्व.पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान तथा ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान गरि थप तीन वटा पुरस्कारको स्थापना गरेको जानकारी दिएको छ ।

समाजले प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन स्रष्टाहरूलाई जनही २० हजार रुपैयाँ नगद राशीसहित सम्मान–पत्र प्रदान गरिने जानकारी पनि गराइएको छ । उक्त पुरस्कारहरू स्थापनार्थ अक्षयकोषका लागि स्व. पवित्रादेवी चौलागाईका छोरा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाईले २ लाख रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा÷बुहारीहरू समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले पनि ४ लाख रुपैयाँ शान्ति समाजलाई प्रदान गरेका छन् ।

उल्लेखित सम्मानहरू यसै वर्ष २०७७ देखि बर्सेनी महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने बताइएको छ ।

सम्मान प्रदानका लागि व्यक्ति छनौट गर्न शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित समिति पनि गठन गरिएको समाजद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । योसँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कार तथा सम्मानहरूको संख्या १० पुगेको छ ।