जनचाहनाअनुसार अगाडि बढ्न पूर्वराजा तयार

Home Feature राजनीति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको सन्देश दिइएको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाबाट जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य कसैबाट नछिपेको भन्दै राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने उल्लेख छ ।


सन्देशमा भनिएको छ, ‘अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’


विदेशीको इशारामा नेताहरु चलेकोतर्फ सावधान गराउँदै पूर्वराजाको सन्देशमा, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको छ’, भनिएको छ ।


राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्नेमा पूर्वराजाको सन्देशमा यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ भनिएको छ । पृथ्वी जयन्तीको सार्थकता पनि रहने आफूहरुको मान्यता रहेको जनाइएको छ ।


सन्देशमा भनिएको छ, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरणमात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं ।’


सन्देशमा अगाडि भनिएको छ, ‘तर त्यो समय केबल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाटमात्र सम्भव थिएन । दैवीक आशीर्वाद, अध्यम्, साहस, पौरख र कुटनीतिक कौशलको अद्धितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो । नेपालको निर्माणमा अनेक जातीय भाषिक र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान छन् ।

संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् । तर नेपाल विश्वको एकमात्र त्यस्तो मुलुक हो जुन सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज हो । त्यसैले आज पनि राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका मिम्ति बक्सेको देव्योपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महशुस हामी सबैले गरेका छौं ।’