होम क्‍वारेन्टाइनबाटै पक्राउ परे विप्लव समूहका नेता

राजनीति

काठमाडौं । कोराना भाइरसको संक्रमण नफैलियोस् भनी होम क्वारेन्टाइनमा बसेका नेत्र विक्रम चन्द्र ‘विप्लव’) समूहका नेता पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना त्रासका केही दिनअघि सुनार घरमा आएर बसिरहेका थिए । होम क्वारेन्टाइनमा बसिरहेका उनलाई प्रहरीले बिहीबार बिहान वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार विप्लव समूहका सुर्खेत जिल्लाका पूर्व इञ्चार्जसमेत हुन् । सुराकीको आधारमा उनलाई वीरेन्द्रनगर ४ कुमाइचौकबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सुनारलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर पक्राउ परेका सुनारका आफन्तले भने होम क्वारेन्टाइनमा बसिरहेको बेलामा प्रहरीले पक्राउ गरेको बताएका छन् ।

विप्लव समूहलाई सरकारले प्रतिवन्धको घोषणा गरेपछि सुनार भूमिगत रहेका थिए ।