प्रथम गायिका रानुदेवी रहिनन्

मनोरञ्जन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ ।

सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको बिहीबार राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिइन् ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् ।

उनले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भरेकी थिइन् । ती लगायत ६ वटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासन विरुद्धको आन्दोलनमा उनी कला र सांगीति मोर्चाबाट होमिएकी थिइन् ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो ।

स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

डेढ महिनामा ७० फर्मलाई जरिवाना, ६० लाई सुधार गराइयो
काठमाडौं । डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल छन् । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्रीवितरण गर्ने, मूल्यसूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गर्दै आएको छ ।

उनका अनुसार कारवाहीस्वरुप जरिवाना गरिएका फर्ममध्ये नौ सर्जिकल हाउसबाट रु १७ लाख ४० हजार, २३ खाद्य पसल रु १४ लाख २५ हजार, पाँच औषधि पसलबाट रु पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट रु चार लाख ५५ हजार, पाँच ग्यास पसलबाट रु ५५ हजार, ६ मासु पसलबाट रु सात लाख, पाँच शृङ्गार पसलबाट रु चार लाख १५ हजार, दुई मार्टबाट रु सात लाख र अन्य पसलबाट रु ७० लाख ६५ हजार राजश्व संकलन गरिएको छ ।

विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको, ७० फर्मलाई जरिवाना गरिएको, दुई फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र चार फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको उनले जानकारी दिए ।

विभागले लकडाउनका कारण खाद्य तथा सर्जिकल सामग्रीलाई बढी मूल्यमा बिक्री गर्ने गरेको जनाउँदै बजार अनुगमनलाई तीव्र बनाएको छ । दैनिक दुईदेखि तीन समूहले उपभोक्ताको गुनासोलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेका छन् ।