हिमानी ट्रष्टमा उत्साहजनक उपस्थिति

समाज

काठमाडौं । ‘स्वागत संस्कार सिक्नु त पूर्वराजपरिवारबाट ।’ एक पाका अतिथिले भने, ‘राजपरिवारको सत्कार, बुहारीको ससुरालाई गर्ने आदर, पाहुनालाई दिनुपर्ने स्वागत सत्कार । देख्नु भयो हैन ? सबै पोलेर खाए अरुले । देशको सभ्यता र संस्कृति जोगाउने हो भने राजसंस्था चाहियो भन्नुस् । तपाई पत्रकारहरु पनि कता कता भौंतारिनु हुन्छ । गणतन्त्रको नाममा नेताहरुले त सबै कुल्चिए संस्कार ।’
हुन पनि नेपाली राजनीतिमा ‘शुक्रबार’ केही न केही विशेष गतिविधि हुने गर्छ । खासमा नेताहरुले कुनै विधि विधान मिच्नु प¥यो भने शुक्रबारलाई रोज्छन् । विधि मिचेर ‘गुड फ्राइडे’ मनाउँछन् । तर गएको शुक्रबार भने राम्रो कदम भएको छ । पूर्वराजपरिवारले विभिन्न क्षेत्रका अतिथिहरुलाई बोलाएर सत्कार गरेको छ । चियापान जमघट गरेको छ ।
राजसंस्था खारेज भए यता पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक गतिविधिमा सक्रिय भएसँगै पूर्वराजपरिवार यही संस्थासँग जोडिँदै आएको छ ‘हिमानी ट्रष्ट’ मार्फत । गत शुक्रबार काठमाडौंको सोल्टी होटलमा ट्रष्टले चियापान कार्यक्रम आयोजना ग¥यो ।
दशैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुसँगै संचारकर्मीहरुलाई पनि चियापानका लागि निम्त्याइएको थियो । ट्रष्टकी प्रमुख पूर्व युवराज्ञी हिमानी शाहबाट सबैलाई स्वागत गरिएको थियो ।
त्यो आतिथ्यता निकै नै लोभलाग्दो रहेको थियो । जानेहरु आतिथ्यता देखेर नतमस्तक थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिले त्यो जमघटलाई अझै ओझपूर्ण पारेको थियो । हिमानीबाट समय समयमा विभिन्न जानकारी गराइरहँदा ससुरा र बुहारीको मर्यादाको निकै ख्याल गरिएको थियो । त्यही ख्यालप्रति सबै नतमस्तक थिए । अनुशासन सिकिरहेका थिए ।
त्यस्तै पूर्वराजा र पूर्वयुवराज पारस शाहसँगै रहेर समय समयमा देखाइएको मुस्कानले राम्रो सम्बन्धप्रति आभार देखिन्थे उपस्थितहरु । त्यतिमात्र हैन पूर्वराजाका नाति हृदयेन्द्रको मधुर मुस्कानसँगै जिज्ञासु भावनाले अझ बढी लठ्याइरहेको थियो । तर उक्त समारोहमा पूर्वरानी कोमल शाहको भने उपस्थिति थिएन ।
उपस्थित कलाकार, खेलाडी एवं साहित्यकारसँगै संचारकर्मीहरु तस्वीरका लागि तँछाडमछाड गरिरहेका थिए । साँच्चिकै यो चियापान सौहार्द थियो । एउटा पाठ पनि थियो । जमघटले पूर्वराजसंस्थाप्रतिको आदरभाव पनि झल्काइरहेको थियो ।
हिमानी ट्रष्टले विपद्मा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । हिमानी ट्रष्ट संचालन गरेर पूर्व युवराज्ञीबाट समाजसेवाको कामले निरन्तरता पाइरहेको छ । राजनीतिले गलत बाटो लिएसँगै राजसंस्था फेरि फर्काउनु पर्छ भन्ने आवाज उठिरहेको छ ।
यदि नेताहरु स्वाथ्र्यको चास्नीमा डुबिरहने हो भने देशको रक्षार्थ राजसंस्था फर्कन किन नहुने ? भन्ने प्रश्न व्याप्त छ । यस्तोमा समय समयमा पूर्वराजपरिवारबाट गरिने चियापान र त्यसमा सरिक भएर आतिथ्यता स्वीकार गर्दै कृतज्ञ हुनेहरु बढिरहेका छन् ।