उपनिर्वाचन ः सत्ता गठबन्धनमा किचलो

Home Feature

काठमाडौँ । उपनिर्वाचनका लागि एमालेले हतारमा इलाम क्षेत्र–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बनाएपछि सत्तारुढ दलभित्र किचलो शुरु भएको छ । हुनत सुहाङ सबैभन्दा उत्तम पात्र हुन् । किनकि बाबु मरेपछि पहिलो प्राथमिकता उनको परिवारले पाउने चलन नेपाली राजनीतिमा पचासको दशकदेखि नै विकसित भएको हो । तर अहिले संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि उनका छोराको दाबी पर्दा खिचलो निकालिएको हो । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षबाट हात झिकेपछि एमालेले उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई निःशर्त सहयोग गर्नुपर्ने धारणा राख्दा किचलो शुरु भएको हो । सत्ताघटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको कुराकानीमा पनि एमालेले हतार गरेर उम्मेदवार चयन गरेको जनाउँदै साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिइएको थियो ।
त्यसपछि एकाएक सत्ता गठबन्धनको माहोल बिग्रिएको छ । बालुवाटारमा तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गर्दा इलाममा एमाले एक्लै अगाडि बढ्न खोजेको माधव नेपालको गुनासो थियो । ‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’, बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेपछि माधव नेपालले त्यसको प्रतिवाद गरेसँगै एकाएक माहोल बिग्रियो । बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह माधवले गरेपछि अध्यक्ष ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताएपछि माधव कड्किएका थिए । त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भनेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिए पनि माओवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने भएको छ । त्यसलगत्तै माधव नेपाल पक्षले पनि उम्मेदवार तय गरेको छ ।
इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको संयुक्त उम्मेदवार हुने रुची राखेका थिए । पार्टी विभाजनको बेला माधव नेपाललाई साथ दिएका खनालले पार्टीको तर्फबाट उम्मेदवार बनेर एमाले माओवादीको मतबाट चुनाव जित्ने उद्धेश्य राखेकोमा एमालेले त्यसलाई तुहाइदिएको थियो । फागुन २१ गते प्रधानमन्त्री प्रचण्ड एमालेसँगको नयाँ समीकरणमा सामेल हुँदा आफूलाई थाहा नै नदिएकोमा नेता नेपाल असन्तुष्ट रहेका बेला नेता खनाललाई उम्मेदवार बनाएर पार्टीभित्र आफ्नो एकल वर्चश्व कायम गर्न चाहन्थे । नेपाली कांग्रेससँगको समीकरण तोडेर एमालेसँगको समीकरण बनेपछि एमाले अध्यक्ष ओली र प्रचण्ड दुवैले नेता नेपाललाई मनाएर मन्त्रिमण्डल विस्तार गरेका थिए । सोही अनुसार नेता नेपाल नेतृत्वको पार्टी २ मन्त्रीसहित सरकारमासमेत गइसकेको छ । तर उसले तीन मन्त्री दाबी गर्दै आएको थियो । प्रदेश मुख्यमन्त्रीमा समेत दाबी गरेको एकीकृत समाजवादीले प्रदेश मुख्यमन्त्रीका सवालमा गठबन्धनभित्र खासै छलफल भैसकेको छैन । प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिँढ्याउने पक्षमा छन् । एकीकृत समाजवादी चिँढिएमा उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन ओली–प्रचण्ड सचेत रहेको स्रोतको दाबी छ । पिँधमा प्वाल परेको लोटा शैलीमा पार्टी सञ्चालन गरिरहेका माधव नेपालको शैलीको भने चर्को आलोचना भइरहेको छ ।
जेसुकै होस् दिन बदलिँदै जाँदा अहिले माओवादी र नेकपा एसका पनि उम्मेदवार खडा भएका छन् । त्यस्तै रास्वपाको पनि उम्मेदवार खडा भएको छ । अब सत्ता गठबन्धनबाटै चार जना उम्मेदवार बनेपछि नतिजा विपक्षी कांग्रेसलाई कागताली नपर्ला भन्न सकिन्न । जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरिसकेको छ । सम्भवतः गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार खडा गर्दैनन् होला । उनी फेरि उपप्रधानमन्त्री बन्न पाएपछि मस्त गगनमा उडिरहेका छन् । यसपालिको इलाम भिडन्त भने रोचक भिडन्तमा परिणत हुने देखिन्छ । अहिलेसम्म इलाम २ को उपनिर्वाचनमा लागि नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ ।