एमाले–राप्रपा गठबन्धनको गृहकार्य

समाचार

काठमाडौं । अहिले राजनीतिक वृत्तमा चर्चा गठबन्धनको बाहेक केही छैन । कसले कोसँग गठबन्धन गरेर चुनाव जित्न सकिन्छ भन्ने ध्यान बाहेक कुनै पनि नेतामा केही छैन । आगामी मंसिर ४ गते संघीय संसदसँगै प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी सरगर्मी बढ्दै जाँदा दलहरु आपसमा मिलेर नै शक्ति बढाउन खोजिरहेका छन् ।
आफूले हारे जगतले नै हार्छ भन्ने भ्रम पालेका नेताहरु आफूले जसरी पनि जित्नेगरी लागेका छन् । त्यसैले त शीर्ष नेताहरुको निर्वाचन क्षेत्रको चर्चाले चुनावी सरगर्मी बढ्न थालेको हो । अझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रको राष्ट्रिय स्तरमै चर्चा शुरु भएको हो ।
त्यसमाथि पछिल्ला हप्ता राप्रपाका नेताहरुले पालैपालो एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेपछि झापाको निर्वाचनबारे देशभर चर्चा र परिचर्चा शुरु भएको हो । झापा क्षेत्र नं ५ ओलीको निर्वाचन क्षेत्र हो । ०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए । त्यतिबेला ओलीलाई माओवादी र राजेन्द्र लिङ्देनको साथ र सहयोग थियो । गत स्थानीय निर्वाचनमा झापा ५ का वडाध्यक्षको मतपरिणाम हेर्दा राप्रपा अध्यक्ष लिङ्देनको सहयोग बिना ओली स्वयंले चुनाव जित्न सहज छैन । त्यसैले ओलीले कार्यकर्तालाई पाखा लगाएर भए पनि राप्रपासँग चुनावी तालमेल गर्न खोजेका छन् । ओलीको यो चाहना र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि झापा ३ मा निर्वाचन जित्न कुनै न कुनै पार्टीको वैशाखी आवश्यक रहेकाले दुवै नेताहरुको भेटघाट फलदायी हुने चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नं ५ का एमाले वडाध्यक्षहरूले पाएको मतपरिणाम हेर्दा एमाले ४१ हजार ६ सय १९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३, एकीकृत समाजवादी पार्टीको मत १९ सय ८८ पाएका छन् । यसले गर्दा
ओलीलाई कोही कसैको साथ आवश्यक देखिएको छ । यही मतपरिणाम जोड्दा गठबन्धनको पक्षमा ३४ हजार ७ सय ९८ मत देखिन्छ । यसमा राप्रपाको मत जोड्ने हो भने ओलीको विपक्षमा ४३ हजार १ सय ३१ मत हुन आउँछ । झापा ५ मा राप्रपा निर्णायक भएको हुँदा ओलीले राप्रपा बिना चुनाव जित्न गाह्रो छ । आफ्नो चुनाव क्षेत्रमा ओलीले २०७४ सालमा पाएको कुल मत ५७ हजार १३९ हो । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए ।
ओली र अधिकारीबीचको मतान्तर २८ हजार ८४२ देखिएको थियो । अर्थात् ओलीको चुनाव क्षेत्र झापा ५ मा एमाले र कांग्रेसबीचको मतान्तर २८ हजार बढी देखिएको थियो । केपी ओलीले पाएको ५७ हजार १३९ मतमा माओवादी र राप्रपाको पनि मत मिसिएको छ । आखिर झापा क्षेत्र नं ५ मा माओवादी र राप्रपाको मत कति थियो त ? यसतर्फ विश्लेषण गर्नका लागि समानुपातिकतर्फ ती दलले पाएको मतलाई आधार मान्नुपर्ने हुन्छ । झापा क्षेत्र नम्बर ५ मा राप्रपाले समानुपातिकतर्फ ९ हजार ५९ मत पाएको थियो । त्यसैगरी माओवादीले यस क्षेत्रमा समानुपातिकतर्फ ६ हजार ३५२ मत पाएको थियो । यो जोड्दा १५ हजार ४११ मत हुन जान्छ । ओलीले पाएको मतमा राप्रपा र माओवादीको १५ हजार मत घटाउने हो भने पनि उनको दलले एक्लै पाएको मत ४२ हजारभन्दा बढी हुन जान्छ । यसमा कांग्रेसका उम्मेदवारले पाएको २८ हजार मत घटाउने हो भने पनि ओलीले करिब १४ हजार मतले अग्रता कायम गरेका थिए ।
यसरी २०७४ सालमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा केपी ओलीले झापा क्षेत्र नम्बर ५ मा कांग्रेस, राप्रपा, माओवादी सबैलाई एकातिर राख्दा पनि १४ हजार बढी मतले लिड गरेको देखिन्छ । र, यही विगतको नतिजालाई हेरेर ओली आगामी चुनावमा आफूले एक्लै गठबन्धनलाई हराइदिनेमा ढुक्क थिए । तर स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनले एमालेलाई हराएपछि उनी निकै सशंकित भएका थिए । अहिले उनी राप्रपा लगायतका साना दलको साथ खोजिरहेका छन् ।
पटक–पटक राजसंस्थालाई छलकपट गरिरहने, राप्रपालाई गाली गरिरहने तर अहिले आफूले हार्नेजस्तो भएपछि लुसुक्क राप्रपाका नेताहरुलाई भेट्न बोलाएर चुनावी एकता गर्न खोज्ने ओलीको कुटनीति गजबको छ । स्रोतका अनुसार एमाले र राप्रपाबीच देशैभर एकता हुँदैछ । संघीय निर्वाचनमा राप्रपालाई १० देखि १५ सिटमा उम्मेदवारी उठ्न दिएर बाँकी ठाउँमा आफूले राप्रपाको साथ एमालेले खोजिरहेको छ ।