एमाले पनि समाजवादी मोर्चामा ?

Home Feature

काठमाडौँ । नेपाली कांग्रेस सहितको गठबन्धन भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि राख्न पहल थालिएको छ । नेकपा अध्यक्ष एवं अहिले मोर्चाको अध्यक्ष सम्हालिरहेका नेत्रविक्रम चन्दले एमालेलाई पनि सहभागी गराउन पहल थालेपछि भने अब एमाले पनि जोडिने देखिएको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू हतारिएर भन्दा अलि बढी भाउ बनेपछि जोडिऔँला भन्दै ‘अहिले तपाईहरु नै यसमा भएकाले एमाले आउनु आवश्यक नभएको र आवश्यक परे बृहत् वामपन्थी एकताकै पहल गरौँला’ भनेर पठाएका थिए । समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेपछि यो विषय आधिकारिक रुपमा प्रवेश गरेको छ । त्यसपछि ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भइसकेको छ । त्यतिमात्र हैन राजनीतिक दुस्मनहरु केपी ओली र माधव नेपालबीच पनि छलफल भएको छ । माधवले त पुरानो दुस्मनी बिर्सेर रातो कार्पेट नै बिछ्याएका छन् । आफू प्रधानमन्त्री हुने लोभमा माधवले सारा शक्ति लगाइरहेका छन् । अहिले ओलीलाई पनि उनले बारम्बार हेर्न थालेका छन् ।
केपी ओलीले अहिले प्रचण्डले जे भन्यो त्यही मानिरहेका छन् । यसलाई पनि सहजै ग्रहण गर्दै जाने उनको हाउभाउले देखाएको छ । एउटै मोर्चा बनेपछि संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक पारित गर्न सजिलो हुने माओवादी केन्द्रको निष्कर्ष छ । टीआरसी विधेयक पारित भए विप्लवलाई पनि आनन्द हुनेछ । तत्कालीन समयमा प्रचण्डले एमालेलाई छुटाएर समाजवादी मोर्चा बनाएका थिए । नेपाली कांग्रेसलाई वामपन्थी शक्ति देखाउने गरी उनले त्यतिबेला समाजवादी मोर्चा तयार गर्दा एमालेको आवश्यकता ठानेका थिएनन् ।
अहिले भने विप्लवलाई अघि सारेर मोर्चामा एमालेको सहभागिता खोजिरहेका छन् । २०७९ पुस २६ गते २७० उपस्थित सांसदमध्ये २६८ विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले २०७९ को चैत ६ गतेको विश्वासको मत पाउने बेलामा १६८ मतमात्र पाएका थिए । प्रचण्डले त्यतिबेला नै कांग्रेसलाई तर्साउने हतियारको रुपमा यो मोर्चा तयार गरेका थिए । त्यतिबेला प्रचण्डले संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसको दर्बिलो साथ पाइरहेका थिए । एमालेसँग भन्दा उनले कांग्रेससँगको सत्ता साझेदारी सहज महसुस गरेका थिए । त्यही कारण उनले एमालेसँगको समीकरण टुटाएर, पुरानै गठबन्धन ब्युँताएको बताउँदै आएका थिए । तिनै प्रचण्डले २०८० असार ४ गते समाजवादी मोर्चा बनाए । जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, र विप्लवको साथ लिएर बनाएको मोर्चामा एमालेलाई छुटाएका थिए । सत्ता गठबन्धनमै रहेका दल लिएर अलग्गै समाजवादी मोर्चा तयार गरेपछि राजनीतिक वृत्तमा टीका टिप्पणी शुरू भएको थियो । समाजवादी मोर्चाबारे बहस चलाउनेमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि थिए ।
अन्तिममा मोर्चा घोषणा हुँदा उनै बाहिर बसे । ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,’ उनले ट्विटमार्फत् भनेका थिए, ‘कथित समाजवादी
मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ प्रचण्डले अहिले भट्टराईको पार्टी पनि फुटाएर एक्लो बनाइदिएका छन् । पछिल्लो पटक ओलीलाई भेटेपछि समाजवादी मोर्चाको बैठक बालवाटारमा बसेको छ । पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । ओलीले यो मोर्चाको औचित्य नभएको भन्दै आए पनि सत्ता साझेदारीमा रहेसँगै उनको पार्टी पनि मोर्चामा समाहित हुने विश्लेषण भइरहेको छ । तर स्वार्थीहरुको झुन्डमा विप्लवले के खोजिरहेका छन् भन्ने अझै खुलेको छैन ।