विद्युतीय सवारीमा जोड दिने कि

समाचार

पेट्रोलियम पदार्थको भाउ आकासिए पछि मुलुकको हरेक बस्तुभाउको मूल्य अचाक्ली उकालो लागेको छ । हरेक सामग्रीको कारोबारमा ढुवानी व्यवस्था जोडिने भएकोले त्यसले प्रत्यक्षरुपमा आम नागरिकको भान्छालाई असर गरेको छ । सांसद रहेको र मन्त्री भैसकेका मानिसले त मेरो घरमा दुई थोक तरकारी पकाउने अवस्था छैन भनेर बोले पछि त्यसलाई कसरी हेर्ने ? यो अवस्थामा एउटा सामान्य मानिसले आफ्नो घरमा एक थोक तरकारी पनि खान नसकिने भयो भनेर भन्दा हुन्छ । मन्त्री भइसकेका व्यक्तिको त्यस्तो अभिव्यक्तिमाथि टिका टिप्पणी पनि भयो । यहाँ त्यो टिका टिप्पणीभन्दा महँगी
साँच्चै बढेको विषयको कुरो हो । ती मन्त्रीको समयमा पनि पेट्रोलको भाउ माथि उक्लिएकै थियो । महँगी बढेकै थियो । त्यतिबेला आफू पदमा थिए त्यसैले त्यतातिर उनको ध्यान गएन । अहिले पदमा छैनन्, त्यसैले सानासाना कुरामा ध्यान जान्छ । जनसाधारणको अवस्था त्यस्तै छ । दैनिकी गाह्रो भएको छ भने भान्छा उतार्न कठिन भएको छ । तर भान्छा मात्रै होइन जीवन नै कठिन भएको छ । यसबेला साझा यातायातले केही विद्युतीय गाडी सडकमा ल्याएर राम्रो गरेको छ । आजको युग भनेको विद्युतीय गाडीको युग हो भन्ने त्यसले देखाएको छ । र धेरैलाई त्यसले त्रिपुरेश्वर सूर्यविनायकको ट्रली बसको पनि सम्झना गराइरहेको होला ।विद्युतीय सवारी साधनको समय भएकोले सरकारले विद्युतीय बस, जीप, कार र मोटरसाइकलमा कर छुट गरेर सस्तो गरिदिएदेखि पेट्रोल डिजेलको खपतमा कमी आउने र त्यसले धेरै कुरालाई सहज बनाउने थियो । हेटौँडादेखि काठमाडौंसम्म रोपवे सेवा पनि थियो । त्यो नहटाएको भए अहिले हेटौडादेखि काठमाडौंसम्म खाद्यदेखि हरेक सर सामान ढुवानी गर्न कति सजिलो हुने थिया । तर त्यो कसैले पनि कहिले पनि सोचेनन् । सोचे त पेट्रोलीयम पदार्थको बिक्रीबाट आउनसक्ने कमिसन मात्रै सोचे ।
यस्तै कमिसनहरुले यो देशलाई ध्वस्त बनाएको छ । यदि कमिसन र भ्रष्ट आचरणमा कडाइ गरिदिएको भए आज यो देश धेरै अगाडि बढि सक्थ्यो । ८४ हजार मेगावाट बिजुली नभए पनि २० हजार मेगावाट मात्रै भए पनि त्यसले देशलाई समृद्धिको दिशामा लैजान्थ्यो । हरेक कुरा बिजुलीबाट चल्ने थियो । भात पकाउनेदेखि गाडी गुडाउनेसम्म बिजुलीकै प्रयोग हुने थियो । तर गफको मामिलामा अगाडि रहेका नेपालका नेताहरुले बिजुलीको सपना त सधैँ देखाए । तर बिजुली विकासमा कहिले पनि ध्यान दिएनन् । यदि त्यस्तो हुन्थ्यो भने आज बिजुली गाडीहरुको भरमार हुन्थ्यो र काठमाडौंको प्रदुषण पनि कम हुन्थ्यो । यसतर्फ किन कसैले ध्यान दिन सकिरहेको छैन । यतातिर ध्यान दिउँ न, सबैले ।