रहेनन् वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री राणा

समाचार

काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री श्रीष शमशेर जबराको निधन भएको छ । झण्डै एक वर्षदेखि मृत्युसँग पौंठेजारी खेल्दै आएका जबरा अन्ततः थाकेर विश्राम लिन पुगेका हुन् । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । उनले ७१ वर्षको उमेरमा शुक्रबार राति अन्तिम स्वास फेरे । उनको छाउनीस्थित सैनिक अस्पतालमा शुक्रबार राति १ बजेतिर उपचारको क्रममा निधन भएको हो । आफ्नो भनाइमा अडिक रहँदै आएका जबराले लामो समय पत्रकारिता गरे । सो क्रममा उनी गोरखापत्र संस्थानको प्रकाशन राइजिङ नेपालको सम्पादकसमेत भए ।
पछि उनी गोरखापत्र संस्थानकै अध्यक्षसमेत हुने अवसर पाए । त्यतिमात्र हैन संचारकर्मीका नाताले उनले संचार राज्यमन्त्रीको जिम्मेवारीसमेत बहन गरेका थिए । उनी नेपालको पछिल्लो राजनीतिक परिवर्तनका साक्षीसमेत रहेका थिए । दरबार निकट भएका कारण पनि उनले नेपालको सबैखाले राजनीतिमा दख्खल राख्थे । त्यसैले पनि उनका अन्तर्वार्ताहरु निरन्तर आइरहन्थे । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जबराकी आमा, श्रीमती र दुई जना छोरा रहेका छन् ।
जनभावना साप्ताहिक परिवार राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना र शोकाकुल परिवारजनमा हार्दिक समवेदन प्रकट गर्दछ ।